ट्रम्प युगमा जलवायु परिवर्तनको सामना

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

जलवायु परिवर्तनलाई रोक्नु हाम्रो पहुँचबाहिर हुन सक्छ, तर यसको लागत प्रभावकारी ढंगले व्यवस्थापन गर्न असम्भव भने छैन

जलवायु परिवर्तनको यथार्थलाई अनदेखा गर्न सकिँदैन । प्रत्येक वर्ष अघिल्लो वर्षका तुलनामा तापमान बढ्दै गएको छ । गत महिना अहिलेसम्मकै सबैभन्दा गर्मी जनवरी थियो । विश्वले १.५ डिग्री सेल्सियस तापमान वृद्धिको सीमालाई पार गरिसकेको छ, जबकि १.५ डिग्री सेल्सियस तापमान वृद्धि यो शताब्दीको मुख्य चुनौती मानिएको थियो । जलवायु परिवर्तन रोक्ने विश्वव्यापी प्रयास असफल भइरहेका छन् । विकासशील राष्ट्र अर्थात् दक्षिणी गोलार्धले धनी राष्ट्रलाई यसको समाधानको जिम्मेवारी दिएको छ । र, चीनजस्ता देशले आर्थिक वृद्धिलाई प्राथमिकता दिइरहेका छन् । 

ह्वाइट हाउस फर्किएपछि डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट हात झिके, उत्सर्जन लक्ष्य खारेज गरे र जलवायुसम्बन्धी कार्यक्रम अन्त्य गरे । स्मरण रहोस्, अमेरिका पहिल्यै तेल र ग्यास उत्पादनमा अग्रणी छ । आर्थिक कारण मात्र नभई सांस्कृतिक र राजनीतिक कारणले पनि धेरै अमेरिकीले जलवायु चेतावनी अस्वीकार गर्छन् । उनको प्रशासनका प्राथमिकतासँग मेल खाने केही पहलले जलवायु परिवर्तनलाई केही हदसम्म सुस्त पार्न सक्छ । तर, एउटै तर्क दोहोर्याएर वा उस्तै नीति अपनाएर जलवायु परिवर्तन समाधान गर्न सकिँदैन । राजनीतिक यथार्थलाई स्विकार्ने नयाँ दृष्टिकोण आवश्यक छ । जलवायु परिवर्तन रोक्न सकिँदैन । तर, व्यवस्थापन भने गर्न सकिन्छ, किनभने वैश्विक उत्सर्जन बढिरहेको छ र जीवाश्म इन्धन अझै पनि ऊर्जा स्रोतका रूपमा हाबी छन् । जनसंख्या वृद्धि, विकास र एआई प्रविधिका लागि आवश्यक ऊर्जाको माग बढ्दै जाँदा यथार्थपरक रणनीति अनिवार्य छ ।

ऊर्जा सहअस्तित्व अपरिहार्य छ, किनभने जीवाश्म इन्धन अझै दशकौँ टिक्नेछ । विकसित देशले कोइलाको उपभोग कम गरिरहेका छन् । विकासोन्मुख देशले सफा प्राकृतिक ग्यासतर्फ छिटो रूपान्तरण गर्नुपर्छ । मिथेन उत्सर्जन नियन्त्रण र नवीकरणीय ऊर्जा विस्तारका लागि सार्वजनिक–निजी साझेदारी आवश्यक छ । अमेरिकाले हरित प्रविधिमा चीनलाई हाबी हुन नदिन प्रतिस्पर्धा गर्नुपर्छ, जहाँ निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ । नीति–निर्माताले अनुकूलन र सहनशीलतालाई प्राथमिकता दिनुपर्छ, बलियो भवन संहिता, क्षेत्रीय योजना र पूर्वाधारमार्फत जलवायु जोखिम न्यूनीकरण गर्नुपर्छ । यस्ता लगानीले रोजगारी सिर्जना गर्दै बसोवासलाई सहज बनाउनेछ । ऊर्जा ग्रिड, पानी प्रणाली र संयन्त्रको प्रभावकारिता बढाउने उपाय अपनाइनु आवश्यक छ, जहाँ इलोन मस्कको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी’ (डोज) ले पनि भूमिका खेल्न सक्छ ।

व्यावहारिक जलवायु नीतिले विश्वसनीय सफा ऊर्जाका लागि आणविक ऊर्जालाई अनिवार्य मान्नुपर्छ, जुन नयाँ रियाक्टरको अनुमति प्रक्रिया सरल बनाएर प्राप्त गर्न सकिन्छ । चीनले पाँच वर्षभन्दा कम समयमा आणविक प्लान्ट निर्माण गरिरहेको छ । अमेरिकाले पनि यस्तै गर्न सक्नुपर्छ । नवीकरणीय परियोजना, महत्वपूर्ण खनिज खानी र ऊर्जा पूर्वाधार विकासमा रहेका अवरोध हटाउनुपर्छ, जहाँ डोजले भूमिका खेल्न सक्छ । प्रत्यक्ष हावा समेट्ने प्रविधि, कार्बन भण्डारण  र प्रयोग गर्ने प्रणालीमा लगानी आवश्यक छ । आर्थिक वृद्धिमा कुनै सम्झौता गर्न आवश्यक पर्दैन ।

वैचारिक बहसमा नलागी आगलागी, बाढी र अन्य प्रकोपबाट समुदाय र सहरलाई थप सुरक्षित बनाउन के गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्दा जलवायु परिवर्तनका प्रभावलाई व्यवस्थापन गर्न मद्दत पुग्न सक्छ । धार्मिक नेता, शिक्षक र व्यापारीले नयाँ जलवायु सहयोगीलाई समेट्न पनि मद्दत पुर्याउन सक्छन् । धेरै युवा यसतर्फ अघि बढिसकेका छन् । यसैबिच विश्वव्यापी प्रयासलाई पुनर्गठित गर्न आवश्यक छ । राष्ट्र संघका वार्षिक जलवायु परिवर्तन सम्मेलन पर्याप्त प्रभावकारी छैनन् । मुलुकका साना समूह अर्थात् ‘मिनी ल्याटरलिज्म’ले जलवायु चुनौतीका विशिष्ट पक्षमा ध्यान केन्द्रित गरी त्यसमै महत्वपूर्ण सरकार एवं कम्पनीलाई संलग्न गराउनुपर्छ । व्यापार नै एक नयाँ एक नमुना हो, किनभने अन्य वैश्विक प्रयास असफल भएका छन् र क्षेत्रीय तथा साना समूहले राम्रो परिणाम दिएका छन् । 

समुद्र र वनको प्रकृतिमा आधारित जलवायु व्यवस्थापन पनि आवश्यक छ, किनभने यसले सबैभन्दा शक्तिशाली कार्बन सोस्ने सिंक (भण्डारण) लाई जोगाउने र विस्तार गर्ने काम गर्छ । वनस्पतीकरणलाई प्रोत्साहन गर्न र वनविनाशलाई रोक्न वा सुस्त बनाउन सबै प्रकारको सहायता उपलब्ध गराउनुपर्छ । ट्रम्प आफूलाई पर्यावरणवादी मान्छन् । यो उनका लागि काम गर्न सक्ने एक उपाय हो । अन्ततः सौर्य भू–इन्जिनियरिङ, अथवा सूर्यको विकिरणलाई अन्तरिक्षमा फर्काउनेबारे थप अन्वेषण गर्न आवश्यक छ । अमेरिकी राष्ट्रिय प्रयोगशालामार्फत संघीय लगानीले जिम्मेवार विकास र शासकत्व सुनिश्चित गर्न सक्छ । विवादास्पद भए पनि यसले ट्रम्पलाई आकर्षित गर्ने साहसी एवं खेल परिवर्तन गर्ने पहलको प्रतिनिधित्व गर्नेछ । सफल भयो भने सौर्य भू–इन्जिनियरिङले एक दिन जलवायु परिवर्तनलाई महत्वपूर्ण रूपमा सुस्त पार्न या रोक्न सक्छ र केही विद्यमान प्रभावलाई पनि सम्बोधन गर्न सक्छ । तत्काललाई यसको सम्भावना कम भए पनि यो प्रविधिले वर्तमान र योजनाबद्ध न्यूनीकरण तथा अनुकूलन प्रयासलाई सहयोग गर्न सक्छ ।

यसबाहेकका अन्य त्यस्ता विचार पक्कै पनि वाञ्छनीय र सम्भव छन् । हामीले एउटा असफल दृष्टिकोणमा अडिग भएर जलवायु संकट समाधान गर्न सक्दैनौँ । जलवायु परिवर्तनलाई रोक्नु हाम्रो पहुँचबाहिर हुन सक्छ । तर, यसलाई लागत–प्रभावकारी ढंगले व्यवस्थापन गर्न असम्भव भने छैन ।

(हास काउन्सिल इन फरेन रिलेसन्सका इमिरेटस् अध्यक्ष हुन्, किसेन न्युयोर्क विश्वविद्यालयकी विश्व मामिलाकी सह–प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट
 

सुझावित समाचार