क्रिकेट विवाद र भारत–पाकिस्तान तनावको गहिराइ

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण
  • पाकिस्तानी टोलीसँग हात नमिलाउने भारतीय टोलीको कदमले ‘क्रिकेट कूटनीति’मा धक्का पुर्याएको छ 

गत आइतबार दुबईमा भएको ‘एसिया कप’ प्रतियोगितामा भारतीय र पाकिस्तानी राष्ट्रिय क्रिकेट टोली आमनेसामने भए । खेलको नतिजा उस्तो आश्चर्यजनक रहेन : पछिल्लो समयको क्रिकेट पावरहाउस भारतीय टोलीले पाकिस्तानलाई सजिलै पराजित गर्यो । तर, खेल सकिएपछि, आम–अभ्यासअनुरूप भारतीय टोलीले पाकिस्तानी क्रिकेटरसँग हात मिलाउन अस्वीकार गर्दैै मैदानबाट बाहिरिएपछि राजनीतिक तरंग आएको छ । 

दुबईको खेल गत अप्रिलमा भारत प्रशासित कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतीय र पाकिस्तानी टोलीबिच पहिलो भेट थियो । भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले पहलगाम आक्रमणका मारिएका २६ जना पीडितप्रति ऐक्यबद्धता जनाउन पूर्व–निर्धारित योजनाअनुरूप हात नमिलाएको प्रतिक्रिया दिए । भारत सरकारले आक्रमणका लागि पाकिस्तानलाई दोष लगाउँदै आएको छ, जसलाई पाकिस्तानले अस्वीकार गरेको छ । 

आरोप–प्रत्यारोपबिच तनाव बढ्दै जाँदा मे महिनामा दुई देशबिच चारदिने सैन्य झडप भड्कियो । त्यस अवधिमा दुई देशले एक–अर्काको सीमा क्षेत्रमा गोलीबारी गर्नेदेखि भित्रसम्मै क्षेप्यास्त्र प्रहार गरे । दुई आणविक हतियारधारी देश दशकौँपछि पूर्ण युद्धको सबैभन्दा नजिक पुगेर रोकिएका थिए । 

भारतीय खेलाडीले हात मिलाउन अस्वीकार गरेपछि पाकिस्तानी टोलीले पनि खेलपछि हुने पत्रकार सम्मेलन बहिष्कार गर्यो । भारतीय कदमविरुद्ध पाकिस्तानी टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्मा उजुरीसमेत दर्ता गर्यो । उसले खेलका रेफ्री एन्डी पाइक्राफ्टप्रति पनि असन्तुष्टि जनाउँदै उनलाई हटाउनुपर्ने माग गर्यो । सो माग आइसिसीले अस्वीकार गरिदियो । फेरि बुधबार राति पाकिस्तानी टोलीले एसिया कप प्रतियोगिताका बाँकी खेल बहिष्कार गर्ने धम्की दिएपछि रेफ्री पाइक्राफ्टले हात नमिलाउने घटनालाई ‘संवादमा देखिएको कमजोरी’का रूपमा व्याख्या गर्दै माफी मागे । दुवै पक्ष प्रतियोगिताको दोस्रो चरणका लागि छनोट भएकाले आइतबार फेरि प्रतिस्पर्धा गरे र भारतले जित हात पारेको छ । 

क्रिकेटमा देखिएको पछिल्लो घटनाले दुई देशको चिसो सम्बन्ध लामो जाने संकेत गर्छ । विगतमा तनावपूर्ण क्षणमा जनस्तरबाट तनाव कम गर्न पहल हुने गथ्र्यो । पाकिस्तानमा आधार रहेको लस्कर–ए–तोयबाले सन् २००८ मा मुम्बईमा गरेको ठुलो आक्रमणको एक वर्षपछि नागरिक नेतृत्वमा शान्ति पहल सुरु गरिएको थियो । दुवै देशका मिडिया समूहले पहललाई प्रायोजित गरेका थिए । त्यस्तै भारत पाकिस्तानबिच ‘क्रिकेट कूटनीति’को लामो इतिहास छ । पर्यवेक्षक यसको प्रस्थान बिन्दु सन् १९८७ लाई मान्छन्, जब पाकिस्तानका तत्कालनी सैन्य तानाशाह जिया–उल–हक कस्मिरमा तनाव बढिरहेको समयमा भारत–पाकिस्तान टेस्ट म्याच हेर्न भारत पुगेका थिए । 

त्यस्तै, सन् २००४ देखि २००७ सम्म दुई देशले एक–अर्काको मैदानमा चार सफल टेस्ट सेरिज खेले । त्यतिवेला भारतीय टोली पाकिस्तानको भ्रमणमा निस्किनुअघि तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीले भनेको कुरा विशेष उलेखनीय मानिन्छ । उनले भनेका थिए, ‘तिमीहरू खेल जित या हार, मलाई फरक पर्दैन । तर, पाकिस्तानमा रहँदा तिमीहरूले पाकिस्तानी जनताको मन भने जित्नुपर्छ ।’ तर, सन् २०१४ मा नरेन्द्र मोदी नेतृत्वको शासन सुरु भएदेखि भारतको क्रिकेट बढ्दो रूपमा राजनीतिक औजारका रूपमा प्रयोग भइरहेको विश्लेषण हुन थालेको छ । क्रिकेटको शक्तिशाली विश्वव्यापी प्रशासकीय निकाय ‘आइसिसी’का प्रमुख नै जय शाह छन् । उनी भारतका गृहमन्त्री र मोदीका निकटतम सहयोगी अमित शाहका छोरा हुन् ।

पछिल्लो समय दुई टोली केहीपटक आमनेसामने हुँदा, उनीहरूबिच सौहार्द र खेल भावना देखिएको थियो । तर, आइतबारको खेल हुनुअघि नै माहोल भिन्न देखिन्थ्यो । केही भारतीय राजनीतिज्ञ र पूर्वक्रिकेटरले भारतीय टोलीले पाकिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने आह्वान गरिरहेका थिए । पहलगाम आक्रमणका पीडित परिवारको बहिष्कारको आह्वानबाट ती प्रभावित भएका हुन सक्छन् । भारतमा कानुनका केही विद्यार्थीले पाकिस्तानसँगको भारतको खेल राष्ट्रिय हितविरुद्ध भएको भन्दै खेल रोक्न सर्बोच्चमा मुद्दा नै दायर गरेका थिए । सर्वोच्च अदालतले त्यस मुद्दाको विपक्षमा फैसला सुनायो ।

भारतीय टोलीले हात मिलाउन अस्वीकार गरेको घटनाको देशभित्र खासै निन्दा भएन । बरु, उल्टो धेरैले यस कदमको प्रशंसा गरे । भारतीय सरकार यस प्रकरणमा पूर्णत: मौन रह्यो । भारतीय क्रिकेटको नियामक संस्थाका एक शीर्ष अधिकारी आफूहरूको ध्यान विवादमा भन्दा जितमा केन्द्रित हुनुपर्ने भन्दै पन्छिए । भारतीय टोलीको कदमले ‘क्रिकेट कूटनीति’मा धक्का पुर्याएको छ । र, यसले मुख्यत: भारत–पाकिस्तान सम्बन्धको तनाव अझै कायम रहेको संकेत गरेको छ । मे महिनाको द्वन्द्व रोकिए पनि भारतले विश्व मञ्चमा पाकिस्तानलाई एक्ल्याउने, सिमाना बन्द गर्ने र सम्पूर्ण व्यापार निलम्बन गर्नेजस्ता गैर–सैन्य कदम पनि चालेको थियो । त्यसले दुई देशको जनस्तरमा रहेको सम्बन्धलाई प्रत्यक्ष रूपमा कमजोर बनायो । 

यस प्रकरणले द्विपक्षीय सम्बन्धको दीर्घकालीन प्रक्षेपणमा राम्रो संकेत गर्दैन । जनता–जनता आदानप्रदानले विश्वास निर्माण गर्दै फराकिलो सम्बन्धलाई स्थिर बनाउन मद्दत गर्न सक्छ । तर, भारत–पाकिस्तान सम्बन्धको आजको चिसो अवस्था तोड्न कुनै कदम दृश्यमा देखिँदैन । सरकारी च्यानलबाहिर सहयोगका लागि स्थान साँघुरिँदै जाँदा सम्बन्धलाई ‘ट्र्याक’मा फर्काइएन भने कठिन हुनेछ । 

द फरेन पोलिसीबाट
(करिब दुर्ई दशकदेखि दक्षिण एसियाली राजनीतिको विश्लेषण गर्दै आएका कुगेलम्यान ‘फरेन पोलिसी’का लागि साप्ताहिक दक्षिण एसिया ब्रिफ लेख्ने गर्छन्) 

 

सुझावित समाचार