भाइको मलामी गएका दाजु सनी महाकालीमा बेपत्ता

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

भाइ (नातामा)को मलामी गएका कञ्चनपुरका एक युवक महाकाली नदीमा बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३, तिलकपुरका २८ वर्षीया सनी भनिने गगने दमाईं बेपत्ता भएका हुन् । 

भाइ नाता पर्ने अभिषेक दमाईंको अन्त्येष्टि(मलामी) गएका दमाईं नुहाउने क्रममा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। 

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले मलामीबाट घर फर्किँदा नुहाउने क्रममा सनी बेपत्ता भएको बताए । सनी भीनपा–११, भुजेलाघाट क्षेत्रबाट बेपत्ता भएका हुन् । सनीको खोजी जारी रहेको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सुरक्षा निकायदेखि स्थानीय खोजीमा खटिएका छन् । यसअघि ९ मंसिर ०८२ मा नुहाउने क्रममा महाकालीमै बेपत्ता भएका अर्का युवकको शव फेला परेको छ । भीनपा– १२, ऐरी क्षेत्रबाट बेपत्ता भएका ऐरी ओदालीकै २३ वर्षीया रोशन दमाईंको शव डुबेको स्थानदेखि दक्षिण दोधाराचाँदनी नपा–४, मालिका सामुदायिक वन क्षेत्र फेला परेको थियो। 

हिउँदमै महाकालीमा डुबेर १२ दिनको अवधिमा दुईजनाको ज्यान गएको छ । नदीमा नुहाउँदा सचेत हुन भीमदत्त नगरपालिकाले नागरिकमा आह्वान गरेको छ। 
 

सुझावित समाचार