युक्रेनको खनिज हत्याउने ट्रम्पको चाहना

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

अमेरिका र रुसबिच यस साता साउदी अरेबियामा सम्पन्न उच्चस्तरीय वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने योजनामा सहकार्य गर्न दुवै मुलुक सहमत भएका छन् । युक्रेनी र युरोपेली प्रतिनिधिलाई भने सहभागी हुन खुला रूपमा आमन्त्रित गरिएको थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यी वार्तामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका दुई प्रमुख माग स्वीकार गर्ने तयारीसहित प्रवेश गरेका देखिन्छन् । रुस युक्रेनलाई नेटोमा सामेल हुनबाट रोक्न चाहन्छ र सन् २०१४ मा क्रिमियामा गरेको आक्रमणपछि कब्जा गरेको युक्रेनी भूभाग आफ्नै नियन्त्रणमा राख्न चाहन्छ । वासिंटनको यो नीतिगत परिवर्तनले युक्रेनको सार्वभौमिकता र सुरक्षासम्बन्धी पश्चिमा–युक्रेनी एकतालाई कमजोर पार्दै युद्ध अन्त्य गर्ने स्वीकार्य सर्तमा गम्भीर प्रभाव पारेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई समावेश नगरिएको कुनै पनि सम्झौता युक्रेनले स्वीकार नगर्ने बताएका छन् । अमेरिकी पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसमक्ष ‘व्यवहारतः आत्मसमर्पण’ गरेको आरोप लगाएका छन् । युरोपेली नेता पनि साउदी वार्ताबाट युरोपलाई बाहिर राखिएपछि चिन्तित छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले ‘यसको अर्थ शान्ति जबर्जस्ती लाद्न सकिन्छ र युक्रेनले प्रस्तुत गरिएका सर्त स्वीकार गर्नैपर्छ भन्ने होइन’ भनेका थिए । धेरैले ट्रम्पको यस कदमलाई रुसविरुद्धको ट्रान्स–एट्लान्टिक मोर्चालाई कमजोर पार्ने संकेतका रूपमा हेरेका छन्, जसले वासिंटनले युरोपेली सुरक्षाप्रति आफ्नो प्रतिबद्धता त्याग्दै गएको देखाउँछ । तर, ट्रम्पको कदमका पछाडि प्रभाव पार्ने अर्को महŒवपूर्ण कारक पनि छ, अर्थात् महत्वपूर्ण खनिजका लागि विश्वव्यापी प्रतिस्पर्धा । ट्रम्प युरोपियन युनियनका पारम्परिक साझेदारसँग सम्बन्धविच्छेद गरेर भए पनि युक्रेनको विशाल खनिज स्रोतमा पहुँच सुरक्षित गर्न चाहन्छन् । 

युक्रेनी खनिजको महत्व : केही रिपोर्टअनुसार युक्रेनमा युरोपियन युनियनले महत्वपूर्ण मानेका ३४ खनिजमध्ये २२ को भण्डारण रहेको छ । 

  •   लिथियम र कोबाल्ट, जसलाई रिचार्जेबल ब्याट्री उत्पादनमा प्रयोग गरिन्छ ।
  •   स्क्यान्डियम, जसलाई अन्तरिक्ष उडान उद्योगका पाटपुर्जा बनाउन प्रयोग गरिन्छ ।
  •    ट्यान्टालम, जसलाई इलेक्ट्रोनिक उपकरणमा प्रयोग गरिन्छ ।
  •   टाइटानियम, जुन अन्तरिक्ष उडान, चिकित्सा, अटोमोबाइल र समुद्री उद्योगमा आवश्यक हुन्छ ।
  •    निकेल अयस्क, म्याग्निज, बेरिलियम, हाफ्नियम, म्याग्नेसियम, जिरकोनियम र अन्य खनिजलाई अन्तरिक्ष उडान, रक्षा र परमाणु उद्योगमा प्रयोग गरिन्छ ।

हाल चीनले यी खनिजको विश्व आपूर्ति शृंखलामा वर्चस्व जमाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले महत्वपूर्ण मानेका ५० खनिजमध्ये २६ खनिजका लागि चीन अमेरिकाको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो । यही कारण ट्रम्पले गत साता युक्रेनलाई दिइएको अर्बौं डलरबराबरको हतियार र सहयोगको क्षतिपूर्तिस्वरूप अमेरिकाले युक्रेनका दुर्लभ खनिजको ५० प्रतिशत हिस्सा पाउनुपर्छ भनेका थिए । तर, समस्या के छ भने युक्रेनका कम्तीमा ४० प्रतिशत खनिज पूर्वी डोनेत्स्क र लुहान्स्क क्षेत्रमा छन्, जुन अहिले रुसी कब्जामा छन् (र, केही स्रोतले यो मात्रा ७० प्रतिशतसम्म हुन सक्ने बताउँछन्) ।

ट्रम्प युरोपियन युनियनका पारम्परिक साझेदारसँग सम्बन्धविच्छेद गरेर भए पनि युक्रेनको विशाल खनिजमा पहुँच सुरक्षित गर्न चाहन्छन्

युक्रेनको क्षेत्रीय अखण्डताप्रति चिन्तित राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले आफ्ना खनिज स्रोतको आधा हिस्सा दिनुपर्ने अमेरिकी मागलाई सार्वजनिक रूपमै अस्वीकार गरेका छन् । विभिन्न रिपोर्टअनुसार अमेरिकी प्रस्तावमा सुरक्षा ग्यारेन्टी समावेश छैन, बरु भविष्यमा प्राप्त हुने सहयोग भुक्तानीबारे अस्पष्ट रूपमा उल्लेख गरिएको छ । जेलेन्स्कीको प्रतिक्रियामा ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजले ‘राष्ट्रपति जेलेन्स्कीले ट्रम्प प्रशासनले युक्रेनलाई प्रस्तुत गरेको उत्कृष्ट अवसरलाई देख्न सकिरहेका छैनन्’ भनेका छन् । 

कस्तो सम्झौता हुन सक्छ ? :  युक्रेनसम्बन्धी शान्ति वार्ताअघि उठ्ने ठुला प्रश्नमध्ये एक व्यापारिक सोच भएका ट्रम्प पुटिनको प्रतिप्रस्ताव स्विकार्न इच्छुक होलान् वा हुन्नन् भन्ने हो । हाल रुसले खनिजले भरिपूर्ण पूर्वी युक्रेनको ठुलो भूभाग नियन्त्रणमा लिएको छ । यस्तो अवस्थामा पुटिन अमेरिकालाई विशेष महत्वपूर्ण खनिज आपूर्ति सम्झौता प्रस्ताव गर्न इच्छुक हुन सक्छन्, तर यसका लागि अमेरिकाले औपचारिक रूपमा युक्रेनको सन् २०१४ अगाडिको सिमानामा पुनः दाबी नगर्ने र युक्रेनलाई नेटोमा सामेल हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ ।

यसैबिच युक्रेनले निरन्तर पाउँदै आएको समर्थनलाई थप सुनिश्चित गर्न युरोपेली देशलाई खनिज आपूर्तिको छुट्टै सम्झौता प्रस्ताव गर्ने सम्भावना पनि देखिएको छ । प्रधानमन्त्री डेनिस स्मिहालले युरोपियन युनियनसँग संयुक्त व्यापार स्थापना गर्ने युक्रेनको तयारी रहेको बताएका छन् । उनले ‘हामी युरोपेली बजारमा रुसी टाइटानियमको विकल्प बन्न सक्छौँ, जसले युरोपियन युनियनका नागरिक उद्योग तथा उन्नत सैन्य प्रविधिको विकासमा योगदान पुर्याउनेछ’ भनेका छन् ।यसबाहेक उनले युक्रेनको पुनर्निर्माण परियोजना सम्पूर्ण युरोपियन युनियनका लागि लाभदायक हुन सक्ने पनि बताएका छन् ।

युरोपेली आयोगले युक्रेनलाई यी खनिज सामग्री युरोपियन युनियनलाई निर्यात गर्न प्रोत्साहित गर्ने नीति सिफारिस गरेको छ । प्रतिक्रियास्वरूप किभका अधिकारीले युक्रेनलाई युरोपियन युनियनको स्रोत रणनीतिमा एकीकृत गर्न आवश्यक नियामक तथा कानुनी उपाय तयार गर्न सुरु गरेका छन् । खनिज स्रोतमा पहुँच चाहने विभिन्न शक्तिका चासोका कारण युक्रेन अत्यन्त जटिल र कठिन भू–राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । युक्रेनको भविष्यलाई लिएर युरोपियन युनियन र अमेरिकाबिच बढ्दो विवादको पृष्ठभूमिमा राष्ट्रपति जेलेन्स्कीले अमेरिकाभन्दा युनियनलाई रोज्नु सही ठान्न सकिन्छ । तर, प्राचीन ग्रिक इतिहासकार थुसिडाइडसले भनेझैँ परिस्थिति युक्रेनको विपक्षमा पनि जान सक्छ, अर्थात् ‘संसारको नियमअनुसार समान शक्तिबिच मात्र न्यायको प्रश्न उठ्छ, यसबाहेकको अवस्थामा शक्तिशालीले आफूले सक्ने गर्छन् र कमजोरले आफूले सहनैपर्ने सहन्छन् ।’
(कोरोलेभ राजनीतिशास्त्र एवं अन्तर्राष्ट्रिय सम्बन्धका वरिष्ठ लेक्चरर हुन्) – द कन्भर्सेसनबाट
 

सुझावित समाचार