संवैधानिक अन्याेल चाँडै अन्त्य गर्नुपर्छ : उपमहासचिव भट्टराई

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संविधान र लोकतन्त्र जोगाउन संवैधानिक विवादको छिटो टुंगो लाग्नुपर्ने बताएका छन् । संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा लामो समयसम्म अदालतमा अड्किँदा देश झन् अन्योलतर्फ जाने खतरा रहेको उनको भनाइ छ ।

एमाले उपमहासचिव बनेपछि पहिलोपटक गृहजिल्ला ताप्लेजुङ आएका भट्टराईले शनिबार फुङलिङमा प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य रहेको बताए । उनले अदालतले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दाको छिटो फैसला गर्नुपर्नेमा जोड दिए ।

भट्टराईले प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको टुंगो अदालतबाटै लाग्नुपर्ने बताए । संसद् पुनर्स्थापना नभए मुलुक आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुने उनको भनाइ थियो ।

भदौ २३ र २४ गते भएका घटनाका विषयमा बोल्दै उनले सुरक्षाको पर्याप्त तयारी नहुँदा अप्रिय अवस्था सिर्जना भएको बताए । आन्दोलनलाई भड्काउने केही समूहका कारण आवश्यकताभन्दा बढी बल प्रयोग हुन पुगेको भन्दै उनले भदौ २४ को घटनालाई आन्दोलन नभई विध्वंसका रूपमा बुझ्नुपर्ने बताए ।

राज्यका निकायले समयमै सुरक्षा व्यवस्थापन गर्न सकेको भए स्थिति नियन्त्रणबाहिर नजाने उनको भनाइ छ । उनले यस्ता घटनाबाट पाठ सिकेर आगामी दिनमा राज्यसंयन्त्र जिम्मेवार बन्नुपर्ने बताए । पार्टीभित्र लोकतान्त्रिक अभ्यास स्वाभाविक हुने उल्लेख गर्दै भट्टराईले प्रतिस्पर्धामा हार–जित भए पनि पार्टी एकतामा असर पर्न नहुने बताए । जित्ने पक्षले हार्नेहरूको भावना समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

एमाले महाधिवेशनपछि पार्टी छाड्ने चर्चा निराधार भएको भन्दै भट्टराईले निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूची अब पार्टीको आधिकारिक निर्णय भइसकेको स्पष्ट पारे । ‘अब त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ,’ उनले भने । ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका पाँचैजना नेतामध्ये एकजना मात्र उम्मेदवार बन्ने र बाँकी चारजनाले पार्टीलाई जिताउने जिम्मेवारी लिने उनले बताए । ‘पहिले पार्टी, त्यसपछि चुनाव चिह्न र अन्त्यमा मात्र व्यक्ति हुन्छ,’ भट्टराईले भने ।  

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ का घटनामा बाह्य शक्तिको प्रभाव रहेको आरोप लगाए । उनले राष्ट्रिय संरचना जलाउने कार्य नेपाली जनताले स्वीकार नगर्ने बताए । थेबेले पनि पार्टीबाट सिफारिस भएका पाँचमध्ये एकजना उम्मेदवार बन्ने र बाँकी नेताहरूले चुनावी अभियानको नेतृत्व गर्ने बताए ।

एमाले ताप्लेजुङको शनिबार बसेको बैठकले उपमहासचिव भट्टराई, केन्द्रीय सदस्य क्षितिज थेबे, केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बाे, निवर्तमान केन्द्रीय सदस्य टंक आङबुहाङ र जिल्ला कमिटी उपसचिव भीमादेवी ओझालाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले जानकारी दिए ।

सुझावित समाचार