भलिबल लिग : महिला र पुरुषतर्फ नै पुलिसको जित

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

विभागीय टोली नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुवात गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेदकुद परिषद् (राखेप) कभर्डहलमा सुरु प्रतियोगिताको पुरुषतर्फ पुलिसले सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडी रविन चन्दको उत्कृष्ट प्रदर्शनमा पुलिसले २५–२०, २५–१५ र २५–१६ को सहज जित निकालेको हो । 

महिलातर्फ पुलिसले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराएको हो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको खेल निकै रोमाञ्चक भएको थियो । 

महिलातर्फको अर्काे खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा हरायो । सरस्वती चौधरी र निरुता ठगुन्ना चम्किएपछि एपिएफले सहज जित निकालेको हो । यसअघि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

हेल्प नेपाल र गण्डकीको जित
पुरुषतर्फको खेलमा हेल्प नेपाल, गण्डकी प्रदेशले जित निकालेका छन् । तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । हेल्प नेपालले सुरुवाती दुई सेट २५–२० र २५–१२ ले जितेको थियो । तेस्रो प्रतिस्पर्धात्मक सेटमा बुढानीलकण्ठ २९–२७ ले विजयी भएको हो । चौथो सेटमा हेल्प नेपालले २५–२२ को जित निकाल्दै तीन अंक जोड्न सफल भयो ।

अर्काे खेलमा गण्डकीले विभागीय टोली एपिएफलाई ३–१ सेटले नै पराजित गरेको हो । पहिलो सेट गण्डकीले २५–२२ ले जित्दा दोस्रो सेट एपिएफले २५–१९ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा गण्डकी २५–२० ले विजयी हुँदै २–१ को अग्रता बनायो । चौथो सेटमा पनि गण्डकीले सानदार प्रदर्शन गर्दै २५–१९ को जित निकालेको हो । 

See More On

सुझावित समाचार