- अमेरिकामा ट्रम्प सत्तामा आएदेखि आप्रवासीविरोधी नीति समकालीन राजनीतिको मूलधार मात्र नभई शासकीय सिद्धान्त बनेको छ । तर, यो भावना अमेरिकामा मात्र सीमित छैन ।
‘म उनीहरूलाई हाम्रो देशमा चाहन्न । तपाईंसँग इमानदार भएर भन्दै छु । कसले के सोच्छ मलाई मतलब छैन । तर, म उनीहरूलाई हाम्रो देशमा आएको हेर्न चाहन्न । उनीहरूको देश गतिलो देश होइन,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि सोमाली आप्रवासीबारे भनेका कुरा हुन् यी । सोमाली समुदायलक्षित आप्रवासी कारबाही सुरु भएको पहिलो दिन ट्रम्पले उक्त अभिव्यक्ति दिएका थिए ।
सोमाली आप्रवासीले अमेरिकी राज्य मिनेसोटालाई ‘नरक’मा बदलेको उनको आरोप थियो । जबकि, राज्यमा जनसंख्याको लगभग दुई प्रतिशत सोमाली मूलका छन् । त्यसवेला ट्रम्पले मिनेसोटाकी सोमाली मूलकी डेमोक्य्राटिक प्रतिनिधि (तल्लो सदनकी सदस्य) इल्हान ओमरमाथि क्रोधित हुँदै भने, ‘उनी फोहोर हुन् । उनका साथी फोहोर हुन् । यी काम गर्ने मानिस हुँदै होइनन् । यी मानिसले यो ठाउँलाई उत्कृष्ट बनाऔँ भन्दैनन् ।’
अवश्य पनि यी कुनै पनि नयाँ वा अचम्मलाग्दा विषय होइनन् । आप्रवासी र शरणार्थीप्रतिको घृणा ट्रम्पको नीतिको केन्द्रीय विषय रहदैं आएको छ । ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् मागा समर्थक रिपब्लिकन नेताले न्युयोर्क सहरको मेयरमा निर्वाचित जोहरान ममदानीको अमेरिकी नागरिकता रद्दका लागि गरेको गम्भीर प्रयासलाई कसले पो बिर्सेको छ र ? ममदानीले ह्वाइट हाउसमा ट्रम्पसँग सौहार्दपूर्ण भेटघाट गरेपछि यसमा केही कमी आएको छ ।
अमेरिकामा ट्रम्प सत्तामा आएदेखि आप्रवासीविरोधी नीति अमेरिकाको समकालीन राजनीतिको मूलधार मात्र नभई शासकीय सिद्धान्त बनेको छ । तर, आप्रवासीविरोधी भावना अमेरिकामा मात्र सीमित छैन । यस्तै बयानबाजी र कार्यनीति अन्य देशमा पनि लोकप्रिय हुँदै गइरहेका छन् । डेनमार्क त्यस्तै एउटा उदाहरण हो ।
डेनमार्कको छवि लामो समय सर्वसुलभ स्वास्थ्य सेवा, अत्यधिक बस्न योग्य सहर र मानवीय तथा व्यवस्थित समाजको रूपमा रहेको छ । तर, त्यही देशले पछिल्लो समय आप्रवासन तथा शरण सम्बन्धमा युरोपको सबैभन्दा प्रतिबन्धित नीति लिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा ‘इस्लामोफोबिक’ बयानबाजी सतहमा देखियो । सन् २०२६ को आम–चुनावका लागि सत्तारुढ सोसल डेमोक्य्राटहरूले आफ्नो अभियानको केन्द्रमा आप्रवासनविरोधी नीतिलाई अंगालेको छ ।
उता, बेलायतमा कथित प्रगतिशील लेबर सरकार डेनिस उदाहरण पछ्याउन उत्सुक देखिन्छ । प्रधानमन्त्री केयर स्टार्मर सीमा नियम कठोर पार्न र बेलायतको आप्रवासन नीतिको घिनलाग्दो अध्याय बन्द गर्न उत्सुक छन् । आप्रवासनको संख्या तीव्र नघटाइए बेलायत अपरिचितहरूको टापु बन्ने जोखिममा रहेको उनले चेतावनी दिएका छन् । सरकारको सुधारले आप्रवासन घट्नेमा उनी ढुक्क छन् । उल्लेखनीय कुरा, गृहमन्त्री सबाना महमुदले हालै डेनमार्कको आप्रवासन र शरण व्यवस्थाको अध्ययन गर्न अधिकारीहरू पठाएकी छिन् ।
पश्चिमी संसारबाहिर पनि जेनोफोबिया बढ्दै गएको छ । यो लिबियादेखि दक्षिण अफ्रिकासम्मको नीति र अभ्यासको एक प्रमुख हिस्सा बनेको छ, जसले आप्रवासीविरोधी राजनीति अब शासनको विश्वव्यापी औजार हो भन्ने सम्झना गराउँछ ।
लिबियामा युरोप जाने आप्रवासीले भयानक स्तरको हिंसा र दुव्र्यवहारको सामना गर्छन् । एम्नेस्टी इन्टरनेसनलका अनुसार युरोप जाने अफ्रिकाको तल्लो भेगबाट लिबिया आइपुगेका आप्रवासी हरूलाई नजरबन्द, यातना, बलात्कार, गैरकानुनी हत्या र जबर्जस्ती श्रमको सिकार बनाइन्छ । यी दुव्र्यवहार युरोपेली सरकारले बनाएको प्रणालीभित्र भइरहेको छ, जसले अफ्रिकी आप्रवासीलाई भू–मध्यसागर पार गर्न रोक्न लिबियाली तटरक्षक एकाइलाई प्रशिक्षण र उपकरण प्रदान गरेको छ । भू–मध्यसागर पार गर्न सक्ने आप्रवासीको प्रवाहलाई लिबियामै रोक्न उत्सुक युरोपेली संघका देशहरूले यसको परिणाम थाहा छ । तर पनि तिनले लिबियालाई सीमा नियन्त्रण आउटसोर्स गरेका छन्, यस क्रममा मानवताविरुद्धको अपराध भएको हुन सक्ने राष्ट्र संघले जनाएको छ ।
अझ ट्युनिसियामा अश्वेत अफ्रिकी आप्रवासीले वर्षौंदेखि छिटपुट हिंसाको सामना गर्दै आएका छन् । सन् २०२३ को सुरुमा राष्ट्रपति कैस साइदले अनियमित बसाइँसराइमार्फत ट्युनिसियाको जनसांख्यिकीय संरचना परिवर्तन गर्ने आपराधिक योजना भइरहेको दाबी गरे । उनको टिप्पणीपछि देशभर अश्वेत आप्रवासी, विद्यार्थी र शरणार्थीमाथि भिडबाट हुने आक्रमणमा वृद्धि भयो । त्यसबाहेक आप्रवासीको गिरफ्तारीमा समेत वृद्धि भएको थियो । ट्युनिसियाको प्रहरीले अश्वेत अफ्रिकी विदेशीलाई निसाना बनाइरहेको देखिन्थ्यो । पक्राउ पर्नेमा कागजातविहीन आप्रवासी, दर्ता भएका शरणार्थीका साथै वैध प्रमाणपत्र भएका आप्रवासी समावेश थिए ।
त्यस्तैगरी, अन्य अफ्रिकी देशबाट आएका आप्रवासीलाई घृणा रंगभेदपछिको दक्षिण अफ्रिकाको जीवन र राजनीतिको निरन्तर विशेषता बनेको छ । विटवाटस्र्रान्ड विश्वविद्यालयद्वारा आयोजित विदेशीप्रतिको घृणा र हिंसा ट्र्याक गर्ने परियोजना जेनोवाचकाअनुसार सन् १९९४ देखि १२९५ वटा घटना रेकर्ड गरिएका छन् । त्यसमा विस्थापन, आप्रवासीको स्वामित्वमा रहेका व्यवसायको लुटपाट र हत्या समावेश छन् । सन् २००८ मा ७२ जनाको मृत्यु र १५० वटा यस्ता घटना भएका थिए । यो सन् २०२५ मा १६ जनाको मृत्यु हुँदा विदेशीप्रतिको घृणाका घटनाको समग्र संख्या फेरि २००८ कै स्तरमा पुग्यो ।
कोभिड–१९ महामारीको समयमा विश्वभरका सरकारले व्यवस्थित रूपमा आप्रवासी समुदायलाई बेवास्ता गर्यो । कैयौं राहत कार्यक्रमबाट बाहिरै राखिए । जिम्बावेमा त्यतिवेला दक्षिण अफ्रिकाको एक हजार ८४५ को तुलनामा केवल ११ पुष्टि भएका कोभिड –१९ केस भए पनि संक्रमित वा कागजात नभएका व्यक्तिलाई रोक्न राज्यले जिम्बावेसँगको सिमानामा ४० किलोमिटरको बार निर्माण गर्यो । राजनीतिज्ञहरूले विदेशी स्वामित्वमा रहेका व्यवसायले स्वास्थ्य जोखिम निम्त्याउनेबारे विद्यमान हल्लालाई बलियो बनाए । स्पाजा पसल खुला रहन सक्ने घोषणा गर्दा तत्कालीन साना व्यवसाय विकासमन्त्री खुम्बुड्जो न्त्साभेनीले दक्षिण अफ्रिकी स्वामित्वमा रहेका व्यवस्थित र सञ्चालित पसल मात्र खुला रहने घोषणा गरे ।
दक्षिण अफ्रिकामा पनि स्पष्ट रूपमा आप्रवासीविरोधी अभियान सक्रिय भएको छ । अफ्रिकी आप्रवासीको सामूहिक निर्वासनको वकालत गर्ने नागरिक समाज समूहको गठबन्धन, पुट साउथ अफ्रिकन्स फस्र्ट आन्दोलनले सेप्टेम्बर २३, २०२० मा नाइजेरियाली र जिम्बावेका दूतावासमा मार्च आयोजना गर्यो, जसले दक्षिण अफ्रिकाको लागुपदार्थ, मानव बेचबिखन र बाल अपहरणजस्ता सामाजिक विकृतिमा विदेशीहरूले योगदान पुर्याएको दाबी गर्यो ।
पूर्वराष्ट्रपति ज्याकोब जुमाको जेल सजायपछि सन् २०२१ मा यस आन्दोलनबाट सतर्कता समूह अप्रेसन डुडुला देखा पर्यो । यद्यपि, यसले गौतेङ समुदायमा अपराध र लागुपदार्थको प्रयोगलाई सम्बोधन गर्ने दाबी गर्छ । यो समूह सामूहिक निर्वासनका लागि आह्वान गर्ने, आप्रवासीलाई अस्पताल र क्लिनिकमा पहुँच गर्नबाट रोक्ने र विदेशी स्वामित्वमा रहेका व्यवसायमा छापा मार्ने वा बन्द गर्ने कामका लागि बढी परिचित छ ।
कोलम्बिया, पेरु, चिली र इक्वेडरजस्ता देशमा भेनेजुयलाका आप्रवासीको आगमनलाई रोक्न बढ्दो प्रतिबन्धदेखि लिएर भारतीय अधिकारीले जातीय बंगाली मुस्लिमलाई उचित प्रक्रिया र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डविना जबर्जस्ती बंगलादेश निष्कासन गर्ने, उनीहरूलाई कागजात नभएको दाबी गरिन्छ । जेनोफोबिया कुनै क्षेत्र वा विचारधारामा सीमित छैन, यो अब विश्वभरका देशहरूको राजनीतिक जीवनमा जेलिएको छ ।
हामी किन विदेशीप्रति घृणा फैलाउने कथा र नीतिमा झुक्न किन उत्सुक छौँ ? किनभने तिनीहरू सुविधाजनक छन् (आंशिक रूपमा) । यस तर्कमा आप्रवासी एक हिसाबले बलिको बोका बन्छ ।धारणा वास्तविकता बन्छ । हाम्रो सीमाभन्दा बाहिरका मानिसलाई दोष दिएर हामी खतरा अन्यत्र रहेको कल्पना गर्छौं, जसले हामीलाई आश्वस्त पार्छ कि हामी समस्या होइनौँ । त्रासदी यो हो कि हाम्रो आफ्नै प्रणालीमा रहेका काम नलाग्ने समस्या र भ्रष्टाचार अझै पनि अप्रभावित छन् । र, कथित बाहिरी व्यक्तिलाई बलिको बोका बनाउनाले हाम्रो समाज निष्पक्ष, सुरक्षित वा बढी मानवीय हुन सक्दैन । यसले केवल संकटको सामना गर्न नचाहने नेताहरूको लागि समय दिन्छ ।
लेखक अफ्रिकास्थित प्रिटोरिया विश्वविद्यालयका एसियाली अध्ययनका अनुसन्धानकर्ता हुन्
अलजजिराबाट