सम्बन्ध सुधार्न सिरियामाथि इजरायलको कठिन सर्त

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण
  • इजरायल र सिरियाबिच ‘अनाक्रमण’ सम्झौताका लागि अमेरिकाले जोड दिइरहेको छ, तर नेतन्याहुले भने सम्झौता गर्न विभिन्न सर्त राखिरहेका छन्

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सिरियासँग सम्झौता हुन सक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र इजरायल दुवैले ‘दिगो र समृद्ध सम्बन्ध’ राखेको हेर्न चाहेको बताएको एक दिनपछि मंगलबार नेतन्याहुको यस्तो टिप्पणी आएको हो । तथापि यसका लागि दमास्कसदेखि जबल अल–शेखसम्म ठुलो क्षेत्रमा एक नि:शस्त्रीकृत बफर क्षेत्र स्थापना गर्नुपर्ने उनले सर्त राखेका छन् ।

इजरायल र सिरियाबिच भित्रभित्रै महिनौदेखि सुरक्षा सम्झौतालाई लिएर वार्ता चलिरहेको छ । लामो समय जारी वार्ता पछिल्लो साता पूरै रोकिएको छ । सिरियाले औपचारिक रूपमा इजरायली राज्यलाई मान्यता दिएको छैन । उता इजरायलले पनि गत वर्षदेखि केही सिरियाली भूभागमा अवैध नियन्त्रण विस्तार गरेको छ । इजरायलले यसअघि सन् १९६७ को युद्धपछि सिरियाको गोलान हाइट्स कब्जामा लिएको थियो । पछि उसले त्यस भागलाई अवैध रूपमा आफ्नो देशमै गाभ्यो । त्यस कदमलाई संयुक्त राज्य अमेरिकाले मान्यता दिएको भए पनि बाँकी अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेका छन् । 

त्यसपछि, डिसेम्बर २०२४ मा पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदको पतनपछि फेरि थप सिरियाली भूमिमा कब्जा जमाएको छ । यस कदमबाट इजरायलले सन् १९७४ को सम्झौता उल्लंघन गर्दै ‘जबल अल–शेख’को सम्पूर्ण क्षेत्रहरूसहित भागमा कब्जा गर्यो । त्यो उच्च पहाडी क्षेत्र भएकाले त्यहाँबाट उत्तरी इजरायल र दक्षिणी सिरियामाथि नजर राख्न सकिन्छ । दमास्कसको नयाँ सरकारले युद्ध नचाहेको बताउँदा–बताउँदै पनि इजरायलले गत वर्षदेखि सिरियाभित्र कैयौँपटक आक्रमण गरिसक्यो । पछिल्लोपटक गत शुक्रबार दमास्कसको दक्षिण–पश्चिम रहेको बेइट जिन सहरमा इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको थियो ।

‘सिरियाले दमास्कसदेखि बफर क्षेत्रसम्म एक गैरसैनिक क्षेत्र स्थापना गरोस् भन्ने हाम्रो अपेक्षा छ । यसमा हर्मोन हिमाल र यसको चुचुरोसम्मको पहुँचको विषय पनि जोडिएको छ,’ मध्य इजरायलमा घाइते सैनिकहरूलाई भेट्न गएको समय मिडियासँग बोल्दै नेतन्याहुले जबल अल–शेखको इजरायली नाम हर्मोन हिमाल प्रयोग गर्दै भने, ‘इजरायली नागरिकको सुरक्षा सुनिश्चित गर्न यी क्षेत्रमाथि कब्जामा राख्नुपर्ने हुन्छ । सद्भावना र समझदारीको सिद्धान्तमा टेकेर सिरियालीसँग सम्झौतामा पुग्न सम्भव छ । तर, हामी जस्तोसुकै अवस्थामा पनि हाम्रो सिद्धान्त त्याग्नेछैनौँ ।’

नेतन्याहुको मागको इजरायलभित्रै पनि विरोध भएको छ । इजरायलबाट छापिने उदारवादी पत्रिका हारेट्जका स्तम्भकार गिदोन लेबीले नेतन्याहुको मागको कडा आलोचना गर्दै त्यसलाई ‘आपत्तिजनक’को संज्ञा दिए । ‘इजरायललाई साँच्चै सुरक्षा क्षेत्र चाहिएको भए उसले त्यसको प्रबन्ध आफ्नै भूमिमा गर्नुपर्छ । खासमा नेतन्याहुले सिरियाको थप भूमिमाथि कब्जा जमाएर थप भूमिभन्दा पनि युद्धको अवस्था निरन्तरता दिन खोजेका हुन्,’ लेबीले भने, ‘नेतन्याहुले जसरी गाजा, लेबनानमा युद्धको अवस्थालाई निरन्तरता दिएका छन्, सिरियामा पनि त्यही गरेका हुन् । उनी सत्ता लम्ब्याउन युद्धलाई जारी राख्न चाहन्छन् । उनले युद्धविरामबारे सोचेकै छैनन् ।’

उता ट्रम्प प्रशासनले भने सिरिया र इजरायलबिच ‘अनाक्रमण’को कुनै सम्झौताको मध्यस्थता गर्ने प्रयास गरिरहेको छ । अमेरिकी राष्ट्रपतिले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–साराप्रति राम्रो सम्बन्ध बनाउने प्रयास गर्दै उनीप्रति समर्थन व्यक्त गरेका छन् । 

ट्रम्पले नयाँ सिरियाली सरकारले गरेका प्रगतिको वर्णन गर्दै यसका प्रमुख अल–साराको प्रशंसा गरेका थिए । विशेषत: यस सरकारले वर्षौँ गृहयुद्ध भोगेको र साम्प्रदायिक विखण्डनबाट गुज्रिएको सिरियालाई एकताबद्ध गर्नेतर्फ प्रतिबद्धताका साथ अघि बढेको ट्रम्पले औँल्याएका थिए । ‘संयुक्त राज्य अमेरिका कडा परिश्रम र दृढ संकल्पका साथ सिरियामा देखिएका परिणामबाट धेरै सन्तुष्ट छ,’ अमेरिकी राष्ट्रपतिले लेखेका थिए, ‘यस एक वास्तविक समृद्धि देश निर्माण गर्ने उद्देश्यले गरिएको कामलाई निरन्तरता दिन हामी (अमेरिका)ले आफ्नो क्षमताले भ्याएजति सहयोग गरिरहेका छौँ ।’

‘सिरियाका नयाँ राष्ट्रपति अहमद अल–साराले असल परिणामका लागि काम गरिरहेका छन् । विशेषत: सिरिया र इजरायलबिच दिगो र समृद्ध सम्बन्ध होस् भन्ने कुरा सुनिश्चित गर्न उनी लगनशीलताका साथ काम गरिरहेका छन्,’ उनले थपे । ट्रम्पको उक्त भनाइको केही समयपछि नै नेतन्याहुको कार्यालयले दुई नेताहरूले फोनबाट कुराकानी गरेको बताएको थियो । अमेरिकी विशेष दूत टम ब्यारेक मंगलबार दमास्कसमा पुगेका थिए । त्यहाँ उनले सिरियाली विदेशमन्त्री असद अल–सैबानीसँग भेटेर सिरिया–इजरायल सम्बन्धबारे छलफल गरेको बताइएको छ । ब्यारेकले सोमबार नै अल–सारालाई पनि भेटेका थिए । इजरायल र सिरिया महिनौँदेखि कुनै खालको सम्झौतामा पुग्न वार्ता गरिरहेका छन् । तर, इजरायली मिडियाको पछिल्लो एक रिपोर्टअनुसार दुई देशबिचको वार्ता पछिल्लो समय निष्क्रिय बनेको छ । मुख्यत: गत वर्ष कब्जा गरेको क्षेत्रबाट इजरायली सेना फिर्ता गर्न  नेतन्याहुको अनिच्छुकताको परिणामस्वरूप वार्तामा अवरोध पुगेको छ । इजरायलले भविष्यमा कुनै युद्ध हुने अवस्थामा यस भूमिलाई इरानसम्म पुग्ने हवाई करिडोर बनाउन सकिने भएकाले यो भूमि आफ्नो हुनुपर्नेमा जोड दिँदै आएको छ । 

आइरिस पत्रकार म्यागी विश्व मामिला तथा मानव अधिकार विषयमा कलम चलाउँछन् ।  
अल जजिराबाट

सुझावित समाचार