दुवै पक्ष निर्णायक तयारीमा, कोइरालाले मुख नखोल्दा इतर समूह अनिर्णीत
कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ । ३ पुसमा समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ । कांग्रेस संसदीय दलको नेता चयनस“गै नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने दलहरूको तयारी छ ।
समानुपातिकको प्रमाणपत्र वितरणलगत्तै संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयनको प्रक्रिया अगाडि बढ्छ । र, यसै साता संसदीय दलको निर्वाचन हुन्छ,’ प्रवक्ता महतले भने ।
संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप छ । कांग्रेस संसदीय दलको नेताका लागि ६ जना आकांक्षी छन् । संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्थाका कारण कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशांक कोइराला र प्रकाशमान सिंहले दलको नेता बन्ने चाहना राखेका छन् ।
सभापति देउवाले समानान्तर रूपमा सरकार गठनलाई समेत अगाडि बढाइरहेका छन् । यसका लागि निर्वाचित सांसदलाई देउवाले बालुवाटारमा भेटघाट गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले निर्वाचित सांसदहरू बधाई साटासाट गर्न बालुवाटारमा आउने गरेको बताए । ‘बालुवाटारमा निर्वाचित सांसदहरू बधाई साटासाटलगायतका लागि आउने–जाने क्रम चलिरहेको छ,’ उनले भने ।
प्रवक्ता महत सभापति देउवा वर्तमान सत्तागठबन्धन कायम गर्ने गरी सरकार गठनको गृहकार्यमा लागेको बताउँछन् । पछिल्लो समय अनौपचारिक रूपमा सभापति देउवा गठबन्धनका शीर्ष नेतासँग छलफलमा रहेको प्रवक्ता महतले बताए । ‘सरकार गठनका लागि वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी अनौपचारिक छलफल भइरहेका छन् । निष्कर्षमा पुगेपछि औपचारिक बैठक बस्छ र निर्णय हुन्छ,’ उनले भने ।
देउवाले बोलाए सांसदहरूको भेला
समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि सभापति देउवाले शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका छन् । भेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ ।
सांसद रामहरि खतिवडाका अनुसार सभापति देउवाले बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफलका लागि शनिबार दिउँसो ३ बजे सांसदहरूको भेला बोलाएका छन् । उनका अनुसार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत उनले यसबारे जानकारी पाएका थिए । केही सांसदहरूलाई भने उपसभापति धनराज गुरुङले भेलाबारे जानकारी गराएका थिए ।
इतर समूह अलमलमै
संस्थापन पक्षले सभापति देउवालाई संसदीय दलको नेताका रूपमा अगाडि सारे पनि संस्थापनइतर समूह अझै अलमलमै छ । इतर समूहको आधिकारिक उम्मेदवारबारे आकांक्षीबीच सहमति बनिसकेको छैन । नेता डा. कोइराला र महामन्त्री थापा आकांक्षी छन् । महामन्त्री थापाले तयारीलाई निरन्तरता दिँदै सांसदहरूसँग भेटघाट गर्दै आफूलाई समर्थन गर्न आग्रह गरिरहेका छन् । कोइराला पनि सांसदहरूसँग छलफलमा छन् । दुई नेतालाई मिलाउन डा. चन्द्र भण्डारी, डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, पुरञ्जन आचार्य, गुरुराज घिमिरे र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेता सक्रिय छन् । तर, कोइराला र पदाधिकारी तहमा रहेका नेता नै मौन रहँदा एकजना मात्र अघि सार्ने प्रयासले पनि सार्थकता पाउन सकेको छैन ।
केन्द्रीय सदस्य डा. पोखरेल सहमतिमै उम्मेदवार बनाउनेबारे आफूहरू प्रयासरत रहेको बताउँछन् । ‘हामी दुवै नेतासँग छलफल गरिरहेका छौँ । इतरबाट एकजना मात्र अघि सार्ने प्रयास अन्तिमसम्म रहन्छ,’ उनले भने । नेता अर्जुननरसिंह केसी आफू पार्टीमा सर्वसम्मत नेता चयन हुनुपर्छ भन्नेमा लागेको बताउँछन् । ‘हामी त नेता सर्वसम्मत हुनुपर्छ भनेर लागिरहेका छौँ, अहिले नै कसलाई उठाउने भन्ने या समर्थन गर्ने भन्ने भइसकेको छैन,’ उनी भन्छन् । थापालाई महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्ने बताएपछिको अवस्थामा सभापति देउवासमेत ढुक्क छैनन् । सभापति देउवाले पनि इतर समूहका सांसदलाई आफैँ भेटेर वा आफ्ना विश्वासपात्रमार्फत छलफल गरिरहेका छन् ।