पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारीअनुसार बुधबार राति १ बजे भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको छ ।
महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये आठजनाको अवस्था गम्भीर छ । सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु.प. प्र.०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट दुई सय मिटर तल खसेको हो।
चन्द्रौटादेखि उत्तर १६ किलोमिटर मोडमा यात्रुवाहक बस दुर्घटना भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर छ । घाइतेको उद्धारका लागि नेपाल र सशस्त्र प्रहरीका टोली राति नै घटनास्थल पुगेका थिए । घाइतेहरूलाई उद्धार गरी चन्द्रौटास्थित सञ्जीवनी अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा लगिएको छ ।

३३ जनाकाे उद्धार गरिएकाेमध्ये नौजनालाई थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक पौडेलले बताए । मृतक र घाइतेको अझै सनाखत भएकाे छैन । बसमा तीनजना स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार थिए ।