- मोबाइलमा जतिजति मानव संवेदना र मनोवैज्ञानिक पक्षलाई आकर्षित गर्ने क्षमता बढ्दै छ, त्यति नै फोन चलाउने लत बढ्दै छ
अहिले विश्वभर मोबाइलको दैनिक प्रयोगको समय बढ्दै गएको छ, जुन विशेषगरी युवामाझ झन् बढी छ । यो चिन्ताको विषय बन्दा क्यानडा, अमेरिका र अन्य देशले आफ्ना स्कुलमा विद्यार्थीको फोन प्रयोग प्रतिबन्ध लगाउने निर्णय लिन थालेका छन् । सामाजिक सञ्जाल, गेमिङ, भिडियो स्ट्रिमिङ र एआई बटसँगको च्याट सबैले हाम्रो मोबाइलमाथिको लत बढाउन योगदान पुर्याउँछन् । यो लत बढाउन मोबाइल फोनको डिजाइन जिम्मेवार देखिन्छ ।
मोबाइलले हाम्रो उपस्थिति पहिचान गरी ध्यान तान्ने प्रतिक्रिया जनाउँछन् । यस क्रममा तिनले हामीमा कुनै परिचित मित्रको जस्तो सम्बन्ध विकास गर्ने अध्ययनले देखाउँछ, जसले लत निर्माणमा सबैभन्दा बढी योगदान पुर्याउँछ । मोबाइलमा जतिजति प्राविधिक फिचर (सुविधा) बढिरहेका छन्, त्यति तिनको मानव संवेदना र मनोवैज्ञानिक पक्षलाई आकर्षित गर्ने क्षमता बढ्दै गएको छ । यही सहजताले गर्दा हामी विनाकारण पटक–पटक मोबाइल हेर्छौं । मोबाइल र यसको सफ्टवेयर इन्टरफेसमा रहेको भावनात्मक पक्ष आकर्षित गर्ने गुणले हामीमा लतको विकास गरिदिन्छ । त्यसै क्रममा ती उपकरणले हाम्रा सबै प्रकारका सूचना लिइरहेका हुन्छन् ।
मानिसमा अपनत्व विकास गर्ने मोबाइलका नयाँ फिचरको कुरा गर्दा प्रयोगकर्ताको अनुहार पहिचान गरेर लक खुल्ने (फेस लक) सुविधामै हेरौँ । छिटो मोबाइल खोल्न उपयोगी यो सुविधाले परिचित अनुहारको एक झलकमा मोबाइल चलाउने अवसर दिन्छ । तर, यसले प्रयोगकर्ता–उपकरणबिचको गहिरो सम्बन्ध बढाइरहेको हुन्छ । बिस्तारै प्रयोगकर्ताले आफ्नो मोबाइललाई कुनै आफूलाई चिन्ने नजिकको मानिसजस्तै ठान्न थाल्छन् । ‘फेस अनलक’ फिचरजस्तै केही मोबाइलले हातको इसारामा फोटो खिच्ने सुविधा दिएका छन् । यसले पनि प्रयोगकर्तामा फोनप्रति आफ्नोपन विकास गराइरहेको हुन्छ ।
त्यस्तै ‘जियोलोकेसन’ सुविधाले फोनलाई नक्सामा थोप्लामा रुपान्तरण गरेर देखाउँछ । तर, त्यस थोप्लोलाई हामी हाम्रो फोन नभई आफैँ ठान्ने गर्छौं । यो फोन–प्रयोगकर्ताबिच विकास हुने घनिष्टताको अर्को उदाहरण हो । फेस अनलक, जियोलोकेसनका अतिरिक्त टचस्क्रिन, फोनको भाइब्रेसन, ध्वनि अलर्ट र अडियो तथा गति सेन्सरले हाम्रो ध्यान खिच्न र हाम्रा कामप्रति प्रतिक्रिया दिन भूमिका खेलिरहेका हुन्छन् । यी सुविधाले फोनलाई हाम्रो जीवनको एक घनिष्ठ, संवेदनशील र सचेत उपस्थिति भएको भावना विकास गर्छ ।
फोनको इन्टरफेस अत्यन्त मिहिन ढंगमा चल्न सम्भव बनाउने टचस्क्रिनले मानव छालाको लचिलोपनको भान दिन्छ । त्यस्तै भाइब्रेसन र ध्वनि अलर्टले हामीलाई उपकरणका ससाना चाल वा ध्वनिप्रति धेरै संवेदनशील बनाउँछ । दिनभर पटक–पटक आउने भाइब्रेसन र अलर्टले हामीमा अवचेतन रूपमा मोबाइल पनि हाम्रो ध्यान आवश्यक सचेत वस्तुजस्तै भएको अनुभूति गराइरहेको हुन्छ ।
पछिल्लो समय स्मार्टफोनहरू हाम्रो पहिचान र दैनिक व्यवहारको हिस्सा बनिसकेका छन् । तर, मोबाइलमाथिको बढ्दो निर्भरता गोपनीयतासँग जोडिएको छ । मोबाइल सेन्सरहरूले निरन्तर हाम्रो आवाज, चाल र निकटता मापन गरिरहेका हुन्छन् । समयसँगै मोबाइलले ध्यान नदिएका हाम्रा व्यवहारमाथि समेत नजर लगाउन थालेसँगै यसमाथिको हाम्रो निर्भरता थप बढ्ने जोखिम छ । निद्रा एउटा राम्रो उदाहरण हो । अडियो र गति सेन्सिङमार्फत मोबाइलले हाम्रो सुत्ने समय र सुत्दाको अवस्थाबारे सटिक तथ्यांक संकलन गर्न सक्छ । त्यस्तै, मोबाइलमा भएका स्वास्थ्यसम्बन्धी एपले अहिले ठुलो मात्रामा बायोमेट्रिक डेटा संकलन गरी अन्य कम्पनीलाई सेयर गर्न थालेका छन् ।
अर्को उदाहरण थप उन्नत अनुहार पहिचान गर्ने प्रविधि हो, जसले अब अनुहार मात्र पहिचान गर्दैन कि हाम्रा सतर्कता वा मुडसमेत जाँच्नेछ । यी सबै संकलित तथ्यांक हाम्रो व्यवहार, अन्य मानिससँग हामीले गर्ने अफ–लाइन अन्तरक्रिया र हाम्रो भावनासमेत कर्पोरेट नाफाका लागि प्रयोग गरिने ‘डेटा प्रोफाइल’मा जम्मा गरिन सक्छ ।
त्यसो भए हामीले मोबाइलमाथिको निर्भरता व्यवस्थापन गर्न के गर्न सक्छौँ ? पहिलो त व्यक्तिगत रूपमा हामीले उपकरणको सेटिङमा गएर आफूलाई साँच्चै आवश्यक पर्ने फिचर मात्र सक्रिय (एक्टिभेट) गर्न सक्छौँ । त्यसलाई हाम्रो बदलिँदो आवश्यकताअनुसार समय–समयमा समायोजन गर्नुपर्ने हुन सक्छ । उदाहरणका लागि हामीलाई नक्सामा कुनै ठाउँ खोज्नुपरे मात्र ‘लोकेसन’ अन गर्ने र पछि बन्द गर्दा एक त हाम्रो गोपनीयता केही बढ्छ र फोन र प्रयोगकर्ता एक अविभाज्य जोडी हुन् भन्ने विश्वास तोड्न मद्दत पुग्छ । त्यस्तै, ध्वनि अलर्ट र भाइब्रेसन बन्द गर्नाले वा सीमित गर्नाले उपकरणमाथिको निर्भरता कम हुन सक्छ । अनुहार पहिचान गरेर लक खुल्ने सुविधाको साटो ‘पासकोड’मार्फत फोन खुल्ने सुविधाले हाम्रो अवचेतनलाई मोबाइल एक मेसिन हो, न कि साथी भनेर सम्झाउँछ ।
फोन निर्माताले पनि उपकरणमा एपलाई आवश्यक पर्दा ‘अन/अफ’ गर्न सकिने सेटिङ प्रदान गर्नुपर्छ । त्यसबाहेक फोन प्रयोगका क्रममा हुने डेटाको संकलन र किनबेचको दायित्वबारे थप पारदर्शिता आवश्यक छ । तिनले यो काम आफैँ नगर्ने हुँदा यसमा बलियो सरकारी नियमन आवश्यक हुन्छ, जसले प्रयोगकर्ता र तिनको डेटा सुरक्षालाई प्राथमिकता देओस् ।
(स्टिफन कन्कोर्डिया विश्वविद्यालयका सञ्चार संकायका सह–प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट