१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
शान्ता कमली नयाँ पत्रिका
२०७९ कार्तिक २६ शनिबार ०६:०२:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिसो मनाङ–मुस्ताङ चुनावले तातिँदै

Read Time : > 4 मिनेट
२०७९ कार्तिक २६ शनिबार ०६:०२:००

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा दिनहुँ चिसो बढ्दै गए पनि चुनावी माहोल भने तात्दै गएको छ । केही दिनअघि काठमाडौं र पोखरामा भोट माग्न व्यस्त भएका यहाँका उम्मेदवार अहिले भने गाउँ फर्केर भोट माग्दै घरदैलोमा पुगेका छन् । 

विगतका वर्षहरूमा यतिवेला मनाङवासी बेँसी झर्न सुरु गरिसक्थे । काठमाडौं–पोखरा बस्दै आएकासमेत यतिवेला निर्वाचनमा मतदान गर्न गाउँ फर्कन थालेका छन् । मनाङका पाल्साङ गुरुङका अनुसार चुनावले गाउँका नागरिक गाउँमै रोकिएका छन् । चुनावपछि जाडो छल्न काठमाडौं जाने सल्लाह भएको उनले बताए । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले चिसो बढ्दै गए पनि चुनावका कारण मनाङी गाउँमै रोकिएको बताए । चुनाव सकिएपछि मात्रै काठमाडौं–पोखरा झर्ने उनले बताए । उम्मेदवारहरू काठमाडौं–पोखरामा मत मागेर गाउँ फर्किएका छन् । 

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङीहरू चुनाव पर्खेर बसेका छन् । ‘विगतका वर्षमा कात्तिक पहिलो सातादेखि मनाङीहरू बेँसी झर्न सुरु हुन्थ्यो,’ उनले भने, ‘यसपटक भने मनाङी झरेका छैनन् । चुनाव सकेर जाडो छल्न बेँसी झर्ने तयारीमा छन् ।’ 

मनाङमा ६ हजार सात सय ७९ मतदाता
जिल्ला निर्वाचन अधिकारी मनाङका प्रमुख पुष्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता छन् । जसमा महिला तीन हजार चार सय ९८ र पुरुष तीन हजार दुई सय ८१ छन् । प्रदेश (१) अन्तर्गत चामे र नासों गाउँपालिकामा महिला एक हजार तीन सय ७० र पुरुष एक हजार दुई सय ५४ गरी दुई हजार ६ सय २४ मतदाता छन् । प्रदेश (ख) को नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा महिला दुई हजार एक सय २८ र पुरुष दुई हजार २७ गरी चार हजार एक सय ५५ मतदाता छन् । सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा महिला दुई सय ६१ र पुरुष दुई सय सात गरी चार सय ६८ मतदाता छन् । नार्पाभूमि नेपालकै सबैभन्दा कम मतदाता रहेको स्थानीय तह हो ।

मनाङमा सत्तागठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पोल्देन छेपाङ गुरुङ र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । ०७४ मा पूर्वश्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका टेकबहादुर गुरुङलाई २७१ मतले पछि पार्दै पोल्देन छोपाङ विजयी भएका थिए । प्रदेश सभा (क) तर्फ कांग्रेसका मुनिन्द्रजंग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन् । प्रदेश सभा (ख)तर्फ राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन् । प्रतिनिधिसभा र प्रदेश सभामा जित निकाल्ने उद्देश्यसहित वाम–लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा छन् ।

मनाङमा हेलिकोप्टरबाट लगिन्छन् मतदाता 
थोरै मतदाता हुने र हारजित पनि थोरै मतान्तरले हुने भएकाले यी जिल्लामा मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन हेलिकोप्टर चार्टर गरिएका उदाहरण पनि छन् । त्यसको उदाहरण हो हिमालपारिको जिल्ला मनाङ । थोरै संख्यामा मत हुँदा मनाङमा दुई हजार मत जसले कटाउन सक्छ उसले निर्वाचन जित्ने करिब–करिब पक्का रहन्छ । मतपरिणाम आफ्नो पक्षमा पार्न विगतका निर्वाचनमा उम्मेदवारले मतदातालाई हेलिकोप्टर चार्टर गरेरै मनाङ पुर्‍याउँथे ।

प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर गुरुङ जसले चुनावमा हेलिकोप्टर प्रयोग गर्थ्यो, उसले बाजी मार्ने गरेको विगत स्मरण गर्छन् । तर, अहिले अवस्था बदलिएको र मनाङ मुलुकको राष्ट्रिय सडक सञ्जालमा जोडिएको उनी बताउँछन् । ‘पहिला–पहिला मनाङमा सडक थिएन । मतदाता लैजान कतिपय उम्मेदवारले हेलिकोप्टर पनि प्रयोग गरे होलान् । तर, अहिले अवस्था फेरिएको छ । मनाङमा सडक पुगेको छ । सार्वजनिक यातायातका साधन मज्जाले चल्छ । मतदाता बसबाटै मनाङ पुग्छन् । सहजताका निम्ति बस मिलाउनेसम्मका काम उम्मेदवारबाट हुन सक्लान्,’ उनले भने ।

मुस्ताङका उम्मेदवारको कोरला नाका सञ्चालन मुख्य एजेन्डा

मुस्ताङ/ हिमालपारिको जिल्ला मुस्ताङमा चिसो बढ्दै गए पनि चुनावी माहोल भने तात्दै गएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका युवा नेता योगेश गौचन थकाली र निवर्तमान सांसदसमेत रहेका एमाले उम्मेदवार प्रेम तुलाचनबीचको प्रतिस्पर्धाले माहोल तातेको हो । दुवै उम्मेदवार घरदैलो र चुनावी सभामा जुटेका छन् । मुख्य प्रतिस्पर्धी कांग्रेसका २९ वर्षीय गौचन र एमालेका ६१ वर्षीय तुलाचनले कोरला नाका सञ्चालनलाई प्रमुख मुद्दा बनाएका छन् । प्रतिनिधिसभामा चार र प्रदेश सभामा पाँचजना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश सभा (क)मा एमालेका इन्द्रधारा विष्ट र गठबन्धनबाट कांग्रेसका नम्डु गुरुङबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी प्रदेश सभा (ख)मा कांग्रेसका विकल शेरचन, एमालेका चन्द्रमोहन गौचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको नतिजाले मुस्ताङमा एमाले बलियो देखिएको छ । जिल्लाका पाँच गाउँपालिकामध्ये एमालेले चार पालिका अध्यक्षसहित तीन उपाध्यक्ष र कांग्रेसले एक पालिका अध्यक्षसहित दुई उपाध्यक्ष जितेको थियो । स्थानीय निर्वाचनमा अध्यक्ष पदमा एमालेका उम्मेदवारले चार हजार एक सय २६ मत प्राप्त गर्दा कांग्रेसका अध्यक्षका उम्मेदवारले तीन हजार ९१ मत पाएका थिए । उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले तीन हजार सात सय २० मत पाएका थिए भने कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवारले तीन हजार दुई सय २६ मत प्राप्त गरेका थिए । 

करिब ११ हजार मतदाता
मुस्ताङमा गत स्थानीय तह निर्वाचनमा भन्दा चार सय ७२ नयाँ मतदाता थपिएका छन् । स्थानीय निर्वाचनमा कुल १० हजार चार सय ८५ मतदाता रहेकोमा यसपटक मुस्ताङको कुल मतदाता संख्या १० हजार नौ सय ५७ पुगेका छन् । जसअन्तर्गत प्रदेश (क)मा तीन हजार पाँच सय ४१ मतदाता र प्रदेश (ख)मा सात हजार चार सय १६ जना मतदाता रहेका छन् । मुस्ताङमा रहेका २५ वटै वडामा गरी ३९ मतदान केन्द्र र एक अस्थायी मतदानस्थल तोकिएको छ । 

सीमावर्ती क्षेत्रका मतदानस्थलको निरीक्षण
मुस्ताङको सीमावर्ती क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्रको अनुमगन तथा निरीक्षण गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहितको सुरक्षा टोलीले सीमावर्ती क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण गरेका हुन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा पर्ने मतदानस्थल र मतदान केन्द्रको अनुमगन गरिएको प्रजिअ शर्माले जानकारी दिए । मतदानस्थल र मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौती, यातायातको पहुँच, मतदाताका समस्यालगायत विषयमा जानकारी लिएको थियो । 

कोरला नाका सञ्चालन र पर्यटन साझा एजेन्डा
मुस्ताङका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले विकास, पर्यटनसँगसँगै कोरला नाका सञ्चालनका विषयलाई साझा चुनावी एजेन्डा बनाएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पूर्णता दिने, कोरला नाकालाई नियमित सञ्चालनमा ल्याउनेदेखि पर्यटनको हब बनाउने एजेन्डालाई उम्मेदवारहरूले प्राथमिकताका साथ उठाएका छन् । वर्षको सीमित समयमा अन्तर्देशीय मेला हुने समयमा मात्र सञ्चालन हुने नाका कूटनीतिक पहल गरी नियमित सञ्चालनको पहल गर्ने उम्मेदवारको प्रतिबद्धता छ । 

उपल्लो मुस्ताङका मतदाता बेँसी झरे
चिसो बढेसँगै उपल्लो मुस्ताङका स्थानीय बेँसी झरेका छन् । चिसो अत्यधिक हुने भएपछि त्यहाँका स्थानीयले चिसोबाट जोगिन र व्यापारसमेत गर्न केही बेँसी झरेका छन् भने केही छिमेकी जिल्ला र भारतसम्म पुगेका छन् । जिल्ला छाडेका उपल्लो मुस्ताङवासीले विभिन्न ठाउँमा घुम्ती व्यापार गर्ने गर्छन् । बेनी, बाग्लुङ, पोखरा, काठमाडौंलगायत ठाउँसम्म पुगेका स्थानीयलाई उम्मेदवारले चुनावमा मतदानका लागि यातायातको बन्दोबस्त मिलाएर उपल्लो मुस्ताङमै लैजाने गर्छन् ।

हेलिकोप्टरमार्फत पुर्‍याइयो मतपत्र
मुस्ताङका लागि आवश्यक पर्ने निर्वाचन सामग्री हेलिकोप्टरमार्फत ढुवानी भएको छ । निर्वाचन आयोगले नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्री पुर्‍याएको हो । मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले मुस्ताङका लागि चाहिने मतपत्र, मतदाता परिचयपत्रलगायत सामग्री प्राप्त भएको र आवश्यक सुरक्षा बन्दोबस्त मिलाएर भण्डारण गरिएको जानकारी दिए ।