नेपालमा ‘उत्पादन क्रान्ति’को खाँचो

आइतबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण
  • अबको क्रान्ति राजनीतिक प्रणाली परिवर्तनका लागि होइन, आर्थिक समृद्धि, आत्मनिर्भरता  र उत्पादनमा केन्द्रित हुनुपर्छ

क्रान्ति एउटा शब्द मात्र होइन, एउटा गहिरो भावसमेत हो । यसमा शब्दभित्र गहिरो रूपमा भावनात्मक अर्थ र महत्व लुकेको हुन्छ । यो असन्तुष्ट आत्माको एकमुष्ट ज्वालामुखी विस्फोट हो । जब समाजको मन, मस्तिष्क र मुटुभित्र कहालीलाग्दो दमन, अन्याय, अत्याचार र असमानताको तातो हावालाई जबर्जस्ती थुन्ने प्रयास गरिन्छ, तब क्रान्तिको वीजारोपण हुन्छ । क्रान्ति भनेको बन्दुकको आवाज मात्र होइन, क्रान्ति त कलमको निबबाट जन्मिएको समृद्धिको सपना पनि हो, कहिले हाँडीमा भुटिने मकैको बास्नाजस्तै शान्त एवं बास्नादार त कहिले सडकमा यत्रतत्र गुञ्जिने नाराजस्तै उखरमाउलो चिडचिडाहट । क्रान्ति केवल राजनीति र शासनप्रणाली बदल्न मात्र गरिन्न, जब चेतना बदलिन्छ, त्यहीँबाट इतिहास कोर्ने कार्यको सुरुवात हुन्छ, असली क्रान्ति नै त्यही हो । नेपालको आधुनिक इतिहास हेर्ने हो भने २००७ सालको क्रान्तिपश्चात् राणाशासनको अन्त्य, त्यसपछि २०१७ सालको पञ्चायती युग, २०४६ सालको बहुदलीय आन्दोलन र २०६२/६३ को जनआन्दोलन हुँदै गणतन्त्र आयो । फेरि नयाँ पुस्ताका रूपमा रहेको जेन–जीको आन्दोलन भयो । तर, जनता अझै प्रश्न गर्छन्– क्रान्ति त भयो, परिवर्तन खोई कहाँ आयो ? राणा गए, राजा गए, संविधान पटक–पटक बदलियो, गणतन्त्र आयो, संघीयता आयो, शासनप्रणालीमा आमूल परिवर्तन आयो । तर, गाउँका खेत र युवाको भविष्य बदलिएन । क्रान्तिले सरकार बदल्यो, तर उत्पादनको जग बसाउन सकेन । अझै हामी नेपाली सधैँ यस्तै राजनीतिक आन्दोलनको सिकार भइरहने हो कि नयाँ ढंगको निर्णायक क्रान्ति गर्ने ? अबका दिनमा उत्पादन क्रान्तिलाई निर्णायक क्रान्तिका रूपमा अघि बढाउनु अत्यन्त ठुलो खाँचो छ ।

क्रान्तिको आवश्यकता : समाज परिवर्तनशील र गतिशील छ । समाज कहिले पनि स्थिर रहन सक्दैन । जब आर्थिक, सामाजिक र सांस्कृतिक विकासका बाटा अवरुद्ध हुन्छन्, जब जनताका मनभित्रका आवाज दबाइन्छन्, जब परिश्रमको मूल्य हराएर बेकामीहरूको मूल्य दिनानुदिन बढ्दै गएको आभास हुन्छ, तब मानिसहरू बोल्छन्, चिच्याउँछन् र सबैले एकै स्वरमा चिच्याउँदा त्यो आवाज क्रान्तिको लप्कामा परिणत हुन्छ । क्रान्तिले अंकुरित हुने अवसर तब प्राप्त गर्छ, जब सत्तामा बसेकाहरूले कानको पर्दा थुन्छन्, न्यायको तराजु ढलमल गरी धर्मराउँदै एकातिर ढल्किन पुग्छ, श्रमिकको रगत र पसिना हावामा बिलाएर हराउँछ र जनताको आशा एवं भरोसा निराशाको बादलमा परिणत हुन पुग्छ । जब आमजनताका आवाज दबाइन्छन्, त्यहीँ क्रान्ति अंकुरित भई परिवर्तनका नयाँ वीज जन्मिन्छन् र हुर्किन्छन्  । यो स्वाभाविक र निरन्तर प्रक्रिया हो । समय र ज्वारलाई कसैले रोक्न सक्दैन । समाज रुपान्तरणका लागि पनि क्रान्तिको जन्म आवश्यक हुन्छ । क्रान्तिपश्चात् नयाँ बिहानीको सुरुवात हुने गर्छ । 

नेपालका विगतका क्रान्ति र तिनका उपलब्धि : नेपालको इतिहासका विभिन्न कालखण्डमा अनेक आन्दोलन र क्रान्ति भए । ती क्रान्तिले केही न केही उपलब्धि हासिल पनि गरेका थिए । 

(क) २००७ सालको राजनीतिक क्रान्ति ‘अँध्यारोबाट उज्यालोतर्फको पहिलो खुड्किलो थियो । जहानियाँ राणाशासनको कठोर र लामो अँध्यारो चिरेर २००७ सालमा नेपालले पहिलोपटक स्वतन्त्रताको स्वाद चाख्ने अवसर पायो । तर, आर्थिक र सामाजिक रुपान्तरणको नेपाली सपना भने अधुरो र अपूरो नै रह्यो ।

(ख) २०४६ को आन्दोलनलाई ‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्रको पुनर्जन्म’का रूपमा लिइन्छ । यस आन्दोलनसँगै प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली पुनस्र्थापना भयो, जनताको अभिव्यक्तिको अधिकार पुनस्र्थापित भयो । तर, राजनीतिमा भागबन्डा बढ्दै गयो र आमजनताको जीवनस्तरमा ठोस सुधारको अनुभूति भएन ।

(ग) ०५२–०६२ को माओवादी जनयुद्धले ‘वर्गीय र जातीय असमानता’ तथा ‘गरिब र धनीबिचको खाडल’को  विषयलाई राष्ट्रिय विमर्शमा ल्यायो । शोषणविरुद्धको लडाइँले नयाँ राजनीतिक संरचना ल्यायो, युद्धले असमानता औँल्यायो, तर स्थायी समाधान भने दिन सकेन ।

(घ) २०६२/६३ को जनआन्दोलनपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको उदय भयो । जनसंघर्षको परिणामस्वरूप राजतन्त्र इतिहास भयो, संविधानसभामार्फत लेखिएको संविधानले नयाँ युग लेख्यो ।

(ङ) पछिल्लो ‘जेन–जी क्रान्ति, सुझबुझपूर्ण राजनीतिक चेतनाको स्वेच्छिक विद्रोहका रूपमा अगाडि आयो । यो बन्दुक होइन, उन्नत सोच र विचार बोकेर अगाडि बढेको पुस्ता हो । सुशासन, भ्रष्टाचार निवारण, राजनीतिक स्थिरता, रोजगारी, नवप्रवर्तन, उत्पादन र स्वाभिमान, यिनै हुन् तिनको आन्दोलनका एजेन्डा । 

विगतका क्रान्तिले हामीलाई राजनीति र अभिव्यक्ति स्वतन्त्रता दियो  । अभिव्यक्त गर्ने अधिकार, छनोटको स्वतन्त्रता दियो, लोकतन्त्र  दियो, स्वशासनको अधिकार दियो । दूरदराजका आवाज र तिनको सहभागितालाई सुनिश्चित गर्यो । संघीय लोकतान्त्रिक गणतन्त्र  पनि दियो । सर्वसाधारण नागरिक पनि राष्ट्राध्यक्ष बन्न पाउने राजनीतिक संस्कारको विकास र अभ्याससमेत भयो । तर, अझै पनि हामीले नपाएको कुरा– आर्थिक समृद्धि, उत्पादनमा आत्मनिर्भरता र श्रमको उचित मूल्य तथा सम्मान हो । हामीले राजनीतिक स्वतन्त्रता त हासिल गर्यौँ, तर आर्थिक सामाजिक विकासको निर्णायक युद्ध भने अझै बाँकी छ ।

अबको यात्रा, समृद्धिको गन्तव्य : २००७ सालको क्रान्तिको बलले देशले पहिलोपटक ‘स्वतन्त्रताको असली स्वाद’ चाख्यो । तर, त्यो स्वतन्त्रताको स्वाद लामो समयसम्म टिक्न सकेन । त्यसपछि विभिन्न आरोह–अवरोह पार गर्दै २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो, हामीले सोध्यौँ– अब समृद्धि आउँछ ? फेरि ०६२–६३ मा दोस्रो जनआन्दोलन भयो, लोकतन्त्र आयो । फेरि हामीले सोध्यौँ– अबचाहिँ हुन्छ त आर्थिक सामाजिक विकास ? ०७२ मा संघीय लोकतान्त्रिक संविधान जारी भयो । हामीले अपेक्षा गर्यौँ, अब त पक्कै समृद्धि छाउनेछ । तर, उत्तर सधैँ अधुरो र अपूरो नै रह्यो । हामीले जीवनमा कतिपटक राजनीतिक क्रान्ति गर्ने ? राजनीतिक क्रान्तिले शासन परिवर्तन गर्यो, तर पेट र उत्पादनको जग बसाउन सकेन । किनभने, हामीले क्रान्तिको दिशा सधैँ शासन प्रणालीतिर सोझ्यायौँ, उत्पादनतिर ध्यान दिनै सकेनौँ । त्यसैले अबको क्रान्ति राजनीतिक होइन, उत्पादनको हुनुपर्छ । २००७ सालदेखि आजसम्म नेपालले असंख्य राजनीतिक क्रान्ति भोगिसक्यो । अब चाहिएको छ, नयाँ किसिमको ‘उत्पादन क्रान्ति’ ।

नयाँ युगको माग, उत्पादनको क्रान्ति : अबका युवाले राजनीतिक प्रणाली होइन, उत्पादनको शक्ति बुझ्न जरुरी छ । जेन–जी पुस्ता आन्दोलनका लागि सडकमा होइन, स्टार्टअप र सीप केन्द्रमा पुग्नुपर्छ । यो पुस्ताले सडकमा होइन, स्टार्टअपमा क्रान्ति गर्न सक्छन् । उनीहरूले नारा र भाषण होइन, नाफा र नवीकरणको अर्थ सजिलै बुझ्छन् । उत्पादन क्रान्तिबाट युवा, उद्योग, कृषि र प्रविधि एउटै गाडीका चार पांग्रा बन्छन् र सो गाडीले समृद्धिको यात्रा सफलतापूर्वक पूरा गर्छ । अब हाम्रो नारामा ‘स्वावलम्बी उत्पादन र स्वाधीन अर्थतन्त्र’को भाषा थपिनुपर्छ । अबको पुस्ता शासन बदल्न होइन, सोच बदल्न उठ्नुपर्छ । जनैपूर्णिमामा लगाउने जनैदेखि तिहारमा खाने भाइमसला र लुगा सिउने सियोदेखि तरकारी काट्ने चपस्टिकसम्म तथा महिनावारीमा लगाउने प्याडदेखि आइप्याडसम्म हाम्रो जीवनका लागि आवश्यक सबै सामान विदेशबाट आयात गर्नुपर्ने आयातमुखी अर्थतन्त्रको स्वरूप र संरचना बदल्नुपर्छ । उत्पादन क्रान्ति भनेको नवीन सोच र मानसिकताको पुनर्जागरण पनि हो, जहाँ किसानको रगत र पसिनालाई राष्ट्रको गौरव मानिन्छ । जहाँ काम गर्यो भने इज्जत र सम्मान तथा उत्पादन गर्यो भने शक्ति र सन्तुष्टि मिल्छ । नेपालमा जल, जमिन, जंगल र पर्यटनको अथाह सम्भावना छ, त्यसका लागि सकारात्मक दूरदृष्टि र नवीन सोच चाहिएको छ । हाम्रो पानी र हावामा ऊर्जा छ, माटोमा भोक तृप्त गर्ने पर्याप्त अन्न छ, नेपाली युवामा बल र बुद्धि दुवै छ । तर, यी तीनवटै कुरालाई जोड्ने नीति र सोचको भने कमी देखिएको छ । हामीले हाइड्रोबाट उद्योग चलायौँ, कृषि उत्पादनलाई प्रविधिसँग जोड्यौँ अनि शिक्षालाई सीप र रोजगारीसँग मिलायौँ भने त्यो नै साँचो अर्थमा उत्पादन क्रान्ति  हुनेछ । हामी उत्पादन क्रान्तिको महाभियानमा सिंगो राज्य एक भएर होमियौँ भने हाम्रा युवा खाडी होइन, कर्णाली फर्किन्छन् । यदि हाम्रो माटोमा जैविक कृषि सुरु भयो भने नेपालको नाम ‘हरियो सुन’ उत्पादक राष्ट्रका रूपमा चिनिन सक्छ । राजनीतिक क्रान्तिले सर्वसाधारणलाई सिंहदरबारका ढोका खोल्यो, अब उत्पादन क्रान्तिले जनताको भान्सामा उज्यालो छर्न सक्नुपर्छ । उत्पादन क्रान्ति कुनै एउटा वर्ग र समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा क्रान्ति हो । प्रत्येक व्यक्तिले आफ्नो घरबाट उत्पादन क्रान्ति सुरु गर्नु जरुरी छ ।

निष्कर्ष : अबको क्रान्ति भनेको उत्पादनको क्रान्ति हो । अब नयाँ नारा र राजनीतिक घोषणापत्र चाहिँदैन, नयाँ कार्य, प्रगति र उपलब्धि चाहिन्छ । नेपालले करिब–करिब एक दशकको अन्तरालमा ठुल्ठुला क्रान्ति र आन्दोलन भोगिसकेको छ । अब चाहिएको छ, उत्पादन र समृद्धिको आन्दोलन । अबको क्रान्ति राजनीतिक प्रणालीको परिवर्तनका लागि होइन, आर्थिक समृद्धि, आत्मनिर्भरता  र उत्पादनमा केन्द्रित हुनुपर्छ ।

अबको नेता त्यो हुनेछ, जसले उत्पादन क्रान्तिको नेतृत्व गर्न सक्छ । अबको योद्धा त्यो हो, जसले आफ्नो श्रम र सीपबाट मुलुक चलाउँछ । अब मान्छे मार्ने हतियार होइन, कर्म गर्ने औजार र उपकरण उठाउने समय हो । अब चर्को भाषण, नारा र राजनीतिक घोषणापत्र होइन, उत्पादन, निर्माण र नवीनतम सिर्जनाका कथा चाहिन्छन् । अब समय आयो, उत्पादनको क्रान्तिमा सबैले हातेमालो गरेर होमिने । जब खेतमा श्रम र श्रमिकको मूल्य बढ्छ, जब युवाले आफ्नै देशमा रोजगारी र अवसर पाउँछन्, जब माटो र पसिनाबाट समृद्धिको फसल उब्जन्छ, त्यो दिन हामी भन्न सक्नेछौँ, ‘क्रान्ति बल्ल पूरा भयो ।’  क्रान्ति भनेको देश जलाउने आगोको झिल्को होइन, देशलाई उज्यालो बनाउने दीपको ज्योति हो । सिंहदरबारको चिल्ला सिँढी होइन, खेतबारी र बाँझो जग्गा नै अबको क्रान्तिको रणभूमि हो । अझै नेपालमा एउटा क्रान्ति आवश्यक छ, त्यो हो ‘उत्पादनको क्रान्ति’ । त्यसैले यो क्रान्तिमा हरेक तह र तप्काका आमनागरिकदेखि राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाजका अगुवा, उद्योगी, व्यवसायीलगायत सम्पूर्ण वर्ग र समूहको ऐक्यबद्धताको खाँचो छ ।

(सापकोटा विशेष अदालतका शाखा अधिकृत हुन्)

सुझावित समाचार