१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवलपुरका सयभन्दा बढी वनमा आगलागी, २५ सय हेक्टर वन सखाप

जंगलको डढेलो गाउँमा सर्ने जोखिम, डढेलो नियन्त्रणमा साधनको समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:२३:oo

नवलपुरमा केही दिनयता सयभन्दा बढी वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका अनुसार अहिले नवलपुरका ८० प्रतिशतभन्दा बढी सामुदायिक वन, मध्यवर्ती वन, कबुलियती वनलगायत समुदायमा आधारित वन छन् ।

तीमध्ये एक सय सामुदायिक वनमा आगलागी भएको र दुई हजार पाँच सय ५३ हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले सखाप भएको डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले बताए । उनका अनुसार मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा रहेको वन डढेलोबाट बढी प्रभावित भएको छ ।

नवलपुरमा रहेका दुई सय नौ सामुदायिक वनमध्ये ७० मा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका सचिव सुशील पौडेलले बताए । चैतको दोस्रो साताबाट नवलपुरमा डढेलो लाग्न सुरु भएको हो । अहिले दैनिक सरदर १५–२० ठाउँका वनमा डढेलो लाग्ने गरेको छ ।

बढ्दो गर्मी, तातो हावासँगै डढेलो झन् बढी सल्केको देखिन्छ । कतिपय गाउँहरू जंगलको बीचमा वा जंगलनजिक रहेकाले आगो गाउँमा सर्ने जोखिम उत्तिकै रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । मध्यविन्दु नगरपालिका– १४ चनौटेमा जंगलको आगो गाउँमा पस्दा १२ घरगोठ जलेर नष्ट भएका थिए ।

सामुदायिक वनमा च्याउ उम्रिन्छ, किर्ना मर्छ, नयाँ पालुवा पलाउँछ भनेर डढेलो लगाउने गरेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रेग्मीले घटनाको प्रकृति हेर्दा मानवीय लापरबाहीले नै जंगलमा बढी डढेलो लाग्ने गरेको बताए । ‘डढेलोको मुख्य कारण मानवीय नै हो, तर मान्छे भेटिँदैन । आगो लगाएर गएको एक–दुई घण्टापछि डढेलो लागेको थाहा हुन्छ । हामी पुग्दा मान्छे कहाँ पुगिसकेका हुन्छन् । कसले लगाइदियो थाहै हुन्न,’ उनले भने ।

नवलपुरमा कावासोती नगरपालिकामा मात्रै एउटा दमकल छ । अहिले त्यो दमकललाई आगो निभाउन जान भ्याइनभ्याई भएको देखिन्छ । कावासोती आसपासको क्षेत्र र बाटोको सहज पहुँच भएको क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्न दमकलको ठूलो भूमिका भए पनि ग्रामीण क्षेत्र पहाडी क्षेत्र र बाटोको सहज पहुँच नभएको क्षेत्रमा स्याउला र माटोकै भरमा आगो निभाउनुपर्ने र आगो अन्त पास हुन नदिन लाइन कोर्ने र छेक्ने गरेको भरमा आगो निभाउनुपरेको प्रहरी उपरीक्षक रेग्मी बताउँछन् ।

केही सामुदायिक वनहरूले ट्याक्टर, ट्यांकर राखेर आगो निभाउन अग्नि नियन्त्रकको रूपमा प्रयोग गरे पनि पानी नै मुख्य समस्याको रूपमा देखिने गरेको छ ।

ad
ad