नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वगृहमन्त्री डा. भीमबहादुर रावलले अन्तरिम सरकारको काम चुनाव गर्ने भएकाले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण निर्माणको तयारीमा लाग्नुपर्ने बताएका छन्। बर्दियाको गुलरियामा आयोजित पार्टीको एकता सन्देश कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘कुनै पनि व्यक्ति मतदान गर्न जाँदा हरेक हिसाब सुनिश्चित हुने वातावरण बन्नुपर्छ। हजारौँ गोलीगट्ठा अहिले पनि सरकारको नियन्त्रणबाहिरै छन्। सयौँ कैदीबन्दी बाहिरै छन्। गृहमन्त्री के भन्नुहुन्छ? भागेर गएका कैदीबन्दीलाई दलहरूले प्रयोग गर्दैनौँ भनेर लेखेरै देऊ रे। आफू गृहमन्त्री हुने अनि राजनीतिक दलले लेखेरै दिनुपर्यो रे। यस्तो कुनै पनि गृहमन्त्रीले भन्न मिल्दैन।’
उनले अन्तरिम सरकारका प्रधानमन्त्रीसँग ती बन्दुकहरू तुरुन्त नियन्त्रणमा लिन र फरार कैदीबन्दी नियन्त्रणमा लिन माग गरेका छन्।