- ब्राजिलमा आपराधिक संगठनविरुद्धका प्रहरी छापा असामान्य छैनन्, ती प्राय: घातक हुन्छन्
ब्राजिलमा एउटा प्रमुख लागुऔषध तस्कर गिरोहलाई लक्षित गर्दै यसै साता राज्य प्रहरीको कारबाहीमा रियो दि जेनेरियोको न्यून आय भएका १३२ जनाको मृत्यु भयो । यो देशको इतिहासकै सबैभन्दा घातक छापा थियो । फाभेलासमा त्यो संख्याको आधाभन्दा कम मानिस मारिए । अत्यधिक प्रहरी बलविरुद्ध विरोध प्रदर्शन सुरु भएका छन् भने स्थानीयले त्यसलाई ‘हत्या’ भनेका छन् । अभियन्ताले रियोका गभर्नरलाई राजीनामा दिन आह्वान गरिरहेका छन् ।
राज्य प्रहरीले मंगलबार गरेको कारबाही महिनौँदेखिको योजनाबद्ध रहेको बतायो । कारबाहीको उद्देश्य संदिग्धलाई जंगली पहाडी भेगमा धपाउनु थियो, जहाँ विशेष अप्रेसन एकाइले उनीहरूलाई आक्रमण गर्न पर्खिरहेको थियो । भोलिपल्ट एक स्थानमा दर्जनौँ शव सडकमा राखेको केही घण्टापछि दर्जनौँ फाभेला बासिन्दा ‘हत्याराहरू !’ भन्दै राज्य सरकारको मुख्यालयअगाडि भेला भए । मृत्यु हुनेको संख्याप्रति स्तब्ध हुनेमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पनि थिए । ब्राजिलका न्यायमन्त्रीका अनुसार संघीय सरकारलाई यस अप्रेसनबारे पहिले नै जानकारी नदिइएको वा सहयोग गर्न आग्रह नगरिएकोमा लुला ‘आश्चर्यचकित’ भए ।
आपराधिक गिरोहलक्षित हमला
पैदल र बख्तरबन्द कारमा आइपुगेपछि प्रहरीले रियोको उत्तरी छिमेक पेन्हा कम्प्लेक्स र अलेमाओ कम्प्लेक्समा ब्राजिलको सबैभन्दा पुरानो आपराधिक संगठनमध्ये एक कमान्डो भर्मेलो गिरोहलाई लक्षित गर्दै छापा मारेको थियो । सन् १९७० को दशकमा रियोको जेलबाट सुरु भएको यो गिरोह पछिल्ला वर्षमा देशका धेरै भागमा विस्तार भएको छ । गिरोहले अहिले अमेजनसहित ब्राजिलका कतिपय क्षेत्र नियन्त्रण गर्छ । गिरोहको आपराधिक गतिविधिमा लागुपदार्थ, हतियारको तस्करी र सुरक्षा ठगी छन् । मंगलबारको आक्रमणमा २५ सय प्रहरी र सैनिक संलग्न थिए । सुरक्षाकर्मीले जंगली क्षेत्रमा अधिकांशको हत्या गरेको थियो । रेड कमान्डले सरकारी सेनामाथि जवाफी गोलीबारी गर्यो । प्रभावित क्षेत्रका स्कुल बन्द थिए । आक्रमणकै कारण स्थानीय विश्वविद्यालयले आफ्ना कक्षा रद्द गरे र धेरै सडक अवरुद्ध थिए ।
कतिजना मारिए ?
पूर्वराष्ट्रपति जैर बोल्सोनारोका अति दक्षिणपन्थी सहयोगी तथा रियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोले फोरेन्सिक काम अझै भइरहेको बताए । उनका अनुसार आधिकारिक मृत्यु हुनेको संख्या ५८ पुगेको छ, जसमा चार प्रहरी अधिकारी छन् । तर, मृतकको संख्या १३२ नाघेको गरिबहरूलाई कानुनी सहायता प्रदान गर्ने सार्वजनिक रक्षकको कार्यालयले रिपोर्ट गरेको छ । छापा मार्ने क्रममा राज्य सरकारले ११८ हतियार र एक टनभन्दा बढी लागुऔषध बरामद गरेको छ । गभर्नर क्यास्ट्रोले उक्त अप्रेसनलाई ‘सफल’ भने । उनले सामाजिक सञ्जाल एक्समा एक भिडियोमा बोल्दै छापा मार्ने क्रममा ‘रियो दि जेनेरियोमा अपराधविरुद्धको लडाइँ ऐतिहासिक दिन’ भएको बताए । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले क्यास्ट्रोलाई प्रहरी अप्रेसनबारे जानकारी प्रदान गर्न आदेश दिएका छन् ।
ब्राजिलमा छापा मार्ने इतिहास
ब्राजिलमा आपराधिक संगठनविरुद्ध प्रहरी छापा मार्ने कार्य असामान्य होइन । ती छापा प्राय: घातक हुन्छन् । तीमध्ये धेरैजसो रियोमा भएका छन् । यसअघि सहरको सबैभन्दा घातक प्रहरी छापा २०२१ मा भएको थियो, जतिवेला ज्याकारेजिन्हो क्षेत्रमा २९ जना मारिएका थिए । २०२२ मा एलेमाओ कम्प्लेक्समा हेलिकोप्टर र बख्तरबन्द सवारीसाधन परिचालन गरेर चार सय अधिकारीले गरेको अर्को छापामा १९ जना मारिए । त्यस्तै, १९९२ मा साओपाउलोमा प्रहरीले विद्रोह दबाउन कारन्डिरु जेलमा आक्रमण गर्दा १११ कैदी मारिए ।
सरकारको प्रतिक्रिया के छ ?
न्यायमन्त्री रिकार्डो लेवान्डोब्स्कीले छापा मार्ने कार्यलाई ‘धेरै रक्तपातपूर्ण’ बताउँदै मारिएका ‘निर्दोष मानिस’का परिवारप्रति समवेदना व्यक्त गरे । राष्ट्रपति लुला मृत्युको परिमाणबाट ‘त्रसित’ भएको उनको भनाइ छ । तर, सरकारले जनताले कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुराको पनि निगरानी गर्नेछ । अर्को वर्ष हुने राष्ट्रिय चुनावअघि राष्ट्रिय हिंसा एक प्रमुख मुद्दा हुनेछ । राष्ट्रिय सर्वेक्षणकर्ता पराना पेस्क्विसासले गरेको सर्वेक्षणअनुसार लगभग ५० प्रतिशत ब्राजिलियनले लुलाको नेतृत्वमा देशको सुरक्षा अवस्था बिग्रिएको मान्छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपति लुलाले ब्राजिलमा संगठित अपराधले ‘परिवारलाई क्षतविक्षत् पार्ने, बासिन्दाहरूलाई दमन गर्ने र सहरमा लागुपदार्थ र हिंसा फैलाउने काम जारी राखेको’ बताए । त्यसअघि विपक्षी सांसदले राष्ट्रपतिले आपराधिक समूहलाई संरक्षण गरेको आरोप लगाएका थिए । ‘तस्करका राष्ट्रपति निराश हुनुपर्छ । उनले रियोमा मतदाता गुमाए,’ गिल्भान दा फेडरलले रियो दि जेनेरियो अप्रेसनमा मारिएका गिरोह सदस्यलाई उल्लेख गर्दै संसद्मा भने ।
राष्ट्र संघको प्रतिक्रिया कस्तो ?
यस हप्ताको छापाको क्रूरताप्रति संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयकी प्रवक्ता मार्टा हुर्ताडोनले निन्दा गरिन । ‘हामी रेड कमान्डजस्ता हिंसात्मक र सुव्यवस्थित समूहसँग डिल गर्दा हुने चुनौती पूर्ण रूपमा बुझ्छौँ,’ उनले भनिन् । उनले ब्राजिललाई ‘चरम क्रूरताको यो चक्र तोड्न र कानुन प्रवर्तन कार्यले बल प्रयोगको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने कुरा सुनिश्चित गर्न’ आह्वान गरिन् । ब्राजिलमा मानव अधिकार वाचका निर्देशक सेजर मुनोजले मृत्युलाई ‘त्रासदी’ भने ।
राइट अलजजिराकी स्तम्भकार हुन् ।
अलजजिराबाट