युक्रेन युद्धमा रुसको नयाँ रणनीति

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण
  • रुसी सेनाले चिसो मौसम सुरु हुनेबित्तिकै युक्रेनको पावर ग्रिड र ग्यास आपूर्तिलाई कमजोर बनाउने लक्ष्य राख्दै देशको महत्वपूर्ण पूर्वाधारमा प्रहार गरिरहेको छ

जाडो मौसम नजिकिँदै जाँदा रुसी युद्धको चपेटमा परेको युक्रेनमा धेरै चिन्ता छ । गत महिना फ्रान्स र बेलायतको नेतृत्वमा युक्रेनका सहयोगीहरूको तथाकथित समूह ‘कोलियसन अफ द विलिङ’ले ठुला सहरी क्षेत्रमा बिजुली र केन्द्रीय तापको आपूर्ति कायम राखेर किभलाई मद्दत गर्न महत्वपूर्ण स्रोत परिचालन गर्न सहमति जनायो । यो वर्ष जाडो सिजन सामान्यभन्दा केही ढिलो सुरु भएकाले यो प्रयासले केही प्रभाव पारेको देखिन्छ ।

यद्यपि, यसले आगामी महिनामा युक्रेनी घरहरू न्यानो हुनेछन् भन्ने कुरामा थोरै मात्र आश्वासन दिन्छ । रुसी सेनाले चिसो मौसम सुरु हुनेबित्तिकै युक्रेनको पावर ग्रिड र ग्यास आपूर्तिलाई कमजोर बनाउने लक्ष्य राख्दै देशको महत्वपूर्ण पूर्वाधारमा प्रहार गरिरहेको छ । नेपोलियन र हिटलरविरुद्ध रुसको बफादार सहयोगी ‘जनरल विन्टर’ले यस युद्धमा पनि सहयोग गरिरहेको छ – युक्रेनविरुद्ध मात्र होइन, पूरै युरोपविरुद्ध ।

युद्धभूमिमा विजय हासिल गर्न वा अल्टिमेटममार्फत किभलाई कब्जा गर्न असफल भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको लक्ष्यमा युक्रेनको ऊर्जा र रसद प्रणालीलाई राखेका छन् । पहिलो नजरमा यो विगतको जाडोको पुनरावृत्तिजस्तो देखिन्छ, तर रणनीति विकसित भएको छ । सन् २०२२ र २०२३ मा रुसले युक्रेनीलाई आत्मसमर्पणको प्रयास गर्यो । तर, केही समयपछि यो असफल भयो । राष्ट्रिय भावना कायम रह्यो र बत्ती पुन: बल्न थाल्यो । अब पुटिनको गणना अलि फरक छ । यसपटक उनको उद्देश्य केवल युक्रेनलाई दण्डित गर्नु मात्र होइन, बरु चिसो र अन्धकारको मानवीय समस्यामार्फत युरोपलाई अझै अस्थिर बनाउनु पनि हो ।

सन् २०२२ को फेब्रुअरीको अन्त्यतिर रुसको पूर्णस्तरीय आक्रमण सुरु हुँदा लाखौँ युक्रेनी रेल, कार र कतिपय पैदलै हिँडेर पश्चिमतर्फ भागे, जसले दोस्रो विश्वयुद्धपछि शरणार्थीको सबैभन्दा ठुलो लहर सिर्जना गर्यो । यदि ऊर्जा प्रणाली ध्वस्त भयो भने उक्त लहर विनाशकारी शक्तिका साथ फर्कन सक्छ । यो क्रेमलिनको सबैभन्दा निन्दनीय डिजाइन हो, जाडोलाई हतियार बनाउने । पश्चिममा युक्रेनसँगको सबै ऐक्यबद्धताका बाबजुद अर्को शरणार्थी लहर अत्यधिक अस्थिर हुनेछ । सहायता बजेट घट्दै जाँदा युरोपले आर्थिक बोझ मात्र होइन, नैतिक परीक्षाको सामना गर्नेछ । यसले सिमाना बन्द गर्ने, हतास नागरिकहरू चिसोबाट भाग्ने र घरमा बढ्दो सार्वजनिक असन्तुष्टिलाई सम्बोधन गर्ने अवस्थाबिच निर्णय गर्नुपर्नेछ ।

आज, लगभग ५० लाख युक्रेनी शरणार्थी युरोपमा नै छन् । जर्मनी र पोल्यान्डमा क्रमश: १२ लाख र नौ लाख जनसंख्या भएको सबैभन्दा ठुलो जनसंख्या छ । दुवैले युक्रेनी शरणार्थीलाई धेरै स्वागत गर्दै आएका छन्, तर युद्धको थकानले ठाउँ लिइरहेको छ र सार्वजनिक मनोवृत्ति परिवर्तन हुँदै छ ।

यस वर्षको सुरुमा किभले युवा पुरुषका लागि सीमा निकास नियम खुकुलो पारेपछि लगभग एक लाख युक्रेनी पुरुष पोल्यान्ड प्रवेश गरे, धेरैले जर्मनी जाने क्रम जारी राखे । यसले सार्वजनिक असन्तुष्टि निम्त्यायो । ६२ प्रतिशत जर्मन सैन्य उमेरका युक्रेनी पुरुषलाई फिर्ता पठाउने पक्षमा रहेका र ६६ प्रतिशत युक्रेनीले खासै लाभ प्राप्त गर्न नचाहेको अक्टोबरमा गरिएको एक सर्वेक्षणले पत्ता लगाएको थियो । युक्रेनी शरणार्थीका लागि सामाजिक समर्थन कायम राख्न गत वर्ष बर्लिनलाई ६ अर्ब युरो (६.९ अर्ब डलर) खर्च भयो र नयाँ रुढिवादी जर्मन सरकारले बजेटमा कडाइ गर्ने कुरा गरिरहन्छ ।

पोल्यान्डमा पनि देश छाडेर भाग्ने युवा युक्रेनी पुरुषको आगमनको लहरबारे सार्वजनिक आक्रोश देखिन्थ्यो । गत वर्षको अन्त्यमा गरिएको एक सर्वेक्षणले २५ प्रतिशत पोल्यान्डवासीले युक्रेनी शरणार्थीलाई सकारात्मक, ३० प्रतिशतले नकारात्मक र ४१ प्रतिशत तटस्थ देखिएको पत्ता लगाएको छ । ५१ प्रतिशत उनीहरूलाई सरकारी सहयोग बढी भएको विश्वास गर्छन् । एक वर्षपछि पनि यो नकारात्मक भावन सम्भवत: कायमै छ । युक्रेनी शरणार्थी जनसंख्या कम भएका अन्य देशमा पनि नकारात्मक मनोवृत्ति बढ्दै गएको छ । चेक गणतन्त्रमा लगभग झन्डै चार लाख युक्रेनीले बसोवास गरेका छन् । चेक गणतन्त्रले व्यवस्थापन गर्न सक्नेभन्दा बढी शरणार्थीलाई स्वीकार गरेको त्यहाँका ६० प्रतिशत नागरिकको विश्वास छ । यसले पनि आप्रावासीलाई युरोपमा समस्याका रूपमा लिन थालेको बुझ्न सकिन्छ ।

जुन महिनामा युरोपेली आयोगले युक्रेनीका लागि सन् २०२७ को मार्चसम्म अस्थायी सुरक्षा उपाय विस्तार गर्यो, तर शरणार्थीहरूको अर्को लहरको चिन्ता सम्पूर्ण ब्लकभरि (युरोपभर) प्रस्ट देखिन्छ । विगत दुई वर्षमा इयु राष्ट्रहरूले समग्रमा शरणार्थीका लागि कठोर नीति अवलम्बन गरेका छन् । जर्मनीले छिमेकी सेन्जेन देशसँग सीमा नियन्त्रण पुन: लागू गरेको छ । त्यस्तै, पोल्यान्डले बेलारुससँगको आफ्नो सिमानामा शरण आवेदनहरूलाई अनुमति दिन बन्द गरेको छ । पुटिन र उनका सहयोगी बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोलाई थाहा छ कि हतास मानिसलाई इयुको सिमानामा धकेल्ने रणनीतिले काम गर्छ । उनीहरूले २०२१ मा यस प्रकारको हाइब्रिड युद्धको प्रयोग गरे, जतिवेला बेलारुसले मध्यपूर्व र एसियाबाट शरणार्थीलाई पोल्यान्डको सीमातिर धकेल्यो ।

त्यतिवेला ती सीमामा हजारौँ मानिस थिए, जसका कारण मानवीय संकट र मृत्यु भयो । यस जाडोमा यदि युक्रेनको ऊर्जा क्षेत्र ध्वस्त भयो भने लाखौँ मानिस पश्चिममा पोल्यान्डतिर वा दक्षिणमा रोमानिया र हंगेरीतिर जानेछन् । सीमामा उत्तेजकहरूको घुसपैठ वा ड्रोन गतिविधिले स्थिति सजिलै बिग्रन सक्छ ।

युक्रेनलाई सहयोग गर्न युरोप तयार छ ?
गत महिना पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले भनेका थिए कि उनको देशले युक्रेनलाई जेनेरेटर र अतिरिक्त बिजुली आपूर्तिमा मद्दत गर्नेछ । तर, चिसो मौसममा घरभित्रै बस्न बाध्य तीन करोडभन्दा बढी युक्रेनीलाई जेनेरेटरले कसरी न्यानो राख्न सक्ला ? सम्भवत: पुटिनलाई यस प्रश्नको जवाफ थाहा छ । त्यसैले, रुसी सेनाले पावर प्लान्ट, ग्यास भण्डारण र रेलमार्गका ‘जक्सन’ बम विस्फोट गरिरहन्छ, मस्कोले पूर्वाधार नष्ट गर्न मात्र होइन, बरु नागरिकलाई पश्चिमतिर धकेल्न पनि यस्तो निन्दनीय कार्य गर्छ । आतंक आफैँमा हतियार बनेको छ । यस जाडोमा युक्रेनले आफ्ना ‘इच्छुक’ सहयोगीको एकताको सीमा पत्ता लगाउन सक्छ ।

अलजजिराबाट

सुझावित समाचार