के भारतले तालिबानलाई नियन्त्रण गर्ला ?

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण
  • अफगानिस्तानसँगको भारतीय संलग्नताले युद्धग्रस्त देशको पुनर्निर्माणका लागि नयाँदिल्लीबाट मानवीय र पूर्वाधार सहायता पुग्यो

पछिल्लो समयमा भारतले अफगानिस्तानको आन्तरिक मामिलामा असह्य दबाब दिइरहेको छ भन्ने विवरण सार्वजनिक हुँदै आएका छन् । पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफले तालिबानसँग भारतीय संलग्नता सम्बन्धमा फेरि एकपटक अपमानजनक दाबी गरेका छन्, ‘काबुलका मानिस कठपुतलीको नाटक गरिरहेका छन्, तिनलाई दिल्लीले नियन्त्रण गरिरहेको छ ।’ उनी यस्ता बयान दिने मामिलामा कुख्यात नै छन् । यसलाई समर्थन गर्ने प्रमाण उनीसँग छैन । 

सन् १९९६ मा अफगानिस्तानमा पहिलोपटक तालिबानले कब्जा जमाएपछि भारतले आफ्नो पूर्वप्रतिद्वन्द्वी, उत्तरी गठबन्धनलाई आर्थिक सहयोग र हतियार दिएर आधिकारिक रूपमा मान्यता नपाएको तालिबान शासनलाई कमजोर पार्ने नीति अपनायो । काबुलमा रहेको भारतीय दूतावास बन्द गरियो, अमेरिकी सैन्य हस्तक्षेपले तालिबानलाई हटाएपछि मात्र पुन: खोलियो ।

२००१ मा तालिबानले बामियानका बुद्ध मूर्ति विनाशको आदेश दियो । त्यसपछि नयाँदिल्लीले तालिबान सरकारलाई भारतीय मूलका बौद्ध विरासत मात्र नभई विश्व सम्पदाका अपूरणीय मूर्तिलाई भारतमा स्थानान्तरण गर्न अनुमति दिन गरेको आग्रहलाई तालिबानले गरेन र बुद्ध मूर्तिहरू नष्ट गर्यो ।

सन् २००१–२०२० बिच अफगानिस्तानसँगको भारतीय संलग्नतामा उल्लेखनीय वृद्धि देखियो । जतिवेला युद्धग्रस्त देशको पुनर्निर्माणका लागि नयाँदिल्लीबाट मानवीय र पूर्वाधार सहायता पुग्यो । २०२१ मा अमेरिकाको फिर्तीसँगै यो संलग्नता रोकियो । अफगानिस्तानमा पहिलो र दोस्रो तालिबान शासनको दुई दशकको अवधिमा भारतले तालिबानसँग कुनै सम्बन्ध राखेको छैन ।

भारतले तालिबानद्वारा अल्पसंख्यक र महिलामाथि भएका मानवअधिकार उल्लंघनको निन्दा गर्दै आएको छ । तालिबानले लक्षित गरेका व्यक्ति र संस्थालाई नयाँदिल्लीले सहयोग नगर्दा भारत र अफगानिस्तान दुवैमा विश्वासघात र आक्रोशको तीव्र भावना थियो । देशभित्र नागरिक समाजको अपिल र अफगानिस्तानमा असहाय आवाजका बाबजुद भारत सरकारले तालिबानसँग संलग्न हुन अस्वीकार गर्यो । दुई देशबिचको ऐतिहासिक सम्बन्धमा अमेरिकी विदेश नीति र नयाँदिल्लीले अपनाएको अकल्पनीय रणनीतिले दरार ल्यायो । २०२१ देखि अफगानिस्तानमा भारतको ‘प्रभाव’ निरन्तर घट्दै गएको छ । नयाँदिल्ली र काबुलमा यस समयमा फलफूल र बदामको स्वादको पुरानो याद छैन । काबुलमा रहेको एउटा सानो मिसनले मुख्यतया मानवीय सहायताको हेरचाह गर्दै आएको छ ।

तालिबानसँग दुई वर्षको सीमित र छिटपुट संलग्नतापछि २०२५ मा मात्र भारतले खुला रूपमा अफगानिस्तानमा आफ्नो दृष्टिकोण पुनर्संरचना गर्ने सुझाव दिएको छ । यस समय भारतको तालिबानसँग राजनीतिक, सैन्य र आर्थिक सम्बन्धको अभाव छ । अफगानिस्तानमा दूतावास पुन: खोल्ने घोषणा तालिबान विदेशमन्त्री अमिर खान मुक्ताकीको हालैको नयाँदिल्ली भ्रमणपछि मात्र भएको हो ।

तालिबान विदेशमन्त्री मुक्ताकीको भ्रमणका क्रममा भारत र अफगानिस्तानले जारी गरेको संयुक्त विज्ञप्तिमा सम्भवत: एउटा वाक्यले पाकिस्तानलाई त्राहिमाम् बनाएको हुन सक्छ, ‘अफगान विदेशमन्त्रीले अफगान सरकारले कुनै पनि समूह वा व्यक्तिलाई भारतविरुद्ध अफगानिस्तानको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्याए ।’ ऐतिहासिक रूपमा तालिबानको निकट सहयोगी पाकिस्तान, भारतप्रतिको यो स्पष्ट सद्भावना प्रदर्शनबाट खुसी छैन । यतिखेर तालिबान–पाकिस्तान सम्बन्ध अहिलेसम्मकै कमजोर अवस्थामा रहेका वेला भारतलाई विघटनकारीका रूपमा प्रयोग गर्न सजिलो छ । त्यसकारण भारतलाई तालिबानी नेताको आरोप लगाउनु घरेलु सहमति निर्माण गर्ने लक्ष्य राखेर पाकिस्तानी प्रतिष्ठानको परिष्कृत अभ्यासबाहेक केही होइन । ‘अप्रेसन सिन्दुर’पछि पाकिस्तानमा युद्धवादी प्रवृत्ति पुनरुत्थान भएको देखिन्छ ।

पछिल्लो आरोपले एउटा महत्वपूर्ण कूटनीतिक उद्देश्य पनि पूरा गर्छ । पाकिस्तानमा तालिबानले हालै गरेको आक्रमणलाई भारतको ‘छद्म युद्ध’ भनेर इस्लामाबादले अमेरिका–पाकिस्तान सम्बन्धको पुनर्गठनपछि अफगानिस्तानका वास्तविक शासकबाट आफूलाई टाढा राख्ने लक्ष्य राखेको छ । यसले स्वयं आरोप लगाउने देशको छविमा असर पर्न सक्छ भन्ने उसले महसुस गर्नुपर्छ । भारतको कथित संलग्नता प्रयोग गरेर घरेलु र छिमेकी नीतिका सन्दर्भमा आफ्नो अपूर्णता ढाकछोप गर्ने प्रयास गरेर पाकिस्तानले फेरि पनि पीडित कार्ड खेलिरहेको छ र आफ्नो मन पर्ने आकर्षक वाक्यांश ‘क्षेत्रीय स्थिरता’लाई जोकोहीतर्फ पनि उदारतापूर्वक फ्याँकिरहेको छ । पाकिस्तानले आफ्नो सिमानाभित्र रहेका र सरकारसँग असहमति जनाउने बलुचिस्तानवासीसँग नियमित रूपमा यस्तै गर्दै आएको छ ।

तर, भारतले किन यी आरोपलाई प्राय: चुनौतीविहीन अवस्थामा छोड्छ ? एउटा सम्भावित कारण अहंकार हुन सक्छ । एजेन्सीहरू डराउँछन् । महत्वपूर्ण घटनामा उनीहरूको ‘संलग्नता’को कथाभन्दा राम्रोसँग अरू केहीले तिनको प्रमाण स्थापित गर्दैनन् । 

(गौतम दिल्लीस्थित पत्रकार हुन्)
एनडिटिभीबाट

सुझावित समाचार