सय दिनमा प्रधानमन्त्री ओलीको सम्बोधन : कांग्रेस–एमाले सरकार पूरै कार्यकाल टिक्छ

‘हनिमुन’ अवधिमा सरकारले प्रतिबद्धताका ७०% काम पूरा गरेको दाबी

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै संसद्का प्रमुख दुई ठुला दल कांग्रेस–एमाले मिलेर बनेको अहिलेको बलियो सरकारलाई कसैले ढाल्न नसक्ने सन्देश दिएका छन् । विपत् व्यवस्थापनदेखि सुशासन र अर्थतन्त्रको संकट समाधानलगायतका एजेन्डामा सरकार चुक्दै गएपछि विपक्षी दलबाट मात्र होइन, सत्तापक्षभित्रै आलोचना बढिरहेका वेला प्रधानमन्त्री ओलीले त्यस्तो सन्देश दिएका हुन् । 

सयदिने ‘हनिमुन’ अवधिमा सरकारले प्रतिबद्धताका ७० प्रतिशत काम पूरा गरेको दाबी गर्दै बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कांग्रेस–एमालेजस्ता हैसियत भएका र इतिहास बोकेका पार्टीको सरकार ढाल्ने दिउँसै सपना नदेख्न चेतावनी दिए । प्रधानमन्त्री ओलीले सरकारको निरन्तरतालाई लिएर निरन्तर अभिव्यक्ति दिएका छन् । कांग्रेसले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने ओलीको चाहनामा हालै मात्र ‘ब्रेक’ लगाएको छ । 

माओवादी अध्यक्ष प्रचण्डले अस्वाभाविक रूपमा बिचौलियाहरूले बनाएको सरकार आफँै ढल्ने अभिव्यक्ति दिएको तथा सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका अध्यक्ष रवि लामिछानेले सरकार हटाउने वेला आएको बताइरहेका वेला प्रधानमन्त्री ओलीको पछिल्लो भनाइ आएको छ । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ र भोलि बिहानै ढल्छ भन्नेजस्ता अफवाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो,’ ओलीले विपक्षी पार्टीहरूतर्फ लक्षित गर्दै भने, ‘कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका र अन्य दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ ।’ 

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंलगायतका समूहका आन्दोलनप्रति पनि टिप्पणी गरेका छन् । साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेल सिर्जना गरेर देशलाई प्रतिगमनतिर लैजाने प्रयास भइरहे पनि त्यस्तो प्रयासलाई सरकारले असफल पार्ने उनको भनाइ छ । ‘अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको छ । तर, नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन,’ ओलीले भने, ‘सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्नेछ । हाम्रा सुन्दर, शिष्ट र समृद्ध सामाजिक–सांस्कृतिक मूल्यहरूलाई कमजोर पार्ने प्रयत्नलाई असफल बनाउनेछ ।’

संसद्मा प्रतिबद्धता जनाएअनुरूप नै सहकारीको रकम ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याएर भ्रष्टाचारीउपरको कानुनी कारबाही अगाडि बढाएको प्रधानमन्त्रीले बताए । ‘संसद्बाट विश्वासको मत लिँदै गर्दा मैले भनेको थिएँ– कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीउपर कानुनी कारबाही अघि बढाउँछौँ । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ,’ उनले भने, ‘आज यहाँ उभिएर म यो भन्ने ठाउँमा आइपुगेको छु– सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याएको छ । सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु भएको छ ।’ 

अहिलेसम्म सहकारी ठगीमा संलग्न ६ सयभन्दा बढीलाई कानुनी कारबाही गरिएकोमा ५७५ भन्दा बढी जेलमै रहेको तथ्यांकसमेत उनले प्रस्तुत गरे । त्यस्तै, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइन लागिएको पनि बताए । 

६ साउनमा संसद्मा विश्वासको मत लिने क्रममा सरकारले अघि सारेको पाँच प्राथमिकताअन्तर्गत काम गरिरहेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सय दिनभित्र गर्ने गरी तय गरिएको ७० प्रतिशत काम सरकारले पूरा गरेको दाबीसमेत गरे । प्रधानमन्त्री र मन्त्रीबिच सम्झौता भएका २७४ मध्ये सय दिनभित्र १८५ वटा काम पूरा भएको दाबी गर्दै उनले प्राकृतिक विपत्ति नभइदिए शतप्रतिशत नै काम गर्न सकिने कुरा उनले सम्बोधनमा उल्लेख गरे । ‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गथ्र्यो,’ ओलीले भने । 

१७ वर्षअघि थालिएको शान्ति प्रक्रियालाई सयदिने अवधिमै निष्कर्षमा पुर्याइएको महत्वपूर्ण कामका रूपमा प्रधानमन्त्रीले उपलब्धिमा चित्रित गरेका छन् । ‘यस अवधिमा १७ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्षमा पुर्याउन हामी सफल भएका छौँ । त्यस सिलसिलामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणीकरण भएको छ । आयोग गठनका लागि सिफारिस समिति बनेको छ र त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश हो,’ प्रधानमन्त्रीले उपलब्धि सार्वजनिक गर्दै भने । 

सय दिनभित्र सरकारले ३५ जिल्लाका ३० लाखमध्ये लगभग १५ लाख दुग्ध किसानलाई ६० करोड भुक्तानी दिइएको र वर्षौँदेखि अनुदान रकम पाउन बन्चित करिब ७५ हजार उखु किसानलाई अनुदान रकम उपलब्ध गराइएको, कृषकलाई बिमा भुक्तानीका लागि ८० करोड रुपैयाँ बिमा प्राधिकरणमा पठाएर हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिएको ओलीले बताए । 

त्यस्तै, लामो समयदेखि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीलाई ६ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी दिइएको, उद्योग मन्त्रालयले १६५ जना युवालाई खुला आवेदनको माध्यमबाट विनाधितो २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा प्रवाह गरेपछि उनीहरूले उद्यम सुरु गरेर कर्जाको साँवा/ब्याजको किस्ता भुक्तानीसमेत सुरु गरेको र आगामी मसान्तभित्र पाँच हजार १५८ जनाबाट स्टार्टअप उद्यमी छनोट गरी थप कर्जा प्रवाह गरिने पनि उनले बताए । 

प्राकृतिक विपत्तिपछि सरकारले उद्धार, राहत र पुनर्स्थापनासँगै क्षतिग्रस्त सडक र भौतिक संरचना पुनर्निर्माणको काम तदारुकताकै साथ अगाडि बढाइरहेको उनले दाबी गरे । ‘विपत्तिबाट प्रभावित नागरिकको परिवार लाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर हामीले काम अघि बढायौँ । पीडित परिवारको राहत, घाइतेहरूको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनस्र्थापनमा सरकारलाई केन्द्रित गर्यौँ,’ उनले भने । 

बाढीपहिरोका कारण मृत्यु भएका ३९१ जना परिवारलाई दुई लाखका दरले राहत दिइएको, बाढीपहिरोबाट प्रभावित दुई हजार ५५५ परिवारलाई चार करोड ५० लाख रुपैयाँ तत्काल राहत प्रदान गरिएको तथा संकटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको ओलीको भनाइ छ । 

अर्थतन्त्रमा सुधार हुँदै गएको दाबी गर्दै उनले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठन भएको उनको भनाइ छ । सय दिनको अवधिमा दुई सयवटा उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको दाबी पनि गरे । त्यस्तै, लामो समयदेखि गिरेको सेयरबजार प्राकृतिक विपत्तिको प्रतिकूलताका बिचमा पनि प्रगतिकै लयमा देखिएको, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा टर्मिनल भवन निर्माण कार्य अगाडि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबिच सम्झौता सम्पन्न भएको विषयलाई पनि ओलीले उपलब्धिकै रूपमा चित्रण गरे । त्यस्तै, असोज मसान्तसम्म संघीय सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशतले वृद्धि भई करिब ३२९ अर्ब रुपैयाँ पुगेको र राजस्व परिचालन १३.३ प्रतिशतले वृद्धि भई करिब २४८ अर्ब रुपैयाँ पुगेको पनि प्रधानमन्त्रीको दाबी छ । 

सय दिनकै बिचमा प्रादेशिक अस्पतालमार्फत उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलन उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको उनको भनाइ छ । तीनवटा प्रदेशमा मात्रै उपलब्ध रहेको क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरेको र १९ वटा संघीय अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरी १८ संघीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली लागू गरिएको पनि उनले बताए । 

त्यस्तै, सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती र प्रशासनिक काममा हुने झन्झट र नागरिक सेवालाई मध्यनजर गर्दै नयाँ कामको थालनी गरेको भन्दै उनले अबदेखि सवारीचालकले ट्रायल पास गर्नासाथ नागरिक एपमा नै लाइसेन्स पाउने, सवारी नियम उल्लंघनको जरिवाना सम्बन्धित स्थलबाटै गर्न सकिने व्यवस्था गरेको उनले बताए । प्रधानमन्त्री ओलीले कुनै पनि सरकारी सेवा लिन कार्यालय धाउनु नपर्ने, कर्मचारी भेट्नु नपर्ने र घरमै बसेर सबै सेवा लिन सक्ने व्यवस्था गर्न लागेको महत्वाकांक्षी उद्देश्यसमेत सुनाए । 

सरकारी कार्यालयको काम सेवाग्राहीले कुन अवस्थामा छ भन्ने जानकारी मोबाइलबाटै जानकारी पाउने व्यवस्था गर्न लागेको, नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम लागू भएका ५८ नापी कार्यालयमा अनलाइनमार्फत सेवा ‘ट्र्याकिङ’ प्रणाली लागू भएको, वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको परिवारलाई यसअघि दिने गरिएको क्षतिपूर्ति रकम सात लाखबाट १० लाख पुर्याइएको पनि उनले सम्बोधनमा उल्लेख गरे । 

त्यस्तै, यसबिचमै बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यातका लागि त्रिपक्षीय विद्युत् बिक्री सम्झौता गरिएको, फास्ट ट्र्याकको मकवानपुरको धेद्रे सुरुङ ब्रेक थ्रु भएको, नागढुंगा मुख्य सुरुङको लाइनिङ पनि सफलतापूर्वक सम्पन्न भएको, यसबिचमै चार हजार ३८ किलोमिटर सडक मर्मत गरिएको छ र ३२.५ किलोमिटर सडक कालोपत्रे गरिएको विषयलाई पनि उपलब्धिकै रूपमा सार्वजनिक गरे । विद्युत् उत्पादनको क्षेत्रमा पनि उपलब्धि हासिल भएको भन्दै उनले माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनामा दुईवटा टर्बाइनसहित मेकानिकल पार्टस्को मर्मत–सम्भार गरी ३० मेगावाट विद्युत् उत्पादन सुरु भएको पनि बताए । 
 

See More On

सुझावित समाचार