हमास नेता सिनवार पक्रन इजरायलले गरिरहेको संघर्ष

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

सिनवारको योजनामा भएको अक्टोबर ७ को आक्रमणको जवाफमा इजरायलले गाजा क्षेत्रमा व्यापक आक्रमण गरिरहेको छ

अक्टोबर ७ मा घरबाट अपहरण गरी गाजा लगिएका इजरायली बन्धकको एक समूहले केही दिनपछि नै अपहरणको मुख्य योजनाकारको साक्षात्कार पाए । अपहरणपछि उनीहरूलाई राखिएको गाजाको सुरुङमा आफैँ आएका थिए, आक्रमणका मुख्य योजनाकार याह्या सिनवार । सिनवार इजरायलीहरूका लागि अपरिचित व्यक्ति होइनन्, जसको फोटो पटक–पटक त्यहाँका पत्रपत्रिका तथा टेलिभिजनमा आइरहने गर्छ । उनीहरूले खैरो दाह्री, कालो बाक्लो आँखीभौं भएका सिनवारलाई चिनिहाले । सिनवारले त्यहाँ बन्धकलाई उनीहरूले बुझ्ने भाषा अर्थात् हिब्रुमा सम्बोधन गरे, जुन उनले २२ वर्ष इजरायली जेलमा रहँदा सिकेका थिए । उनले बन्धकहरूलाई उनीहरू सुरक्षित रहेको र चाँडै इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीसँग साटफेर हुने बताएका थिए । 

सोही समयतिरको हमासको सुरक्षा क्यामेरामा रेकर्ड भएको एक भिडियोमा सिनवार एक साँघुरो सुरुङमा उनका श्रीमती र तीन बालबच्चाको पछि–पछि हिँडिरहेका देखिएका थिए । सो भिडियो इजरायली सेनाले केही महिनापछि मात्र भेटेको थियो । इजरायलले भेटेको सिनवारको सबैभन्दा पछिल्लो दृश्य प्रमाण त्यही नै हो । सिनवारको योजनामा भएको अक्टोबर ७ को आक्रमणको जवाफमा इजरायलले गाजा क्षेत्रमा व्यापक आक्रमण गरिरहेको छ । त्यसले ठुलो क्षति पुर्याइसकेको छ । गाजाका स्वास्थ्य अधिकारीका अनुसार इजरायली कारबाहीमा ४१ हजार प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश आमसर्वसाधारण छन् । त्यस्तै ९० हजार गाजावासीले घर गुमाए छन् भने झन्डै २३ लाख नागरिक भोकमरीको संघारमा छन् । तर, यति विनाशका बाबजुद इजरायलको मुख्य निसाना भने अझै सकुसल छन् । 

त्यसबाहेक, इजरायली सेनाको विशेष कमान्डोले उन्नत प्रविधि र विशेष कार्यदलको सहयोगले झन्डै एक वर्षदेखि सिनवार पक्रने प्रयास गरिरहेको छ । खोज अभियानमा इजरायली गुप्तचर अधिकारीको एउटा कार्यदल, इजरायल डिफेन्स फोर्सेस(आइडिएफ)को विशेष अप्रेसन एकाइ, सैन्य इन्जिनियर र गुप्चतर सम्मिलित छन् । तिनको कारबाहीलाई ‘सबाक’ भनिने इजरायली सुरक्षा एजेन्सीले समन्वय गरिरहेको छ । तथापि, यस अभियानले हालसम्म आफ्नो निसानाको भेउसमेत पाउन सकेको छैन । ‘युद्धको प्रारम्भमा कसैले मलाई सिनवार ११ महिनापछि पनि जीवित रहनेछन् भनेको भए म अचम्मित हुने थिएँ,’ इजरायली सैन्य गुप्चतर(अमान)का प्यालेस्टिनी मामिला शाखाका पूर्वप्रमुख माइकल मिलस्टिनले भने, ‘तर, सिनवारले यस प्रत्याक्रमणका लागि एक दशकदेखि तयारी गरिरहेका थिए भनेर बिर्सिनुहुँदैन । फेरि गाजाको जमिनमुनि हमासका सुरुङ सञ्जालको विशाल आकार, लम्बाइ र जटिलता देखेर इजरायली गुप्तचर आफैँ अचम्मित बनेका छन् ।’

गाजाको जमिनमुनि हमासले खनेको सुरुङ सञ्जालको लम्बाइ ५०० किमि रहेको आइडिएएफको प्रक्षेपण छ । मोसादका पूर्वउपनिर्देशक राम वेन–बरकका अनुसार बन्धकका कारण पनि इजरायलले धेरै होसियारी देखाइरहेको छ । ‘यदि यो अवरोध नभएको भए हामीले उनलाई सजिलै भेटिसकेका हुने थियौँ,’ 

वेन–बरकले भने । तथापि बन्धकको उपस्थितिले आइडिएफलाई गाजामा भारी बम खसाल्न रोकेको छ । इजरायलले हमासका नेता लुकेको सम्भावित क्षेत्रमा ९०० केजीका शक्तिशाली बम खसालिरहेको छ । नेतन्याहु सरकारले यस युद्धको सन्दर्भमा लिएका दुई प्रमुख लक्ष्यमध्ये हमासको विनाशलाई बन्धकको रिहाइभन्दा उच्च प्राथमिकतामा राखेकोझैँ देखिन्छ । 

सिनवारको खोज–अभियानमा संलग्न खोजकर्तासँग विशेषज्ञताको कुनै कमी छैन । इजरायलले स्थापनाकालदेखि नै नेतालक्षित हत्या अभियानलाई आफ्नो मुख्य रणनीति बनाउँदै आएको छ । यसैले दोस्रो विश्वयुद्धपछि इजरायलले अन्य कुनै पश्चिमी देशले भन्दा धेरै नेतालक्षित हत्या गरिसकेको छ । ‘कम्ब्याट इन्जिनियरिङ कोर्प’को विशेष शाखा ‘यायालोम’सँग पश्चिमी सेनाका उसका समकक्षीभन्दा धेरै सुरुङ युद्धको अनुभव छ । सुरुङको खोजीका लागि इजरायलले अमेरिका निर्मित जमिनमुनिको सुरुङ पत्ता लगाउने अति उन्नत उपकरण प्रयोग गरिरहेको छ । इजरायलको सञ्चार गुप्तचर एकाइ ८२०० विद्युतीय युद्धमा विश्वकै अग्रणी संस्था हो । यसले दशकौँदेखि हमासको सञ्चार कुराकानीमा पहुँच पाउँदै आएको छ । 

सन् २००५ मा गाजाबाट बाहिरिएपछि ‘सिन बेट’ले गाजामा रहेका उसका स्रोतसमेत गुमायो । तर, अक्टोबर ७ पछि गाजामा स्थल आक्रमण सुरु गरेसँगै इजरायलले पुनः सूचनादाताको सञ्जाल पुनर्निर्माण गर्न उलेख्य मिहिनेत लगाएको छ । हिंसाबाट उम्कन व्यग्र प्यालेस्टिनीहरूमध्येबाट उसले सूचनादाता भर्ना गरिरहेको छ । यी सबका बाबजुद इजरायलले पछिल्लो ११ महिनामा एक पटक मात्र सिनवारको नजिक पुगेको थियो । यस वर्षको सुरु(जनवरी)मा सिनवार उनको गृहनगर ‘खान युनुस’ मुनिको बंकरबाट भर्खरै निस्केएपछि टास्कफोर्स त्यहाँ पुगेको थियो । इजरायली कार्यदलले उनको कपडा र १० लाख सेकेल्स (दुई लाख ६४ हजार अमेरिकी डलरभन्दा बढी) नगद रकम फेला पारेको थियो । 

पैसासमेत छाडेर भागेकाले सिनवार हतारमा उम्किएको संकेत गर्छ । सिनवारको खोजमा संलग्न कार्यदलको अनुमानमा उनले लामो समयदेखि विद्युतीय सञ्चार माध्यमको प्रयोग गर्न छाडिदिएका छन्, त्यस्ता उपकरणमाथि शत्रुको पहुँच जानेर । आखिर, सिनवारले इजरायली जेलमा हुँदा इजरायली भाषा(हिब्रु)मात्र होइन, तिनको क्षमता र संस्कृति पनि अध्ययन गरेका थिए । तथापि सिनवार अहिले पनि बाह्य विश्वसँग सम्पर्कमा नरहेका भने होइनन् । कायरो र दोहामा भएका युद्धविरामसम्बन्धी लामा–लामा वार्ता सिनवारका अडानसम्बन्धी सन्देश हासिल गर्नकै लागि रोकिने गरेका छन् । 

एक बलियो सम्भावना, उनले सन्देशबाहक व्यक्तिमार्फत यो काम गरेका हुन सक्छन् । त्यसका लागि उनले आफूले अति विश्वास गर्ने उनका भाइ मोहम्मदजस्ता (जो गाजामा शीर्ष सैन्य कमान्डर छन्) सहयोगीको सानो समूह प्रयोग गरिरहेका हुन सक्छन् । सिनवारको खोजीमा सक्रिय कार्यदल उनको यही सन्देशबाहकमाथिको निर्भरता पक्राउको कारण बन्न सक्ने विश्वासमा बसेका छन् । बन्धक लेनदेनका लागि चलिरहेको वार्तासम्बन्धमा आफ्नो अडान प्रेषित गर्न सन्देशबाहकमार्फत सञ्चार गरिरहँदा कुनै पनि चुकले सन्देशबाहक इजरायली सम्पर्कमा पुग्न सक्ने सम्भावना धेरै छ । अमेरिकी खोजकर्ताहरू यस्तै सन्देशबाहककै सहायताले पाकिस्तानको अबोटाबादमा लुकिबसेका ओसामा बिन लादेनसम्म पुगेका थिए । ‘या त सन्देशबाहकलाई पछ्याउने क्रममा सिनवारसम्म पुगिनेछ या सन्देशबाहक आफैँ इजरायली एजेन्ट बन्न तयार हुन सक्छन्,’ गुप्तचरसम्बन्धी थुप्रै पुस्तक लेखेका योस्सी मेलम्यानले भने । 

केहीले भने सिनवार गाजाबाट बाहिरिसकेको आकलनसमेत गरेका छन् । यस्तो शंका गर्नेहरू उनी राफा सिमानाबाट इजिप्टेली भूभागतर्फको सुरुङमा बसिरहेका हुन सक्ने बताउँछन् । तर, सिनवारको विगतलाई नजिकबाट अवलोकन गर्नेहरू यस सम्भावना निकै क्षीण भएको मान्छन् । ‘व्यक्तिगत रूपमा मलाई यसको सम्भावना अत्यन्त न्यून छ जस्तो लाग्छ । उनको स्वभाव हेर्दा उनी भाग्नुभन्दा गाजामै बसेर मर्नेछन्,’ मिलस्टिनले भने । पूर्वमोसादका उपप्रमुख वेन बरक पनि यस मतमा सहमत छन् । ‘उनी इजिप्टतर्फ जालान् भन्ने मलाई लाग्दैन । किनकि उनी गाजामा छैनन् भन्ने सूचना बाहिरियो भने हमासका सम्पूर्ण गतिविधिमा नकारात्मक असर पर्नेछ । तिनको आत्मविश्वासमै धक्का लाग्नेछ । त्यसैले पनि उनी भाग्लान् भन्ने मलाई लाग्दैन । उनी जे भए पनि कायर भने छैनन्,’ वेन बरकले भने । 

सिनवार पक्राउ परे वा मारिए भने बेन्जामिन नेतन्याहुको सरकारले निःसन्देह त्यसलाई प्रमुख सैन्य जितका रूपमा लिनेछ । आखिर उनको सरकारले हमासको ‘सैन्य तथा शासकीय क्षमता’ कमजोर बनाउनुलाई युद्धको प्रमुख लक्ष्य जो बनाएको छ । तथापि, सिनवारको अवसानले युद्ध रोकिन्छ भन्ने निश्चित छैन । ‘उनलाई पक्राउ गरेपछि स्थितिमा सुधार आउनेछ, जुन स्थिति बढीमा केही साता कायम रहला,’ वेन बरकले भने, ‘फेरि अर्को व्यक्तिले उनको ठाउँ लिनेछ । आखिर यो वैचारिक युद्ध हो, सिनवार यसका अहिलेका नेता मात्र हुन् ।’ मिलस्टिन पनि यस्तै बताउँछन् । ‘इजरायलले ५० वर्षदेखि नेतालक्षित हत्या अभियान चलाइरहेको छ । तर, द्वन्द्व घटेको छैन । कहिलेकाहीँ प्रमुख नेताको हत्या आवश्यकता हुन सक्छ । तर, एक वैचारिक संगठनको नेताको हत्या गर्दैमा संगठन धराशयी हुनेछ भनेर सोच्नु एकदम गलत सोच हो । त्यसैले सिनवार गएपछि निश्चित रूपमा अर्कोले उनको स्थान लिनेछ । इजरायलले सिनवारको मत्युले युद्ध सकिनेछ भन्ने सपनामा बाँच्नु हुँदैन,’ मिलस्टिनले भने ।  

– द गार्जियनबाट
 

सुझावित समाचार