जनसंख्याको आर्थिक फाइदा उठाउला त भारतले ?

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

पूर्वाधार, साक्षरता दर,  गुणस्तरीय स्वास्थ्य सेवा, पाँचौँ ठूलो अर्थतन्त्र आदिका कारण भारतले जनसांख्यिक लाभ लिन सक्ने देखिन्छ

जनगणनाको तथ्यांक, जन्म–मृत्युदरसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको आकलनअनुसार भारतको जनसंख्या करिब डेढ अर्ब छ । सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनगणनाको तथ्यांक राख्न सुरु गरेको थियो । सो समयदेखि अहिले भारतको जनसंख्या सबैभन्दा धेरै छ । जनसंख्यामा भारतले चीनलाई पछि पारेको छ । 

त्यसो त यो जनसंख्या भारत वैश्विक शक्तिका रूपमा उदाउने संकेत भने होइन । केही समयअघि चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतमा जनसंख्या बढी भए पनि प्रतिभाचाहिँ चीनमा धेरै रहेको विवादास्पद टिप्पणी दिएका थिए । 

जर्मन अखबार डेयर स्पिगलले जनसंख्यामा भारत चीनभन्दा अगाडि निस्केको विषयमा एउटा कार्टुन छापेको थियो । उक्त कार्टुनमा आवश्यकताभन्दा बढी भीड भारतीय ट्रेनले २१औँ शताब्दीको द्रुत गतिको ट्रेनलाई ओभरटेक गरेको देखाइएको थियो । सो कार्टुनलाई अधिकांश राजनीतिज्ञ र अन्य सर्वसाधारणले नश्लभेदी भनेका छन् ।

भारत सरकारले जनसांख्यिक लाभ लिन चाहने हो भने पूर्वाधार ढाँचामा सुधार, सीप विकास, सर्वसाधारणका लागि कामको अवसर र वातावरण तथा मानव संसाधन विकासको संकेतलाई सुदृढ बनाउन काम गर्नुपर्ने हुन्छ 
 

जनसंख्याको फाइदा उठाउने मौका : जवाहरलाल नेहरू विश्वविद्यालयमा सेन्टर फर चाइना स्टडिजका प्रोफेसर श्रीकान्त कोंडपल्लीका अनुसार जनसंख्याबारेका केही प्रतिक्रिया पूर्वाग्रही र नश्लभेदी छन् । उनका अनुसार जनसंख्या सम्पत्ति हो, न कि समस्या । यसैलाई संकेत गर्दै कोंडपल्लीले देशले जनसंख्याको फाइदा उठाउन सहयोग गर्ने बताए । उनी भन्छन्, ‘पूर्वाधार ढाँचा अगाडि बढिरहेको छ । साक्षरता दर पनि बढ्दै छ । स्वास्थ सेवा गुणस्तरीय बन्दै गइरहेको छ । आज हामी विश्व अर्थतन्त्रमा पाँचौँ स्थानमा छौँ । र, सन् २०३० सम्म तेस्रो ठूलो अर्थतन्त्र बन्छौँ ।’ यसमा शंका छैन कि भारत तीव्र गतिमा बढ्ने अर्थतन्त्रमध्येको एक हो । विश्व बैंकले यो वर्ष भारतको आर्थिक वृद्धिदर ६.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले आगामी पाँच वर्षमा ६.१ प्रतिशतको दरले विकास हुने अनुमान गरेको छ । 

तथापि, एकातिर भारतका युवालाई संसाधनका रूपमा हेरिएको छ भने अर्कातिर उच्च बेरोजगारी दर टाउको दुखाइको विषय बनेको छ । गत डिसेम्बरमा सहरी बेरोजगारी दर १०.१ प्रतिशत थियो । कोभिड महामारीपछि उद्योग, कलकारखाना तथा विभिन्न रोजगारीका क्षेत्रमा कामदार कटौती हुँदा त्यसले थप बेरोजगारी समस्या बढाएर २० प्रतिशतसम्म पुगेको छ । आगामी वर्ष हुने आमनिर्वाचनमा बेरोजगारी र महँगी प्रमुख मुद्दा बन्न सक्ने देखिन्छ । 

कोंडापल्लीका अनुसार यदि भारत सरकारले जनसांख्यिक लाभ लिन चाहने हो भने पूर्वाधार ढाँचामा सुधार, कौशल विकास, सर्वसाधारणका लागि कामको अवसर र वातावरण तथा मानव संसाधन विकासको संकेतलाई सुदृढ बनाउन काम गर्नुपर्ने हुन्छ । 

चीनका लागि भारतको जनसंख्या चीनभन्दा अगाडि निस्कनुको सांकेतिक अर्थ छैन । चीनको अर्थतन्त्र भारतभन्दा चार गुणा ठूलो छ । यद्यपि, त्यहाँ घट्दो र बूढो हुँदै गइरहेको जनसंख्यालाई लिएर चिन्ता हुन थालेको छ । ६५ वर्षभन्दा कम उमेरसमूहका मानिसको संख्या सन् २०५० सम्म दोब्बर हुने देखिन्छ । यसको असर वर्तमानमा काम गर्ने मानिसमाथि पर्नेछ । 

ठूलो हो, तर ‘सुपर पावर’ होइन : चीन भारतभन्दा साक्षरता दर, स्वास्थ्य सेवालगायतका थुप्रै विषयमा अगाडि छ । तर, चीनले जति फरक देखाएको छ, त्यति फरक भने छैन । चीनले जनसंख्या बढ्नुको अर्थ ‘सुपर पावर’ अर्थात् महाशक्ति बन्नु होइन भन्ने संकेत गरेको छ । कोंडपल्लीको धारणा छ– सुपर पावर बन्ने भनेको  कुल गार्हस्थ्य उत्पादन (जिडिपी), प्रविधि, सैन्यशक्ति या सफ्ट पावरको आधार हो । कुनै पनि देश जनसंख्याकै आधारमा सुपर पावरचाहिँ बन्दैन । 

कोंडपल्लीका अनुसार चीन विचारधाराको मामिलामा भारतभन्दा भिन्दै छ । भारतको महŒवाकांक्षा सुपर पावर बन्ने होइन । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले केन्द्रमा कब्जा गरी मध्यमा आउन चाहेको अभिव्यक्ति दिएका छन् । तर, भारतीय नेताले त्यसो भनेका छैनन् । 
–

See More On

सुझावित समाचार