इतिहासका पाठ्यपुस्तकसँग भयभीत मोदी

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

पाठ्यपुस्तकमा हालैको संशोधन सांस्कृतिक नरसंहारको हिस्सा हो

अन्ततः सत्तासीन भएको नौ वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकार उहिले नै अवसान भएको मुगल साम्राज्य एवं अन्य मुसलमान शासकलाई पराजित गर्न सफल भएको छ । हालैका घटनाक्रमले सात दशकदेखि पाठ्यपुस्तकमा उल्लेख्य स्थान पाएका मुगल शासक र साम्राज्य अहिले सीमान्तमा धकेलिएका छन् । विभिन्न कक्षाका पाठ्यपुस्तकमा उल्लेख गरिएका मुगल शासक र दिल्ली सल्तनतबारेका पाठ हटाइएका छन् । तर, यसबाट मुगल पूर्ण रूपमा नामेट भने हुँदैन, अर्थात् भारतको वास्तुशास्त्रीय एवं सांस्कृतिक वृत्तमा मुगल विरासत जीवित नै रहनेछ । यद्यपि विद्यार्थीले भने भारतका केही महत्वपूर्ण शासकका कोसेढुंगा र उपलब्धिबारे पढ्न पाउनेछैनन् । 

यो कदम स्तब्धकारी छ । आखिर कसरी विद्यार्थीले मुगल र मुसलमान शासकको भूमिका नजानी वर्तमान भारतबारे बुझ्न सक्छन् ? यति भन्दै गर्दा यी संशोधन अस्वाभाविक होइनन् । किनभने यी संशोधन भारतलाई ऐतिहासिक रूपमा हिन्दू मात्रैको भूमि देखाउने मोदीको भारतीय जनता पार्टी (भाजपा)को वैचारिक एजेन्डासँग मिल्छन् । भाजपा भारतीय इतिहासमा अन्य विशेषतः मुसलमानको उपस्थितिलाई घुसपैठ र अपवित्र देखाउन चाहन्छ र आफूले विकृत पारेको इतिहासलाई सत्य हो भनेर जनतामाझ प्रमाणित गर्न चाहन्छ । अतिक्रमणको इतिहास र मेटाउन नसकिने योगदानका साथ विद्यालयका पाठ्यपुस्तकले भारतीय मुसलमानलाई राष्ट्रिय स्मृतिको अभिभाज्य अंशका रूपमा स्थापित गरिदिएको छ । भाजपा यो विरासत हटाउन चाहन्छ र मुगल एवं मुसलमान शासकलाई नृशंस अतिक्रमणकारीका रूपमा देखाउन चाहन्छ । 

यो प्रवृत्ति मुसलमानजस्तो सुनिने सहर र सडकको नाम परिवर्तन गर्ने लहरसँग मिल्दोजुल्दो छ । ऐतिहासिक इलाहावाद सहर अब प्रयागराज, औरंगवाद छत्रपति शिवाजी नगर र उस्मानावाद धाराशिव बनेका छन् । सन् १९९२ मा अयोध्यामा बाबरी मस्जिद भत्काइनु मुसलमानविरोधी सांस्कृतिक नामेटीकरणकै एक हिस्सा थियो । अब वाराणसीको ज्ञानवापी मस्जिद र मथुराको शाही मस्जिदको पालो आउँदै छ । पाठ्यपुस्तकमा मुगल र मुसलमानको सीमान्तीकरणले मोदीको भारतका मुसलमानले वास्तविक जीवनमा सामना गरिरहेका व्यवहारलाई प्रतिबिम्बित गर्छ । पाठ्यपुस्तकमा गरिएको हालैको संशोधन सांस्कृतिक नरसंहारकै हिस्सा हो । 

तर, इतिहासविरुद्धको यो युद्धमा कैयौँ अरू शत्रु छन् । अद्वितीय रूपमा भूत र वर्तमान भारत हिन्दू थियो भन्नेले मात्रै पुग्दैन । अर्थात्, भूत र वर्तमान भारतमा हिन्दू मिलेर र सहिष्णु भई बसेका थिए भनेर पनि देखाउनु छ । समाजमा रहेको द्वन्द्व वा तनाव झल्काउने सबै विषयलाई मेटाउनैपर्ने हुन्छ । यसकारण मुसलमान इतिहासबाहेक जात व्यवस्थाको सत्यता र यसको विरासत रहेको छुवाछुत एवं बहिष्करणलाई पाठ्यपुस्तक संशोधनवादीले हटाइदिएका छन् । यी संशोधनवादी स्वैरकल्पनाको भारत अर्थात् द्वन्द्वविहीन भारतको निर्माण गर्न चाहन्छन् । हालैको इतिहासले पनि भाजपालाई असहज बनाउँछ । उदाहरणका लागि, सन् १९४८ मा महात्मा गान्धीको हत्या गर्ने हिन्दू चरमपन्थी पृष्ठभूमिका नाथुराम गोड्सेलाई लिन सकिन्छ । गोड्से हिन्दू सर्वाेच्चतावादीको सञ्जालसँग सम्बन्धित थिए, जसलाई भाजपाको वैचारिक आधार राष्ट्रिय स्वयंसेवक संघले निर्देशित गथ्र्याे । गान्धीले धर्मनिरपेक्ष भारतका मामिलामा कुनै किसिमको सम्झौता नगरेकाले उनको हत्या गरिएको थियो । गोड्सेको उल्लिखित पृष्ठभूमिलाई मेटाइएको छ र गोड्सेलाई एकाएक गान्धी हत्याराका रूपमा मात्रै प्रस्तुत गरिएको छ । सन् २००२ मा प्रधानमन्त्री मोदी गुजरातका मुख्यमन्त्री भएका बखतको मुसलमान आमहत्याका घटनालाई पनि पाठ्यपुस्तकबाट हटाइएको छ । त्यसैगरी लैंगिक विभेदका उदाहरण पनि हटाइएका छन् । मानौँ कि भारतमा कुनै पनि सामाजिक समूहविरुद्ध कुनै पनि किसिमको हिंसा भएकै थिएन । हालैको इतिहासको उदाहरण लिने हो भने खडेरीग्रस्त विदर्भको मध्यक्षेत्रमा जलाशययुक्त उद्यान बनाइएका तथ्यलाई पनि समाज विज्ञानका पुस्तकबाट हटाइएको छ ।

भाजपा भारतीय समाज हिन्दू हो र हिन्दू समाज सधैँ न्यायोचित, प्रेमपूर्ण र पूर्णतया भेदभावरहित हुन्छ भन्ने विश्वले विश्वास गरोस् भन्ने चाहन्छ । तर, ठिकविपरीत हामीसँग अश्लील यथार्थ मौजुद छ । यी उत्कृष्ट पंक्ति पढ्ने भारतका बालबालिका द्वन्द्वग्रस्त परिस्थितिमा बाँचिरहेका छन् । यो रबैया भारतको विगतलाई नियन्त्रण गर्नु वा विगतलाई हिन्दू रंगले पोत्नु मात्रै होइन । यो रबैयाले भाजपाले भारतलाई धकेलिरहेको अन्धकारयुक्त एवं अलोकतान्त्रिक भविष्यलाई पनि झल्काउँछ ।     

भाजपाले निर्माण गर्न चाहेको प्रमुख विचार भनेकै एक बलियो राज्य एवं आज्ञाकारी जनता हो । भाजपा आफूलाई भारतीय राज्यको पर्यायका रूपमा उभ्याउन चाहन्छ । यही विचारलाई ध्यानमा राख्दै पाठ्यपुस्तकबाट लोकतान्त्रिक अधिकारको रक्षा गर्ने सामाजिक र राजनीतिक आन्दोलनका सन्दर्भ हटाइएका छन् । भाजपाको ध्येय जनताले राज्यलाई जवाफदेही बनाउनुको साटो राज्यले जनतालाई जवाफदेही बनाउनु रहेको छ । पाठ्यपुस्तकलाई संशोधन गर्नुका पछाडि विद्यार्थीको पाठ्यभार कम गर्नु हो भन्ने आधिकारिक दलिल रहेको छ । तर, पाठ्यपुस्तकबाट हटाइएका पाठलाई हेर्दा वास्तविक प्रवृत्ति स्पष्ट हुन्छ ।   

पाठ्यक्रम परिवर्तन भारतको विगतलाई अनिवार्य रूपमा हिन्दू र भेदभाव एवं हिंसाविहीन राष्ट्रको रूपमा चित्रण गर्ने विचारबाट प्रेरित छ । धर्मनिरपेक्ष राष्ट्रबाट हिन्दू भारत बनाउन भाजपाले स्वैरकल्पनायुक्त नक्कली इतिहासको निर्माण गर्नुपर्ने हुन्छ । विगतको पुनर्लेखन भनेको सत्यलाई चिहानमा पठाउँदै हिन्दू सर्वोच्चतावादी विचारधारालाई भविष्यका लागि वैधानिकता दिनु हो ।

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी पढाउँछन्) 
अलजजिराबाट

सुझावित समाचार