उपनिर्वाचनको कार्यतालिका : २ मंसिरमा मनोनयन, १६ मंसिरमा मतदान

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । बिहीबार निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार २ मंसिरमा उम्मेदवारी मनोनयन हुनेछ । 

कार्यतालिकाअनुसार २ मंसिरको बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । 

३ मंसिरको बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी आह्वानको समय रहेको छ । ४ मंसिरको साँझ ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । 

५ मंसिरको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार सोही दिन दिउँसो ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । 

मतदानका लागि १६ मंसिरको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समयावधि तोकिएको आयोगले जनाएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट मौन अवधि सुरु हुने गर्दछ । आयोगका अनुसार १३ मंसिरको राति १२ बजेबाट प्रचारप्रसारमा रोक लाग्नेछ । 

निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन र ३० वडाध्यक्ष गरी ३९ पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन प्रक्रियाअनुसार बुधबारबाट दल दर्ता भइरहेको छ । परिवर्तित राजनीतिक परिस्थितिमा हुन लागेको उपनिर्वाचनलाई दलहरूको शक्ति परीक्षणको रूपमा हेरिएको छ ।

कांग्रेसले बोलायो कार्यसम्पादन बैठक
कांग्रेसले उपनिर्वाचनलगायतका विषयमा छलफलका लागि आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार उपनिर्वाचनमा दल दर्ताको अख्तियारी दिनेलगायतका विषयमा आवश्यक निर्णयका लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक देउवानिवास बुढानीलकण्ठमा बस्नेछ । 

सुझावित समाचार