रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्कोबीच मस्कोमा शिष्टाचार भेट भएको छ। अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोबीच भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरूबारे छलफल भएको छ।
भेटमा तिमिल्सिनाले नेपालमा राजनीतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालमा ऊर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि र यातायात क्षेत्रको पूर्वाधार विकासमा रुसी लगानी भित्रिने विश्वास व्यक्त गरे।
अध्यक्ष तिमिल्सिना र रुसी महासंघका सहायक परराष्ट्रमन्त्री एवाई रुदेन्कोबीच पनि भेटघाट भएको छ। रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणमा नेपालको संसदीय प्रतिनिधिमण्डल रुस भ्रमणमा रहेको छ।
आजै राष्ट्रिय सभा अध्यक्ष र फेडेरेसन काउन्सिलबीचमा अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ।