स्त्रीहत्याविरुद्ध विशेष कानुन आवश्यक

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रसंघको तथ्यांकअनुसार हरेक एक घन्टामा औसत पाँच महिला वा बालिकाको आफ्नै परिवारका सदस्यबाट हत्या हुने गर्छ । र, प्रायः यी हत्या महिला भएकै कारण हुने गरेको देखिन्छ । केही देशले लैंगिक हिंसाको चरम अपराध स्त्रीहत्या (फेमिसाइड) लाई अपराधीकरण गर्नका लागि विशेष कानुन पारित गर्दै छन् ।

‘फेमिसाइड’ शब्दको पहिलो दस्ताबेजीकृत प्रयोग आइरिस लेखक जोन कोरीको सन् १८०१ मा प्रकाशित पुस्तक ‘अ स्यटाइरिकल भ्यु अफ लन्डन एट द कमेन्समेन्ट अफ द नाइन्टिन्थ सेन्चुरी’मा महिलाको हत्याका सन्दर्भमा प्रयोग गरिएको थियो । यो शब्दलाई सन् १९७० मा डायना इएच रसेलले पुनः प्रचलनमा ल्याएकी थिइन् । महिला हिंसा विषयकी विशेषज्ञ रसेलले पुरुषले गर्ने हिंसा र महिलाविरुद्ध विभेदका सम्बन्धमा काम गरेकी थिइन् ।

स्त्रीहत्याको सर्वस्वीकार्य परिभाषा नभए पनि महिला वा बालिकालाई महिला वा बालिका भएकै कारण हत्या गर्नुलाई स्त्रीहत्या भनिन्छ । अन्तरंग साथी (श्रीमान् वा ब्वाइफ्रेन्ड) ले हिंसा गर्दा हुने महिलाको हत्या वा ‘इज्जत’का नाममा परिवारका सदस्यले गर्ने महिलाको हत्यालाई स्त्रीहत्याको उदाहरणका रूपमा लिन सकिन्छ । राष्ट्रसंघले सन् २०१३ मा ६८÷१९१ संकल्प प्रस्ताव पारित गरेपछि सबै मुलुकलाई महिला र बालिकाको लिंगप्रेरित हत्याविरुद्ध कारबाही गर्न आह्वान गरेको थियो । धेरै उच्च आय भएका देशले स्त्रीहत्यासम्बन्धी कानुन निर्माण गरेका थिए ।

स्त्रीहत्यालाई कम गर्न र यसको दीर्घकालीन समाधान खोज्न समुदायका सदस्यको पैरवी र सक्रिय सहभागिता आवश्यक पर्छ
 

सन् २०२२ मा साइप्रसले दण्ड संहितामा स्त्रीहत्यालाई एक पृथक् अपराध मान्यो र सजाय निर्धारण गर्दा लिंगप्रेरित नियतलाई पनि आधार मानियो । सोही वर्ष माल्टाको फौजदारी संहितामा स्त्रीहत्यालाई पृथक् अपराधका रूपमा समावेश गरिएको थियो । स्त्रीहत्या अब हत्याको अपराधको उत्प्रेरणा पनि मान्न सकिन्छ र यस्तो अवस्थामा न्यायाधीशले सजायको उच्चतम रूप अर्थात् आजीवन कारावासको सजाय दिन सक्छन् । स्त्रीहत्यालाई लिएर विशेष कानुन बनाउने सबैभन्दा पछिल्लो मुलुक क्रोएसिया हो, जहाँ स्त्रीहत्याको अपराधमा १० वर्ष वा बढीको जेल सजाय हुने गर्छ ।

ल्याटिन अमेरिका र क्यारिबियन मुलुकमा बालिका र महिलाको घृणाप्रेरित हत्याको दर उच्च छ । यस क्षेत्रका ३३ देशमध्ये १८ देशले स्त्रीहत्यालाई छुट्टै द्वेष अपराधका रूपमा वर्गीकरण गर्ने नयाँ कानुन बनाएका छन् । कोस्टारिका सन् २००७ मा स्त्रीहत्यालाई कानुनी रूपमा परिभाषित अपराध बनाउने पहिलो मुलुक हो । यहाँ आफ्नी पत्नी वा गर्लफ्रेन्डको हत्या गर्ने व्यक्तिलाई २० देखि ३५ वर्षको जेल सजाय हुन सक्छ । यसबाहेक शारीरिक दुव्र्यवहार र स्वतन्त्र विचरणविरुद्ध हुने निगरानीमा पनि विशेष सजाय तोकिएको थियो । 

लन्डनको क्विन मेरी विश्वविद्यालयको प्रतिवेदनले मेक्सिकोलाई नमुना अध्ययनका रूपमा प्रयोग गर्दै मुलुकमा स्त्रीहत्यामा आएको कमी कानुनी उपायका कारण मात्रै भएको होइन भन्ने जनाएको छ । यो प्रतिवेदनको खोजले स्त्रीहत्याको जटिल प्रकृतिलाई लैंगिक हिंसाको गम्भीर अभिव्यक्तिका रूपमा बुझ्नका लागि एक बहुमूल्य संयन्त्रको रूपमा काम गर्छ र स्त्रीहत्यालाई थप प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत गर्छ ।

मुख्य समस्यामध्ये एक भनेको स्त्रीहत्याको संख्याको गलत वर्गीकरण हो । धेरै अवस्थामा अन्तरंग साथी वा परिवारका सदस्यबाट मात्रै हुने महिला वा बालिकाको लिंगप्रेरित हत्यालाई स्त्रीहत्याको रूपमा गणना गरिन्छ । यसले महिलाको यौनांग विच्छेदन (जेनिटल म्युटिलेसन), यौन झुकावसँग जोडिएका द्वेषी अपराध र आदिवासी महिलाको हत्याजस्ता गलत अभ्यासका रूपमा हुने स्त्रीहत्याको समाचारलाई अदृश्य बनाइदिन्छ । यसबाहेक स्त्रीहत्याको प्रायः गिरोह र संगठित अपराधका अन्य रूपसँग सम्बन्ध हुने गर्छ, जसले स्त्रीहत्याको मामिलालाई सम्बोधन गर्न र रोक्नमा अवरोध पु¥याउँछ ।

कोस्टारिकाले स्त्रीहत्याको विस्तारित परिभाषा कानुनमा समावेश गरेर यो समस्यालाई सम्बोधन गर्न खोजेको छ, जसमा विश्वास, मित्रता, अधिकार वा शक्तिसँग जोडिने स्त्रीहत्या समावेश छन् । यसले अपराधी र पीडितबीच ‘अन्तरंग’ सम्बन्ध नभए पनि महिलाविरुद्धको अपराधलाई सजाय दिन सम्भव बनाउँछ । नतिजा हाल कोस्टारिकामा छिमेकी ग्वाटेमाला, एल साल्भाडोर र मेक्सिकोको तुलनामा स्त्रीहत्याको दर न्यून छ ।

विश्वभरका मुलुकका सामाजिक र राजनीतिक परिस्थिति भिन्न हुन सक्छन् । तर, यी स्त्रीहत्याविरुद्ध लड्ने धेरै उपाय छन्, जुन विश्वव्यापी छन् । ‘स्त्रीहत्या’ शब्दले राजनीतिक अर्थ पनि बोकेको छ । ल्याटिन अमेरिकामा यसलाई महिला र बालिकाको हत्याको सम्बन्धमा सरकारको जवाफदेहिताको कमीलाई जनाउन प्रयोग गरिन्छ ।

स्त्रीहत्याको अवधारणाले राज्यको दोष र लैंगिकतामा आधारित हिंसाप्रतिको अपर्याप्त प्रतिक्रियालाई जोड दिन्छ । स्त्रीहत्या अवधारणाले राज्यको जिम्मेवारी र महिलाविरुद्धको यो हिंसालाई सम्बोधन गर्न नसकेको वा पर्याप्त ध्यान दिन नसकेको तथ्यलाई उजागर गर्छ । यो विशेषतः त्यतिखेर उल्लेखनीय हुन्छ, जब महिला एवं बालिकाको बलात्कार र हत्या युद्धको क्रूर रणनीतिका रूपमा प्रयोग गरिन्छ । केही समययता युक्रेन यसको उदाहरण बनेको छ । 

धेरैजसो स्त्रीहत्या वर्तमान वा पूर्वश्रीमान् वा अन्तरंग साथीबाटै हुने गर्छ भन्ने तथ्यलाई ध्यानमा राखेर विषाक्त पुरुषत्वलाई सम्बोधन गर्न र लैंगिक समानतालाई प्रवद्र्धन गर्न आवश्यक छ । स्पष्ट रूपमा हामीले महिला र बालिकाविरुद्ध हुने हिंसाविरुद्ध लड्न कानुनी ढाँचाभन्दा बाहिर जानुपर्छ । यसमा स्त्रीहत्यालाई कम गर्नका लागि दीर्घकालीन समाधान सिर्जना गर्न समुदायका सदस्यको पैरवी र सक्रिय सहभागिता आवश्यक पर्छ ।
(पाण्डे सेफेल्ड हलाम विश्वविद्यालयकी अपराधशास्त्रकी वरिष्ठ लेक्चरर हुन्) द कन्भर्सेसनबाट

सुझावित समाचार