राजमार्ग र सडक खुलाएर जनजीवन सहज बनाउन सरकारलाई एमालेको गम्भीर ध्यानाकर्षण

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण

नेकपा एमालेले दसैँको संघारमा तत्काल अवरुद्ध राजमार्ग र सडकहरू खुलाएर जनजीवन सहज बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

तीन दिनको अविरल वर्षाले पुर्याएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एमाले केन्द्रीय कार्यालयको आइतबारको बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।

‘नेपालीहरूको महान् चाड बडादसैँ नजिक आइरहेको छ। चाडपर्वको नजिक ठुलो प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ। पुल, सडक भत्किएका छन्, विद्युतलाइन र खानेपानी अवरुद्ध भएका छन्,’ महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत भनेका छन्, ‘यो अवस्थालाई मध्यनजर गरी अवरुद्ध सडकहरू खोल्न, मर्मत गर्न, नेपाललाई तिब्बतसँग जोड्ने अरनिको राजमार्गको लार्चाको पुल, बिपी राजमार्गको पुल, मदन भण्डारी राजमार्गको पुललगायतका देशका विभिन्न भागमा बाढीले बगाएको हुँदा पुलहरू पुनर्निर्माण गर्न, जनजीवनलाई सहज बनाउन नेपाल सरकारका सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’

त्यस्तै, मृतक परिवारलाई राहत दिन, बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क औषधि उपचार गर्न र घरबारविहीनहरूको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्था गर्न पनि बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

त्यस्तै, राहत, उद्धार र पुनर्स्थापनाको काममा खटिन देशभरका कमिटीहरूलाई निर्देशितसमेत गरेको छ।

सुझावित समाचार