हिमाली क्षेत्रको निर्वाचनका लागि मौसम चुनौती

इतिहासमै पहिलोपटक हुँदै छ फागुनमा चुनाव

बुधबार, २१ माघ, २०८२
डिजिटल संस्करण
  • निर्वाचन जसरी पनि हुन्छ, कतै रोकियो भने अर्कोपटक गराइन्छ  : सुशीला कार्की, प्रधानमन्त्री

२१ फागुनमा हिमाली क्षेत्रमा निर्वाचन सम्पन्न गर्न मौसम मुख्य चुनौती बन्ने भएको छ । २१ फागुनमै हिमाली क्षेत्रमा मतदाताको बाक्लो उपस्थितिका साथ निर्वाचन हुन सक्नेमा आशंका व्यक्त भइरहेका वेला प्रधानमन्त्री सुशीला कार्की स्वयंले कतै निर्वाचन हुनै नसक्ने भए अर्कोपटक गर्ने बताएकी छिन् । गृह मन्त्रालयले पनि मौसम बिग्रिएमा हिमाली जिल्लाहरूमा निर्वाचन सम्पन्न गर्न कठिन हुने आकलन गरेको छ । यद्यपि, सरकारले एकैचरणमा निर्वाचन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ । 

‘सरकारले जसरी पनि निर्वाचन गराउँछ, कतै रोकियो भने फेरि अर्काेपटक गराइन्छ । थोरै ठाउँ भएकोमा त साधनको प्रयोग गरी मान्छेलाई ओसारेर पनि निर्वाचन गराइन्छ,’ राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कबाज समारोहमा मंगलबार नवलपरासी पूर्व पुगेकी प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीसँग भनिन्, ‘हुनै नसक्ने हो भने त्यही रूपमा विचार हुन्छ । निर्वाचनचाहिँ जसरी पनि हुन्छ ।’

मौसम सामान्य रहेमा हिमाली जिल्लाका पनि धेरै ठाउँमा निर्वाचन गर्न सम्भव रहेको विश्लेषण गृह मन्त्रालयको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले एकैचरणमा देशैभरि निर्वाचन सम्पन्न गर्ने गरी तयारी तीव्र रूपमा अघि बढेको बताउँछन् । ‘सडक सञ्जाल नभएका हिमाली क्षेत्रका मतदानस्थलमा हेलिकोप्टरमार्फत मतपेटिका, मतपत्रलगायत सामग्री पठाउने गरी सुरक्षा योजनाअनुसार तयारी भइरहेको छ,’ उनी भन्छन्, ‘निर्वाचन प्रहरी पनि सबै जिल्लामा भर्ना गरी तालिम सुरु भइसकेको छ ।’ 

अहिलेसम्म दुई चरणमा निर्वाचन गर्नेबारे कुनै छलफल नभएको निर्वाचन आयोग स्रोत बताउँछ । ‘मौसम बिग्रिएर मतदाता नै जान नसक्ने अवस्था आयो भने त्यही वेला निर्णय हुन्छ,’ आयोगका एक अधिकारी भन्छन्, ‘नत्र हिमाली जिल्लामा पनि २१ फागुनमै निर्वाचन गर्ने गरी तयारी अघि बढेको छ ।’ 

हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूले भने त्यसवेला मौसम सामान्य भएमा सहज हुने, तर हिमपात भएमा समस्या हुन सक्ने रिपोर्टिङ गरेका छन् । कुनै वर्ष फागुनको तेस्रो साता मौसम सामान्य हुने त कुनै वर्ष अत्यधिक चिसो हुने गरेको छ । यो वर्ष तुलनात्मक रूपमा नेपालको मौसम कम चिसो रहेकाले निर्वाचन गर्न सकिने विश्वास गृहका अधिकारीको छ । 

निर्वाचनको एक हप्ताअघि मौसमको अवस्था हेरेर मात्र यस विषयमा निर्णय गर्ने सरकारको रणनीति छ । विगत हेर्ने हो भने हालसम्म नेपालमा फागुनमा निर्वाचन भएको छैन । 

कानुनी रूपमा पनि एकैचरणमा निर्वाचन गर्नुपर्ने दबाबमा सरकार छ । जेन–जी आन्दोलनपछि अघिल्लो संसद् विघटन गरी ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेटसहित राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई गत २७ भदौमा प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सो बाध्यताका कारण पनि सरकार एकैचरणमा निर्वाचन गर्नुपर्ने बाध्यतामा छ । तर, हिमाली क्षेत्रमा न्यून मात्र मतदाता भएमा भने प्रश्न उठ्न सक्ने जोखिम पनि छ । त्यस्तो अवस्थामा निर्वाचन हुन नसक्ने तथा निर्वाचन बिथोलिएका मतदानस्थलमा पछि एकैदिन मतदान गर्नेबारे छलफल भइरहेको स्रोत बताउँछ ।

चुनावलक्षित मौसम पूर्वानुमान जारी गर्ने तयारी
निर्वाचन आयोगको आग्रहमा जल तथा मौसम विज्ञान विभागले चुनावलक्षित मौसम पूर्वानुमान जारी गर्ने तयारी गरेको छ । विभागकी निमित्त महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार चुनावताका २१ फागुन र त्यसआसपासको अवधिमा नेपालमा मौसमको अवस्थाबारे पूर्वानुमान माग गरेकाले सोहीअनुसार अध्ययन भइरहेको हो । 

‘हामीले विशेष अवस्थामा पनि एक साताअघि मात्र मौसमको विशेष पूर्वानुमान गर्ने गरेका छौँ । लामो अवधिको मौसमको आकलन गर्न सक्ने अवस्थामा हामी छैनौँ,’ श्रेष्ठले भनिन्, ‘तर, चुनावका लागि आयोगबाट पत्र आएकाले त्यसआसपासको अवधिमा कस्तो मौसम हुन सक्छ भनेर हेरिरहेका छौँ । एक–दुई दिनमा पूर्वानुमान गर्छाैँ ।’ 

मौसम पूर्वानुमान महाशाखा र जलवायु तथा हावापानी विश्लेषण महाशाखाका मौसमविद्हरूले चुनावताकाको सम्भावित मौसम, सामुद्रिक हावापानीको अवस्था र यसअघिका वर्षमा मौसम कस्तो थियो भनेर विश्लेषण गरिरहेका छन् । विभागले चुनावताकाको मौसमबारे आधिकारिक जानकारी नदिए पनि फागुनमा हिमाली क्षेत्रमा हिमपात र तराईमा हावाहुरीको सम्भावना भने नकार्न सकिँदैन । त्यो अवधिमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहने सम्भावना त रहन्छ नै, घाम चर्किन सुरु हुने भएकाले स्थानीय वायु सक्रिय भएर वर्षा पनि हुने गर्छ । १६ फागुनसम्म हिउँदे अवधि नै हो ।

गत वर्ष मध्य फागुनमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । १६ फागुनमा २४ घण्टामा कालीकोटको रासकोटमा ६६.२ मिलिमिटर पानी परेको थियो । त्यसअघि ०८० फागुनमा हिउँद सकिएपछि २० फागुनमा वर्षा भएको थियो भने हिमाली क्षेत्रमा हल्का हिमपात भएको थियो । १८ र १९ फागुन ०७९ मा ताप्लेजुङको पाथीभरालगायत क्षेत्रमा हिमपात भएको थियो ।

अहिलेको अवस्था हेर्दा मार्च पहिलो साता पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने सम्भावना छ । तर, कति शक्तिशाली हुन्छ र यसको प्रभाव कति रहन्छ भनेर अहिले अनुमान गर्न सकिने अवस्था भने छैन । यस वर्ष हिउँदका दुई महिना बितेपछि मात्र वर्षा तथा हिमपात भइरहेको छ । मंगलबार राति पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । अघिल्लो साता दुईपटक हिमपात भइसकेको छ । 

सुझावित समाचार