कांग्रेस–एमालेलाई सरकार ‘अन्तिम भोज’ नहोस् : लामिछाने

शनिबार, ८ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठुला दल कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’जस्तो नहोस् भन्ने कामना गरेका छन्। 

चितवनको राप्ती नगरपालिकाको डडुवामा शनिबार आयोजित पार्टी कार्यक्रममा सभापति लामिछानेले फेरि अवसर नआउला कि जसरी दुई ठुला दल मिलेर बनाएको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टि गर्नुपर्ने बताए।

‘सामान्यतया संसद्का दुई ठुला दलको सरकार बन्नु राम्रो होइन,’ चितवन क्षेत्र नम्बर–२ का सांसदसमेत रहेका लामिछानेले भने, ‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अवसर उहाँहरूको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ।’

भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने बताएका उनले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने, तर बहुमतको बलमा पेल्न खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए। ‘संसदमै कडा प्रतिवाद गर्छौँ, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौँ,’ उनले भने। 

शुक्रबार राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर शनिबार बिहानै चितवन पुगेका सभापति लामिछानेले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले एक सय ६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरे। 

‘प्रमाण छ भनेर कुर्लनेले न संसद्, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए,’ उनले भने, ‘प्रमाण छ भने अझै पनि जनताबिच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’

सभापति लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुःख दिएर आफ्नो बदनाम गर्न खोजिएको जिकिर गरे।
 

सुझावित समाचार