पहिरोले घर बगाउँदा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा (लिम्बू)का बुबासहित चारजनाको ज्यान गएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण बिहीबार मध्यराति पहिरो खसेपछि उपाध्यक्ष लिम्बूका बुबा ७० वर्षीय रामबहादुर, कान्छीआमा ४८ वर्षीया जसमाया र मृतकका जुम्ल्याहा छोरी १० वर्षीया गंगा र जमुनाको ज्यान गएको हो । उपाध्यक्ष लिम्बू भने आमा र परिवारसहित नजिकैको घरमा बस्दै आएका छन् ।
पहिरोमा परी ५० वटा खसीबाख्रा मरेको फक्ताङलुङ गाउँपालिका– २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईंले बताए । मृतक रामबहादुर बाख्रा व्यवसाय गरेर बसेका थिए । ताप्लेजुङ प्रहरी प्रमुख रवि रावलका अनुसार बिहीबार राति साढे १ बजेतिर भिरालो जमिनमा पहिरो खसेको थियो । बिहीबार रातिकै पहिरोले खेजेनिम माविछेउका ४० वर्षीय युगेन्द्र साम्रा लिम्बू र उनकी चार वर्षीया छोरी निशा पनि घाइते भएका छन् । माथिबाट पहिरो खस्दा उनीहरू घाइते भएका थिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति इन्द्रबहादर गुरुङका अनुसार खेजेनिममा तीन घर विस्थापित भएका छन् । पहिरोले दावानुपु शेर्पा, धनवीर लिम्बू र धनबहादुर लिम्बूको परिवार विस्थापित भएको हो ।
सिरीजंघा गाउँपालिका– ४ तेल्लोकमा पहिरोले सुरेन्द्र गुरुङको घर पुरिएको छ । पहिरोपीडितलाई भाँडा, त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको छ । यस क्षेत्रमा बुधबारबाट वर्षा भइरहेको छ । सदरमुकाम फुङलिङ बजारमा बुधबार २६.९, बिहीबार १६.८ र शुक्रबार २३.६ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, पहिरो गइरहेको क्षेत्रमा भने त्योभन्दा बढी वर्षा भइरहेको छ । सिसावा खोलामा बिहीबारको बाढीले पुल, ग्रामीण सडक र तटीय क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार बगाएको थियो ।
जोखिमयुक्त क्षेत्रका बस्तीलाई स्थानान्तरणका लागि पहल गर्ने निर्णय
जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले पहिरोपीडित तथा जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानको पहिचान गरी स्थानान्तरण गर्न पहल गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार स्थानीय आपत्कालीन सञ्चालन केन्द्रलाई परिचालन गरेर खोज, उद्धार र राहतको काम गरिनेछ । विद्युत्, सञ्चार, खानेपानी, खाद्य सामग्री र स्वास्थ्यलगायत सेवा प्रभावकारी बनाउन सम्बन्धित निकायलाई जागरुक गराइने उनले बताए । मृतकका परिवालाई एक लाखका दरले राहत उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
ताप्लेजुङका ६१ मध्ये २३ वडा पहिरोको उच्च जोखिममा
ताप्लेजुङका नौ स्थानीय तहका ६१ मध्ये २३ वटा वडा पहिरोको उच्च जोखिममा छन् । बाँकी वडा पनि कुनै न कुनै रूपमा जोखिममा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार पहिरोको २० वर्षको क्षतिलाई विश्लेषण गरेर तथ्यांक निकालिएको हो । सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम पहिरोको उच्च जोखिममा छन् ।
फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोला पनि जोखिममा छन् । त्यस्तै, सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आङखोपका चारवटा उच्च जोखिममा छन् ।
पाथिभरा याङवरक गाउँपालिकाको नाङखोल्याङ, थुम्बेदिन र चाक्सीबोटे तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिन जोखिममा छन् । मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा छन् । सदरमुकामसमेत रहेको फुङलिङ नगपालिकाको ११ मध्ये ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
सरकारको आकलन र तयारी के छ ?
सरकारले यसपालि बाढीपहिरोलगायत विपत्का घटनाबाट चार लाख घरपरिवारका १८ लाख एक हजार जनसंख्या प्रभावित हुने आकलन गरेको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले स्वीकृत गरेको मनसुन पूर्वतयारी कार्ययोजनामा प्रभावित जनसंख्यामध्ये ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घरपरिवारलाई उद्धार गरी राहत उपलब्ध गराउनुपर्ने उल्लेख छ । बाढीपहिरोसहितका विपत्बाट प्रभावित हुन सक्ने जनसंख्याको अनुमान गत वर्षभन्दा ६ लाखले बढी हो । यसपटक बाढीसँग पहिरोको जोखिम औँल्याइएको छ । खासगरी गर्मीयाममा देशभरका वनजंगलमा डढेलो लागेको र कर्णाली, सुदूरपश्चिम प्रदेशमा भूकम्प गएकाले पहिरोका घटना अझै बढ्न सक्ने आकलन गरिएको हो ।
सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै सरकारले खोज तथा उद्धारका लागि आवश्यक तयारी गर्ने निर्णय लिएको छ । बर्खामा विपत्का घटना बढ्न सक्ने आकलन गरेको सरकारले गृह मन्त्रालयमा कमान्ड सेन्टरको स्थापना गर्ने भएको छ । सहसचिवको नेतृत्वमा रहने कमान्ड सेन्टरले हेलिकोप्टर परिचालनदेखि तत्काल रेस्पोन्सको काम गर्ने तयारी छ । उद्धारका लागि काठमाडौं, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राखिनेछ । विपत् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयसहित १० वटा मन्त्रालय, अन्य सरकारी निकाय, सुरक्षा निकाय र निजी क्षेत्रको भूमिका र जिम्मेवारी बाँडफाँट गरिएको छ ।