काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएकाे छ। गत साउन १० गते स्कुटर दुर्घटनामा घाइते भएका तिमल्सिनाको आज बिहानै निधन भएको हो ।
गत साउनमा नमोबुद्ध नगरपालिका– २, बुच्चाकोटस्थित बिपी राजमार्गमा छोरा किशोर तिमल्सिनाले चलाएको स्कुटरमा सवार उनी दुर्घटनामा परेका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नमोबुद्ध नगरपालिका– २ बिसकिलोस्थित बिपी राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा.६२ प ३५७८ नं. को स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नं. को स्कुरटलाई ठक्कर दिँदा ७२ वर्षीय शर्मा गम्भीर घाइते भएका थिए । घाइते शर्माको धुलिखेल अस्पतालमा करिब ६० दिनदेखि उपचार भइरहेको थियो । उपचारको क्रममा धुलिखेल अस्पतालमा आज बिहान चार बजे निधन भएको परिवारले जानकारी दिएका छन् ।
परिवारका अनुसार बिहान ९ बजे अस्पतालमा पोस्टमार्टम गर्ने तयारी छ । नमोबुद्ध नगरपालिकाको प्रांगणमा दिउँसो १२:१५ बजेदेखि एक बजेसम्म पूर्वमेयर तिमल्सिनाको पार्थिव शरीरलाई राखेर श्रद्धाञ्जली सभा आयोजना गरिएको नगरपालिकाले जानकारी दिएको छ । त्यसपश्चात् नौबिसेस्थित त्रिवेणीघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको छ । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी नमोबुद्ध नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए । तिमल्सिना पूर्वपत्रकार र साहित्यकारसमेत थिए ।