अबको विद्यार्थी आन्दोलनको कार्यदिशा

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

पुँजीवादी शिक्षा प्रणाली अन्त्य गरी समाजवादी शिक्षा स्थापनामा सक्रिय रहनु नै अबको विद्यार्थी आन्दोलनको मुख्य कार्यदिशा हो

अहिले हामीसँग दोहोरो शिक्षा प्रणाली छ । एकापट्टि मुनाफासहित सबै साधन र स्रोत प्रयोग गरेर धनीका छोराछोरीले पढिरहेको निजी शिक्षा छ भने अर्कातिर राज्यले प्रदान गरेको सर्वसाधारणका छोराछोरी पढ्ने गरेको सरकारी शिक्षा छ । यस्तो दुई प्रकारको शिक्षा प्रणाली रहेसम्म प्रणालीगत समस्या समाधानको कल्पनै नगरे हुन्छ । अझै विडम्बनाको विषय त के छ भने एउटै छानोमुनि दुई प्रकारका शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । जसले गरिब जनताका छोराछोरीको चर्को शुल्कले ढाड मात्र सेकेको छैन, विद्यार्थीमा गहिरो मनोवैज्ञानिक असरसमेत पारेको छ । 

आज शैक्षिक संस्थाहरू शैक्षिक संस्थाजस्ता नभएर व्यापारीका ठगीधन्दा चलाउने सटरजस्ता बनेका छन् । जसले गर्दा आज वर्गीय असमानताको ठूलो खाडल सिर्जना भएको छ । शिक्षा देशको भविष्य, क्रान्ति र परिवर्तनको तत्व हो । दलाल पुँजीवादी शिक्षा प्रणाली अन्त्य गरी समाजवादी शिक्षा स्थापना अहिलेको मुख्य आवश्यकता हो । शिक्षाको उद्देश्य मानवजातिलाई निरन्तर उन्नत बनाउनु र मानव समाजलाई निरन्तर समृद्धिको दिशामा अग्रसर गराउनु हो । समाजवादी शिक्षाले जनताको कला, संस्कृति र सभ्यताको पहिचान झल्काउँछ । पुँजीवादी समाजमा शिक्षालाई व्यापारको वस्तु बनाइन्छ । जहाँबाट उत्पादित जनशक्तिलाई आफ्नो वर्ग र स्वार्थविरुद्ध नलागून् भनेर केन्द्रित गरिन्छ । आज विदेशी विश्वविद्यालयले आफ्नो आवश्यकताअनुकूल आफ्ना कारिन्दा र दास उत्पादन गर्ने उद्देश्यले पाठ्यक्रम तयार गर्ने गरेका छन् । 

अहिले मुठीभर पुँजीवादीले आफ्नो स्वार्थका लागि समग्र शिक्षा प्रणालीलाई प्रयोग गरिरहेका छन् । पुँजीवादी शिक्षा प्रणालीले उसका निम्ति चाहिने सेवक उत्पादन गर्छ । यसको मुख्य कमजोरी शिक्षालाई श्रमबाट अलग्याउनु हो । शिक्षा क्षेत्रमा समाजवादको उद्देश्य जनविरोधी वर्गबाट जनताको हातमा सम्पूर्ण उत्पादनका साधन र सत्ता ल्याउनु हो । जसरी पुँजीवादमा शिक्षालाई व्यापारको विषय र अन्धभक्त कारिन्दा उत्पादन गर्न प्रयोग गरिन्छ । समाजवादमा समग्र मानवजातिको विकास र नयाँ ज्ञान तथा प्रविधिद्वारा उच्च तहको मानव सभ्यता निर्माण गर्न शिक्षालाई प्रयोग गरिन्छ । शिक्षामा समाजवादको अर्थ मानवद्वारा मानवमाथि हुने सबै प्रकारका शोषणको अन्त्य गर्नु हो । वर्गीय चेतनाको विकास गर्नु समाजवादी शिक्षाको मुख्य दायित्व हो ।

सामाजिक, आर्थिक र राजनीतिक प्रणाली नै धमिलो भइरहेको वेला शैक्षिक प्रणाली मात्र संग्लिन्छ भन्ने अपेक्षा गर्न सकिन्न । जब मूल धमिलिन्छ, तब सबैतिर पानी धमिलो नै जान्छ । यसकारण मूल नै सफा गर्न आवश्यक छ । यस दिशातर्फ अबको विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्छ । पछिल्ला वर्षमा औसतमा प्रतिदिन चार सय ६० विद्यार्थीले सरकारबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिने गरेका छन् । युवा विद्यार्थीको यो पलायनसँगै समग्र राज्यको ‘ब्रेन ड्रेन’ र ‘इनर्जी ड्रेन’ भएको छ । दैनिक एक हजार आठ सयजनाको दरले युवाको विदेश पलायनको यो अवस्थामा देशमा उत्पादनमुखी कार्यक्रमका लागि अबको विद्यार्थी आन्दोलनले जोड दिनु अति आवश्यक छ । आजको युग सुहाउँदो समयसापेक्ष विद्यार्थी आन्दोलनको स्वरूप र कार्यदिशामा हामी क्रान्तिकारी विद्यार्थी स्पष्ट हुन जरुरी छ । जहाँ अँध्यारो हुन्छ, त्यहाँ उज्यालो पनि हुन्छ । जहाँ दिन हुन्छ, त्यहाँ रात पनि हुन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ समस्याका कारण र समाधानका उपाय पनि हुन्छन् । यो विज्ञानसंगत प्राकृतिक नियम हो । समस्या र चुनौतीको चाङ मात्रै देखाएर भाग्ने छुट हामी क्रान्तिकारी शक्तिलाई छैन । मुक्ति र मृत्युको कसम खाएको अखिल क्रान्तिकारीले समाधान निकाल्ने गरी सम्पूर्ण विद्यार्थी संघ–संगठन एकजुट गरेर अघि बढ्न अति आवश्यक छ । 

मुठीभरका शैक्षिक दलाल, माफिया, लोकतान्त्रिक गणतन्त्र अर्थात् परिवर्तनविरोधी प्रतिगामी राष्ट्रघाती शक्ति, विस्तारवाद र साम्राज्यवादका ‘एजेन्ट’हरू आज विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन दृश्य एवं अदृश्य रूपमा जोडबल गरिरहेका छन् । अखिल क्रान्तिकारी राजनीतिक व्यवस्था परिवर्तनको सेनानी, शैक्षिक रूपान्तरण एवं राष्ट्रियताको पहरेदार र आन्दोलनको नेता संगठन भएकाले इतिहासले सुम्पिएको हाम्रो स्वर्णिम कार्यभार पूरा गर्न सबैखाले चुनौतीको डटेर सामना गर्न आन्दोलनमा शैक्षिक संस्था र कक्षाकोठाको प्रतिनिधित्व गर्न नियमित विद्यार्थी संलग्न हुनुपर्छ । उनीहरूले आफ्नो अध्ययन र अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै देशमा शैक्षिक बिचौलियाको अन्त्य गरी विदेशका कालकोठरीमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य लाखौँ विद्यार्थीलाई नेपाल फर्किने र रोजगारीको अभावमा भौँतारिएका नेपाली विद्यार्थीलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न राज्यलाई दबाब दिँदै जागरणको आवाज उठाउनुपर्छ । शैक्षिक क्षेत्रको आमूल परिवर्तनसहित समाजवादी शिक्षा प्रणाली स्थापनाका लागि अखिल क्रान्तिकारीले आगामी दिनमा निम्न लिखित एजेन्डा उठान गर्न आवश्यक छ:

१. शिक्षा क्षेत्रमा भएको विभेद र वर्गीय असमानताको खाडल पुर्न निजीकरण र व्यापारीकरणविरुद्ध निर्णायक आन्दोलन गर्ने । 
२. समाजवादी शिक्षा प्राप्तिका लागि देशव्यापी बहस, दबाब र जागरण अभियान सञ्चालन गर्ने ।
३. केन्द्रदेखि स्थानीय तहसम्म शिक्षामा कम्तीमा २० प्रतिशत बजेटका लागि संघर्ष गर्ने ।
४. विश्वविद्यालयहरूको चल–अचल सम्पत्तिको सार्वजनिकीकरण गरी संरक्षण गर्न पहल गर्ने ।
५. राज्यबाट सेवा–सुविधा लिएका सम्पूर्ण नागरिकका छोराछोरीलाई आफ्नो घरनजिकको सार्वजनिक शैक्षिक संस्थामै अनिवार्य अध्ययन गराउने कानुनी व्यवस्था गर्न र सार्वजनिक शैक्षिक संस्थाको गुणस्तर सुधार गर्न संघर्ष गर्ने ।
६. एक शैक्षिक संस्था ः एक उत्पादन नीतिलाई अगाडि बढाउन पहल गर्ने । 
७. बर्सेनि लाखौँ संख्यामा हुने दक्ष जनशक्ति विदेश पलायनलाई रोक्न स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्न राज्यलाई दबाब दिने ।
८. सार्वजनिक गाडीभाडामा आवश्यक समायोजन र देशव्यापी विद्यार्थीलाई ४५ प्रतिशत छुटका लागि संघर्ष गर्ने ।
९. भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने ।
१०. नेपाललाई विश्वकै एक उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पहल गर्ने ।
११. शिक्षामार्फत जनताको समग्र विकास गर्न, वर्गीय चेत निर्माण गर्दै देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका निम्ति संघर्ष गर्ने ।
१२. राष्ट्रियता जागरण अभियान सञ्चालन गर्ने ।

अखिल क्रान्तिकारीको अबको कार्यभार :  जनयुद्धकालमा क्रान्तिकारी विद्यार्थी आन्दोलनले दुइटा मान्यता राम्रोसँग स्थापित ग¥यो । पहिलो राष्ट्रका लागि बलिदान र दोस्रो, निजी शिक्षा प्रणालीविरुद्धको आन्दोलन । यी दुवै मुद्दालाई अद्यापि हामीले इमानदारीपूर्वक उठाउँदै आएका छौँ । यही आन्दोलनको बलबाट आज संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रूपमा उल्लेख गर्न संविधान निर्माताहरू बाध्य भएका छन् । शिक्षा अनिवार्य र निःशुल्क भन्नुको अर्थ अब कम्तीमा विद्यालय तहको शिक्षामा व्यापार गर्न पाइँदैन भन्ने हो । विद्यार्थी आन्दोलन दबाब र जागरणको प्रतिपक्षी आन्दोलन हो । यसकारण बलिदानको अग्रदस्ता लाखौँ विद्यार्थीको प्रिय संगठन अखिल (क्रान्तिकारी) माथि जनताका छोराछोरीको ठुलो आशा, विश्वास अनि भरोसा छ । 

राजनीतिक व्यवस्था परिवर्तनका लालसेना क्रान्तिकारी युवा विद्यार्थीले अबको समाजवादी शिक्षा स्थापनाको महाअभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ । जनयुद्धकै महान् सहिद दिलबहादुर रम्तेल, पूर्ण पौडेल र बेनोज अधिकारीका अधुरा सपना पूरा गर्ने दायित्व अखिल क्रान्तिकारीको काँधमा रहेको छ । महान् सहिदको रगतले लेखिएको संविधानमा उल्लेख भएका मौलिक हक, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टीको दायित्व सरकारले नै लिनुपर्छ । यसलाई कार्यान्वयन गराउनु अखिल क्रान्तिकारीको अबको कार्यभार बनेको छ ।

विद्यार्थी आन्दोलनमाथि प्रश्न उठिरहेको वेला अखिल क्रान्तिकारीकै पहलमा केही समयअगाडि इन्जिनियरिङ अध्ययन संस्थान र सिटिइभिटीले बढाएको शुल्क अखिल क्रान्तिकारीकै नेतृत्वमा भएको आन्दोलनका कारण फिर्ता गराउन सम्भव भएको हो । बंगलादेशमा निरंकुश सत्ताको दमनविरुद्ध विद्यार्थी आन्दोलनले नेतृत्व गर्दा नै प्रधानमन्त्री शेख हसिना देश छाड्न बाध्य भइन् । यसकारण पनि हामी भन्न सक्छौँ, विद्यार्थी आन्दोलनबाट ठुल्ठुला राजनीतिक, शैक्षिक तथा सामाजिक परिवर्तन सम्भव छ । विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चितताको सारथि र जनताका जनजीविकाको आवाज र राष्ट्रियताको पहरेदार अबको विद्यार्थी आन्दोलन बन्न जरुरी छ ।

(भुल अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष हुन्)

सुझावित समाचार