आठ महिनापछि पुनः कार्यकारी जिम्मेवारीमा फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव बिथोल्ने षड्यन्त्र नगर्न बरु चुनावी मैदानमा आएर प्रतिस्पर्धा गर्न ठुला दललाई चुनौती दिएका छन् । जिम्मेवारीमा फर्केलगत्तै केन्द्रीय कार्यालय घन्टीघरबाट समर्थकलाई सम्बोधन गर्दै लामिछानेले न्यायको लडाइँ जारी रहेको पनि बताएका छन् ।
२२ चैतमा पुर्पक्षका लागि थुनामा परेपछि उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका लामिछाने न्यायिक आदेशपछि शुक्रबार थुनामुक्त भएका थिए । त्यसको दुई दिनमै आइतबार उनी औपचारिक रूपमा पार्टी नेतृत्वमा फर्किएका हुन् । लामिछानेलाई नेता–कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा बाजागाजासहित स्वागत गरेका थिए ।
‘म पार्टीको जिम्मेवारीमा फर्केको छु । मैले न्याय पाउन बाँकी छ । न्यायमा लडिरहनेछु । मैले आफ्नो न्यायका लागि त लड्नु छँदै छ, तर त्योभन्दा धेरै सिंगो देशका लागि भएको अन्यायका लागि लड्नु महत्वपूर्ण छ । मलाई यहाँहरूको साथको आवश्यकता छ,’ उनले भने ।
लामिछानेले नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने भावनालाई आफूले बुझेको बताए । ‘पार्टीमा समावेश भएर हाम्रो अभियानलाई महाअभियान बनाउन देश–विदेशमा भएका नेपाली एकजुट हुनुहुँदै छ । विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने भावना पनि मैले बुझेको छु,’ उनले भने, ‘मैले कारागारबाट र आफ्ना राजनीतिक प्रतिवेदनबाट पनि भनेको थिएँ– परिवर्तनको यात्रामा एउटा पुस्तालाई न्याय दिने र इतिहास लेखिने कुरामा रास्वपा सँगै छ । विभिन्न भेटघाट निरन्तर चलिरहेका छन् । परिवर्तन संस्थागत बनोस्, स्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने पार्टी बनोस् भन्ने हाम्रो चाहना हो ।’
आफूलाई भए–भरका राज्य संयन्त्र एकजुट भएर एक्ल्याउन खोजेको भन्दै लामिछानेले जनताको तागतका अगाडि कसैको केही नचल्ने र मुलुकको संकटमा जिम्मेवारीपूर्वक अघि बढ्ने बताए । आजसम्म सत्य नहारेको भन्दै लामिछानेले जिल्लैपिच्छे मुद्दा लगाउँदा, कारागारमा जाँदा, मध्यरातमा गिरफ्तार गर्दा, कुनै धम्की आउँदा पनि सत्य नहार्ने विश्वास आफूले नछाडेको बताए । ‘मसँग एक मुठ्ठी सासबाहेक केही पनि बाँकी छैन । तर, मलाई के थाहा छ भने सत्यको साथ र सत्यको साहस भयो भने बाँकी केही चिज चाहिँदा पनि चाहिँदैन,’ उनले भने ।
लामिछानेले प्रतिशोधविरुद्धको लडाइँमा साथ दिएका आमजनतालाई धन्यवाद दिए । ‘विशेषगरी हस्ताक्षर अभियानमा अन्याय परेको कुरालाई अनुमोदन गरी ४० लाख जनताले एकै स्वरमा तपाईं एक्लो हुनुहुन्न भनेर मलाई भन्नुभयो, म त्यसका लागि ऋणी रहनेछु,’ उनले भने ।
जिम्मेवारीमा फर्केसँगै लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेकोमा नेताहरूलाई धन्यवाद दिएका थिए । ‘हामी अहिले उत्साहित हुन सक्छौँ, तर उत्सव मनाउने वेला होइन । अझै धेरै संघर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ,’ उनले भने । लामिछानेले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सबैलाई संयमित र अनुशासित हुन अनुरोध गरेका थिए ।
प्रवक्ता मनीष झाका अनुसार बैठकमा लामिछानेले आफूलाई नक्खु कारागारमा भेट्न आएका कार्यवाहक सभापति डिपी अर्यालले राखेको ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाइ पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ । तपाईं बाहिर जानुस् त्यस्तो गर्न पाए म तयार छु’ भनाइ पनि सुनाएका थिए ।
सभापति लामिछानेले रास्वपा छाडेका सुमना श्रेष्ठ र सन्तोष परियारलगायतलाई गुन लगाएको भन्दै शुभकामना दिए । ‘यात्राका क्रममा हामीले सबै साथीभाइलाई समेट्न सकेनौँ होला । तर, उहाँहरूले दिनुभएको योगदानको म सधैँ स्मरण गरिरहनेछु । म धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘हामीलाई सिकाएर जानुभएको छ, धेरै उपलब्धिमा साथ दिनुभएको छ । उहाँहरूले दिनुभएको योगदान हाम्रो मनमा छ । हामीले धेरै गर्न सकेनौँ, उहाँहरूले धेरै गुन लगाएर जानुभएको छ ।’
संसद् पुनर्स्थापनाको षड्यन्त्र नगर्न चेतावनी, धेरै आँखा नचम्काउनुहोला
सभापति लामिछानेले संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान चलाइरहेका कांग्रेस–एमालेलाई षड्यन्त्र नगर्न चेतावनी दिए । ‘केही मानिसहरू संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थालेका छन् रे । तपाईंहरूले कुन संसद् ब्युँताउन खोज्नुभएको ? दुईतिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको ?’ उनले प्रश्न उठाए, ‘जनताका मुद्दा बोल्दाबोल्दै माइक काट्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको ? भ्रष्टाचारका काण्डमा छानबिन गर भनेर आवाज उठाउँदा छानबिन होइन संख्याको बलमा सामसुम पार्न खोज्ने संसद् ब्युँताउन खोज्नुभएको ? ’
लामिछानेले कांग्रेस–एमालेको दुईतिहाइले युवाहरूको रगतमा खेलेको नबिर्सिने पनि बताए । ‘चुनावसम्म मात्र होइन, त्यसपछि पनि बिर्सन नहुने एउटा कुरा बताउँछु– यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्, यो हामी बिर्सन सक्दैनौँ । यिनीहरूले ठुला कुरा गर्नु ठिक हुँदैन । म कटाक्षमा गएको छैन, तर खबरदारीको हिसाबले यो कुरा गर्नैपर्ने हुन्छ,’ लामिछानेले भने, ‘संयन्त्र, सरकार, मन्त्री, प्रधानमन्त्री को–को थिए ? उच्चस्तरीय संयन्त्र बनाएर त्यसलाई सघाउने को–को थिए ? तिनीहरू सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ । खबरदार । षड्यन्त्रको शृंखला अब बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’
निर्वाचनको विकल्प छैन
सभापति लामिछानेले मुलुक कमजोर भएको वेलामा निर्वाचनमा जानुको विकल्प नभएको बताए । सँगै जेन–जी पुस्ताले गरेको अपेक्षा पूरा गर्नुको विकल्प नभएको उनको भनाइ थियो । ‘हामीले सरकारलाई भनेका छौँ, जेन–जीको माग पूरा गर्ने, सुशासन कायम गर्ने र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नुपर्दैन, रास्वपा खडा भएको छ । यसमा हाम्रो कुनै स्वार्थ छैन । जुन उद्देश्यका लागि जेन–जी भाइबहिनीले रगत बगाए तिनीहरूको सपना पूरा गर्नैपर्छ,’ उनले भने ।
लामिछानेले एमालेको नामै नलिई उसले निर्वाचन बिथोल्ने प्रयास गरेको आरोप लगाए । साथै उनले चुनावमा भाग लिन पनि चुनौती दिए । ‘भागेका केही शक्ति निर्वाचन बिथोल्नका लागि आफैँ घटना घटाउन लागिरहेका छन् । चारतिर घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने अनि वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर मुन्टो निकाल्न खोज्दै छन्,’ उनले भने, ‘मुन्टो निकाल्न पर्दैन, चुनावको वातावरण बिगार्न पर्दैन । पछाडि हट्ने काम नगर्नुहोस्, बहादुरीका साथ अगाडि आउनहोस् । पार्टीको चुनाव जितेजस्तै आमचुनाव पनि जिते भैगो । तर, चुनाव बिथोल्न पाइँदैन । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन,’ उनले भने ।
लामिछानेले प्रवासमा रहेका नेपाली नागरिकले मताधिकार पाउनुपर्ने पनि बताए । ‘फेरि पनि प्रवासमा रहेका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । हामी तपाईंको मतदाधिकारका लागि हिजो पनि लड्यौँ । आज पनि लडेका छौँ । तपाईंको नोट चल्ने, भोट नचल्ने भन्ने हुँदैन । तपाईंको भोट चलाउनका निमित्त हामी निरन्तर लागिपरेका छौँ । विदेशमा रहेका सबैले आफ्नो देशको नेतृत्व छान्न पाउनुपर्छ,’ उनले भने ।
संसद् पुनर्स्थापना पक्षधरलाई प्रश्न र खबरदारी– केही मानिसहरू संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थालेका छन् रे । तपाईंहरूले कुन संसद् ब्युँताउन खोज्नुभएको ? दुईतिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको ? जनताका मुद्दा बोल्दाबोल्दै माइक काट्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको ?
भ्रष्टाचारका काण्डमा छानबिन गर भनेर आवाज उठाउँदा छानबिन होइन, संख्याको बलमा सामसुम पार्न खोज्ने संसद् ब्युँताउन खोज्नुभएको ? चुनावसम्म मात्र होइन, त्यसपछि पनि बिर्सन नहुने एउटा कुरा बताउँछु– यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्, यो हामी बिर्सन सक्दैनौँ । तिनीहरू सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ । खबरदार ! षड्यन्त्रको शृंखला अब बन्द गर्नुहोला, धेरै आँखा नचम्काउनुहोला ।
चुनाव बिथोल्न होइन, प्रतिस्पर्धा गर्न एमालेलाई चुनौती– भागेका केही शक्ति निर्वाचन बिथोल्नका लागि आफैँ घटना घटाउन लागिरहेका छन् । चारतिर घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने अनि वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर मुन्टो निकाल्न खोज्दै छन् । मुन्टो निकाल्न पर्दैन, चुनावको वातावरण बिगार्न पर्दैन । पछाडि हट्ने काम नगर्नुहोस्, बहादुरीका साथ अगाडि आउनहोस् । पार्टीको चुनाव जितेजस्तै आमचुनाव पनि जिते भैगो । तर, चुनाव बिथोल्न पाइँदैन । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन ।