निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्छ : अध्यक्ष साम्पाङ

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् । गृहजिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जानकारी दिए । 

धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष साम्पाङले भिजन (दृष्टिकोण) नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप लगाए । 'अहिलेका नेताहरूसँगै कुनै भिजन छैन । विदेशीको ऋणबाट देश विकास हुँदैन,' उनले भने, 'देश विकास गर्न भिजन चाहिन्छ । नेपालका अहिलेका नेताहरूसँग कसरी कमिसन खान पाइन्छ भन्ने सोच मात्र छ । भ्रष्ट नेताहरूबाट विकास सम्भव छैन ।'

देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन नसक्नेसमेत अध्यक्ष साम्पाङले दाबी गरे । 'नेताहरुले पटक–पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट मागेको देखिन्छ । तपाई-हाम्रो भोटले जितेका नेताहरूले दश वर्षसम्म एउटै योजनामा बजेट हालेर कमिसन खाइरहेका छन्,' उनले भने, 'अब नुन र सुन के हो भनेर चिन्ने दिन आएको छ। आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्छु ।'

पार्टी अध्यक्ष साम्पाङले आफ्नो अमूल्य भोट रक्सी, मासु र आश्वासनमा खेर नफाल्न पनि देशवासीलाई आग्रह गरेका छन् । 'गलत नियत भएका व्यक्तिहरूले तपाईंको अमूल्य भोटको आधारमा देश बर्बाद पारिरहेका छन् । कसैको लहडमा लागेर आफ्नो अमूल्य भोट खेर नफाल्नुहोला !' उनले भो, 'जिन्दावाद र मुर्दावादले देश बन्दैन । गफ गरेर पनि देश बन्दैन । देश विकास गर्न श्रमदान गर्नुपर्छ । त्यो भिजन श्रम संस्कृति पार्टीसँग मात्र छ । त्यसैले सबै एकताबद्ध हुन जरुरी छ।'

वर्तमान अवस्थाका नेपाली नेताहरू कोही पनि स्वाधीन नरहेकोसमेत अध्यक्ष साम्पाङले आरोप लगाए । 'अहिलेका ठुला राजनीतिक दलका नेताहरू नेपालको प्रधानमन्त्री बन्न विदेशीको आशिर्वाद लिने गर्छन्। विदेशीको आशिर्वादमा बनेको सरकार कसरी नेपालको सरकार हुन सक्छ ?' उनले भने, 'नेताहरू स्वाधीनताको गफ मात्रै गर्छन्। अब हामीहरू नेताको गफमा भुल्न हुँदैन। हरेक नेपाली आत्मनिर्भर हुनुपर्छ। अनि मात्र देशको विकास सम्भव छ ।'

सम्बोधनकै क्रममा अध्यक्ष साम्पाङले देशको शान्तिसुरक्षाको अवस्थासमेत ठिक नरहेको जानकारी दिए । आफ्नै नेतृत्वमा पार्टी दर्ता गरेपछि पहिलोपटक गृहजिल्ला खोटाङ आएका अध्यक्ष साम्पाङले नेपालका सबै दलका नेताहरू भ्रष्ट रहेको दाबी गरे। 

पार्टीका केन्द्रीय पदाधिकारीहरूको समेत सहभागिता रहेको आमसभामा सहभागी जिल्लावासीलाई अध्यक्ष साम्पाङले माटो समाएर शपथग्रहण गराएका छन् । तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्वउपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष साम्पाङले टीका लगाएर स्वागत गरे ।  

दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको आमसभामा सहभागी हुनुअघि श्रम संस्कृति पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरूले मोटरसाइकल, गाडी तथा पैदल यात्रासहितको र्यालीले दिक्तेल बजार परिक्रमा गरेको थियो। सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गरेको पार्टीले यसअघि तदर्थ समिति रहेको जिल्ला कार्यसमितिलाई आमसभाकै बिचमा पूर्णता दिएको घोषणा गरेको छ। श्रम संस्कृति पार्टीले खोटाङमा प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा सामाजिक अभियन्ता उमा चाम्लिङ, पहिचानवादी नेतृ संगीता किराँती र राजेन्द्र राई, सचिवमा धनीराम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई रहेका छन्।

सुझावित समाचार