सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन्।
बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तर्क्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरेका हुन्।
उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारूढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।
उनले भने, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ। यसको लामो आयु छैन। कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन्। त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ। तर, तपाईंहरू ढुक्क भए हुन्छ, यो पाँच वर्षसम्म कायम रहन्छ। त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौँ। मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिबद्धता गरेका छौँ।’
अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको बताए।