महोत्तरी सदरमुकाम जलेश्वरमा भएको रावण दहनको क्रममा रावणमा लागेको बम पड्केर पाँचजना घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका– ८ बस्ने अन्दाजी वर्ष ४३ का पवन पाठक, जलेश्वरकै वडा नम्बर ४ मसुरपट्टी बस्ने वर्ष नाैका आनन्द पाठक, जलेश्वर– ३ खैरा बस्ने वर्ष १४ का आलम राइन, जलेश्वर– २ बस्ने वर्ष २० का सुरज भण्डारी र वडा नम्बर १ बस्ने वर्ष २२ का मनीष चौधरी छन् । घाइतेहरूको टाउको, आँखा र गालामा काटिएको हो ।
प्रादेशिक अस्पतालमा उपचारपछि अधिकांश घाइते घर फर्के पनि नाै वर्षीय आनन्द पाठकको आँखामुनि गम्भीर चोट रहेकोमा उनलाई आँखा विशेषज्ञसँग थप उपचार गराउन जनकपुर रिफर गरिएको छ ।
दुर्गा पूजा समिति शंकर चौकका अनुसार पछिल्ला केही वर्षदेखि रावण दहन गर्दै आएकोमा यसपटक थप दुई गरी तीन पुतला दहन गरिएको हो । रावणको पुतला नजिक भएर उनीहरू त्यसबाट निस्केको कुनै कडा वस्तुले लागेर उनीहरू घाइते भएको हुन सक्ने प्रहरीको प्रारम्भिक जानकारी छ ।