जेन–जी आन्दोलनका क्रममा फरार भएका ६ हजार तीन सय कैदीबन्दी अझै कारागारबाहिर छन् । लुटिएका हतियार फिर्ता भएका छैनन् । जसले दसैँ पर्वमा सुरक्षा चुनौती बढाएको छ । यसलाई चिर्न प्रहरीले पर्वलक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । जसमा प्रविधिलाई अनिवार्य गरिएको छ ।
जेन–जी आन्दोलनका क्रममा प्रहरीका सबैजसो कार्यालय जलेका छन् । त्यसमा पनि सहरकेन्द्रित कार्यालयहरू धेरै क्षतिग्रस्त छन् । प्रहरीका यातायातका साधन जलेका छन् । त्यसो हुँदा भनेको वेला घटनास्थलमा प्रहरी नपुग्न सक्छ । यो समस्या निराकरण गर्न प्रहरीले ड्रोन निगरानीलाई प्राथमिकतामा राखेको छ । त्यसबाहेक सहरका सडक, चोक, गल्ली, पेटीजस्ता सार्वजनिक ठाउँमा राखिएका सिसी (क्लोज सर्किट) क्यामरालाई पनि प्रहरीले निगरानीको अर्को माध्यम बनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरले यसपटकको पर्व सुरक्षामा प्रविधिलाई प्राथमिकतामा राखिएको बताए । उनले भने, ‘पर्वलक्षित सुरक्षा योजना कार्यान्वयन भइसकेको छ । सुरक्षा चुनौती बढेका छन् । त्यसलाई चिर्न प्रविधिलाई विशेष प्राथमिकतामा राखेका छौँ । यसपटक हामीले ड्रोनमार्फत सहरमा भएका गतिविधिको निगरानी गर्छौँ । जडान भएका सिसी क्यामराले पनि हामीलाई यसमा सघाउनेछ ।’
त्यसबाहेक सादा पोसाकका प्रहरी पनि बाक्लो मात्रामा परिचालन हुनेछन् । विशेष गरी उनीहरूलाई आर्थिक कारोबारका हब मानिने ठुला व्यापारिक कम्प्लेक्स, मल, बैंक, सुनचाँदी पसललगायतका क्षेत्रमा परिचालन गरिएका छन् । त्यसबाहेक विभिन्न शक्तिपीठहरूमा पनि सादा पोसाकका प्रहरी परिचालन गरिएका छन् ।
केन्द्रीय प्रवक्ता डिआइजी घिमिरेले भने, ‘पर्वमा आर्थिक कारोबार धेरै हुन्छन् । अपराध पनि यही क्षेत्रमा धेरै हुन्छन् । यसलाई रोक्न हामीले सादा पोसाकका प्रहरीलाई आवश्यकता हेरी परिचालन गरेका छौँ । खासगरी व्यापारिक कम्प्लेक्स, मल, बैंक, सुनचाँदी पसल, शक्तिपीठहरूलाई सुरक्षाको प्राथमिकतामा राखिएको छ ।’
काठमाडौं उपत्यका तुलनात्मक रूपमा धेरै आर्थिक गतिविधि हुने क्षेत्र हो । यसको सुरक्षाका लागि प्रहरीले घटस्थापनाको दिनबाटै विशेष सुरुक्षा योजना कार्यान्वयनमा ल्याएको छ । यस प्रयोजनामा उपत्यकाभित्र मात्रै ६ हजार एक सय ६ प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालको भनाइ छ ।
उनले भने, ‘उपत्यका आर्थिक कारोबारको हब हो । पर्वमा यस्ता ठाउँ सुरक्षाका दृष्टिले बढी संवेदनशील हुन्छन् । त्यसो हुँदा हामीले यस्तै ठाउँको सुरुक्षा गर्न विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएका हौँ । यसका लागि ६ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएका छन् ।’
प्रहरीका अनुसार परिचालित सबै प्रहरीको कमान्ड आठ एसपीले गर्नेछन् । जेन–जी आन्दोलनका क्रममा बिग्रिएको सुरक्षा व्यवस्था मजबुत पर्ने उद्देश्यले उपत्यका प्रहरी कार्यालयले यसअघि नै उपत्यकालाई आठ सेक्टरमा विभाजन गरी आठ एसपी परिचालन गरेको थियो । पर्वलक्षित सुरक्षा योजनाको फिल्ड कमान्ड उनीहरूले नै गर्नेछन् । सेक्टरवाइज खटिएका एसपी भने सम्बन्धित जिल्ला प्रहरी परिसर प्रमुखको कमान्डमातहत रहनेछन् । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी खनालले उपत्यकाभित्र पर्वलक्षित सुरुक्षा योजना कार्यान्वयनमा आएको र जसको फिल्ड कमान्ड आठ एसपीले गर्ने बताए ।
उपत्यका प्रहरी कार्यालयले गत २९ भदौमा एसपीहरू पवन भट्टराई, दीपक श्रेष्ठ, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डिबी मल्ल, कशव भट्टराई र बालनरसिंह राणालाई खटाएको थियो । उनीहरूको माहतमा उपत्यकाभित्रका सम्बन्धित प्रहरी वृत्त रहनेछन् । वृत्तमाहत सिआरभी (कन्ट्रोल रुम भेहिकल), क्युआरटी (क्विक रेस्पोन्स टिम), पैदल गस्ती, साइकल गस्ती परिचालन हुनेछन् ।
उपत्यकाका सबै नाकामा डग स्निपिङमार्फत चेकजाँज सुरु गरिएको छ । विशेष गरी उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनको चेकजाँच डक स्निपिङमार्फत हुनेछ । ठुला व्यापारिक कम्प्लेक्स, मल, बैंक, सुनचाँदी पसल सुरक्षाका लागि सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएका छन् । प्रहरीका अनुसार आर्थिक कारोबार धेरै हुने संवेदनशील मानिएको क्षेत्र सुरक्षामा ड्रोन पनि परिचालन गरिएको छ ।
कार्यालयका प्रवक्ता एसएसपी खनालले भने, ‘नाकाहरूमा डग स्निपिङ टोली खटिएका छन् । यसले नाका सुरक्षालाई बजबुत बनाउनेछ । भित्री सहर सुरक्षाका लागि भने सिआरभी, क्युआरटी, पैदल गस्ती, साइकल गस्ती परिचालन गरिएको छ । सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गरिएका छन् । त्यसबाहेक संवेदनशील मानिएका क्षेत्रमा हामी ड्रोनमार्फत निगरानी गरिरहेका छौँ ।’
पर्वलक्षित आवागमनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले बसपार्क क्षेत्रमा विशेष सहायता कक्षा स्थापना गरेको छ । सहायता कक्षले टिकटमा हुने कलोबजारी, धेरै यात्रु नियन्त्रण, मापसे परीक्षणलगायतका कार्य गर्नेछ । त्यसबाहेक ट्राफिक प्रहरीले उपत्यकाभित्र विभिन्न ७८ चेक अस्थायी प्वाइन्ट स्थापना गर्नेछ, जहाँबाट यात्रुवाहक बसको निगरानी हुनेछ ।