साउदी मरुभूमिमा द्रुत गतिको ट्रेन

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

पर्यटन विस्तार र तेलबाहेकको राजस्वलाई विविधीकरण गर्न रेलवे पूर्वाधारमा साउदी अरबले अर्बौं डलर लगानी गरेको हो

मुस्लिमहरूको पवित्र तीर्थस्थल हो, साउदी अरबस्थित मक्का । धेरै वर्षअघि मुस्लिम तीर्थयात्रीहरू पैदल त्यहाँ पुग्थे । तर, समय परिवर्तन भएको छ । अब उनीहरू सजिलै हाई–स्पिड (द्रुत गति) ट्रेनमार्फत तीर्थयात्रा गर्न सक्नेछन् । 

साउदीको मरुभूमिमा चल्ने हाई–स्पिड ट्रेन प्रतिघन्टा तीन सय किलोमिटरको गतिमा कुद्नेछ । साउदीमा विश्वका १० द्रुत गतिमा चल्ने ट्रेन नेटवर्कको सुरुवात मात्रै भएको छ । बिस्तारै यो मध्यपूर्व राज्यमा पनि विस्तार हुने अपेक्षा राखिएको छ । पर्यटन विस्तार र तेलबाहेकको राजस्वलाई विविधीकरण गर्न साउदी अरबले यसको पूर्वाधारमा अर्बौं डलर लगानी गरेको हो ।

साउदीको दोस्रो ठूलो सहर जेद्दाहदेखि तीर्थयात्री र अन्य यात्रु किङ अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै ट्रान्सफर हुन सक्नेछन्, जहाँ विद्युतीय द्रुत गतिका ट्रेनले पूरै देशको यात्रा गराउनेछन् । यद्यपि, मुस्लिम तीर्थयात्रीले मात्रै मक्का घुम्न पाउनेछन् । तर, अन्य यात्रुले भने ४५० किलोमिटरको लाइनमा नयाँ हरमेन हाई–स्पिड ट्रेनको मजा लिन सक्नेछन्, जुन साउदी अरबको रेड–सी (रातो समुद्र) लाइनसम्म फैलिएको छ । 

जनवरी सन् २०२२ मा साउदीका लगानीमन्त्री खालिद अल फलिहले देशभर आठ हजार किलोमिटरभन्दा बढी रेलवे लाइन निर्माण गर्ने घोषणा गरेका थिए । यसो भएको खण्डमा रियादबाट जेद्दाको यात्रा बुलेट ट्रेनद्वारा नहोला भन्न सकिन्न । 

हरमेन अरबिक शब्द हो । यसको अर्थ हुन्छ, दुई पवित्र स्थल । साउदीस्थित मक्का र मदिना दुई पवित्र स्थलको नामबाट यो नाम राखिएको हो । सन् २०१८ देखि सुरु भएको यो लाइनले जेद्दाह विमानस्थल र किङ अब्दुल इकोनोमिक सहरलाई जोड्छ । 

कसरी घुम्ने ? : टिकट लिन सजिलो छ । अंग्रेजी र अरबिक भाषामा उपलब्ध गोल्ड एन्ड ह्वाइट एचएचआर ट्रेन एप्स मोबाइलमा डाउनलोड गर्न सकिन्छ । धेरैजसो साउदीवासी इस्लामिक क्यालेन्डर प्रयोग गर्छन् । अंग्रेजी अप्सनमा क्लिक गर्दा ग्रेगोरियन क्यालेन्डर खुल्छ । रकम भुक्तानी गर्नुअघि यसमा खाता खोल्नुपर्ने हुन्छ । 

सन् २०२३ को सुरुवाती बिदाका दिनमा जेद्दाह अल सुलेमान र किङ अब्दुल इकोनोमिक सिटीबीचको इकोनोमी टिकट शुल्क करिब १५ अमेरिकी डलरभन्दा बढी थियो, जबकि बिजनेस क्लासको टिकट शुल्क २६ डलर थियो । एचएचआर एप्सले एप्पल पे र अन्य डिजिटल भुक्तानीका माध्यम स्वीकार गर्छ । 

यात्रुले क्षणभरमै आफूलाई मन लागेको सिट रोज्न सक्ने सुविधा छ । एप्सले ट्रेनको भित्री अवस्थालाई चार्टका रूपमा देखाउँछ, जसले गर्दा यात्रुले आफूलाई मन पर्ने साइडको सिट सुरक्षित गर्न सक्छन् । यस्तै, सिट छनोटसँगै यात्राको निर्देशिका आवश्यक पर्ने–नपर्ने पनि चयन गर्न पाउँछन् । कुनै समूह या पारिवारिक यात्राका लागि सिट चयन गर्नुपर्दा एप्सले स्वतः एकअर्कासँग जोडिएका सिट छानिदिन्छ । तर, ती सिट खाली भएको हुनुपर्छ । 

स्टेसन टु स्टेसन : ट्रेनको रुट र स्टेसन पर्याप्त, आधुनिक र आरामदायी छन् । सुन्दर पनि छन् । जेद्दाह र किङ अब्दुल इकोनोमिक सिटी स्टेसनलाई हिराबाट प्रेरित भनिन्छ, जुन बेलायतको आर्किटेक्चर फोस्टर पार्टनरद्वारा डिजाइन गरिएको हो । यी स्टेसन अमेरिकाको न्युयोर्क सहरस्थित ग्रान्ड सेन्ट्रल वा पेरिसको गारे डु नर्द रेलवे स्टेसनजस्ता व्यस्त र सजीव पनि छैनन् । आश्चर्यजनक स्टेसन भए पनि अधिकांश भाग खाली छन् । यस्तै, धेरै सुविधा उपलब्ध पनि छैन । यसकारण पनि यात्रुले त्यहाँ धेरै समय बिताउँदैनन् । आफ्नो निर्धारित ट्रेनको समयभन्दा केही समयअघि मात्रै स्टेसन पुग्छन् । किङ अब्दुल इकोनोमी सिटीमा डंकिन दुनोटबाहेक अरू केही छैन । जेद्दाहको अल सुलेमानमा भने चिया र कफीका एकाध पसल र एउटा किराना पसल छ । यत्तिले त्यो स्टेसन व्यस्त रहन्छ । यद्यपि, स्टेसन भव्य तर सुनसान लाग्न सक्छ । ट्रेनको अनुभव उत्साही र जीवन्त छ । 

साउदीको मरुभूमिमा चल्ने हाई–स्पिड ट्रेन प्रतिघन्टा तीन सय किलोमिटरको गतिमा कुद्नेछ । साउदीमा विश्वका १० द्रुत गतिमा चल्ने ट्रेन नेटवर्कको सुरुवात मात्रै भएको छ । बिस्तारै यो मध्यपूर्व राज्यमा पनि विस्तार हुने अपेक्षा राखिएको छ । 

तीर्थयात्रा पक्ष : जेद्दाहबाट किङ अब्दुल इकोनोमी सिटको दूरी १११ किलोमिटर छ । यसमा करिब ३२ मिनेट समय लाग्छ । मुस्लिमहरूको एक महिने उपवास रमजान सुरु हुनुअघि एक दिन दिउँसो बिजनेस क्लास सुनसान थियो भने इकोनोमी क्लासका डब्बा भरिभराउ थिए । यसमा धेरैजसो यात्री मक्का या उमराहका लागि जाने थिए । हजको विपरीत उमर मुस्लिमका लागि एउटा वैकल्पिक तीर्थयात्रा हो, जुन पवित्र सहर र इस्लाममा सबभन्दा पवित्र स्थल काबाको यात्रा गर्न चाहन्छन् । त्यसो त हजलाई वर्षको उत्कृष्ट समयमा गरिने धार्मिक यात्रा मानिन्छ । तर, उमराह भने जुनसुकै वेला गर्न सकिन्छ । उमराह रेलवेका लागि ठूलो कारोबार बनेको छ । साउदी गजेटका अनुसार धार्मिक तीर्थयात्रीका लागि ट्रेनको टिकटको माग यति धैरै छ कि रमजानको अवधिमा दैनिक १०० भन्दा बढी ट्रेन कुद्छन् । यी ट्रेन यो वर्षको मध्यमार्चदेखि मध्यअप्रिलसम्म चल्छन् । यद्यपि, कम यात्रु भए पनि व्यवसायी वर्गले अधिक सेवासुविधाको प्रस्ताव गरेका छन् । 

यो ट्रेन यात्रामा जेद्दाहदेखि अब्दुल किङ इकोनोमी सिटीसम्मको छोटो यात्रामा बिजनेस क्लास प्रयोग गर्ने यात्रुले भोजनको सुविधा पाउँछन् । उक्त सुविधामा हम्मुस, पिटा ब्रेड, चकलेट चिप मफिन, फलफूल र स्याउ तथा पानीमध्ये एक विकल्प रोज्न पाउँछन् । हवाईजहाजको शैलीमा ड्रेस लगाएका परिचारकले यो सेवा दिन्छन् । 

यसबाहेक सिटको पछाडिपट्टि सानो टिभी पनि जडित छ । यात्रामा पाव पेट्रोल, फर्मुला ई–रेसिङ र इस्लामिक धार्मिक प्रवचन सुन्न÷हेर्न पाइन्छ । विशेषगरी, छोटो यात्रामा आफू बसिरहेको झ्यालबाट बाहिरको धुलाम्य दृश्य देख्न सकिन्छ । 

भविष्यमा सञ्चालन : यद्यपि, यात्रुहरू ट्रेनको ड्राइभरलाई देख्न सक्नेछैनन् । ती ट्रेनमा महिला ड्राइभर हुन सक्छन् । जनवरी सन् २०२३ मा पहिलो श्रेणीका ३२ जना महिलाले साउदी रेलवे पोलिटेक्निकमार्फत एक वर्षे प्रशिक्षण कार्यक्रमबाट स्नातक गरेका छन् । अतः उनीहरूले हरमेन नेटवर्कमा द्रुत गतिको ट्रेन हाँक्न लाइसेन्स (अनुमतिपत्र) प्राप्त गरेका छन् । यसको ठीक विपरीत सन् २०१८ मा जतिवेला पहिलोपटक रेल लाइन सुचारु भयो, त्यतिवेला महिलाले साउदी राज्यमा भर्खर मात्र कार चलाउन थालेका थिए ।

द्रुत गतिको ट्रेनको सन्दर्भ आउँदा लाग्छ, साउदीमा हरमेन लाइन मात्र सुरुवात हो । यसबाहेक त्यहाँ उच्च अझै द्रुत गतिको सेवासहित देशको उत्तर–पश्चिम लाइन पनि विस्तारित भएको छ । जनवरी सन् २०२२ मा साउदीका लगानीमन्त्री खालिद अल फलिहले देशभर आठ हजार किलोमिटरभन्दा बढी रेलवे लाइन निर्माण गर्ने घोषणा गरेका थिए । यसो भएको खण्डमा रियादबाट जेद्दाको यात्रा बुलेट ट्रेनद्वारा नहोला भन्न सकिन्न । 
 

सुझावित समाचार