सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताएकी छिन्।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रता राजनीतिक स्वतन्त्रतासँग जोडिएको बताइन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्रमा समावेशिताका आधारमा सबैको भावनालाई आत्मसात् गर्दै जानुपर्छ। यसका लागि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ,’ उनले भनिन्।
मन्त्री शर्माले प्रविधिमा आएको परिवर्तनलाई स्वीकार गर्दै निष्पक्ष पत्रकारिताको अभ्यासलाई स्थापित गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिइन्। प्रविधिसँगै आएको परिवर्तनलाई आत्मसात् गर्दै पुराना कानुनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले प्रक्रियागत ढिलाइका बाबजुद पनि मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक संसदमा पेस गर्ने तयारी भइरहेको बताइन्।
नेपालको विज्ञापन बजारमा भएको अनियमितता, साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसदमा लैजाने तयारी भइरहेको मन्त्री शर्माले जानकारी दिइन्। नीतिगत विषय समाधान गरेपछि समस्याको दिगो समाधान हुने उनले विश्वास व्यक्त गरिन्। मन्त्री शर्माले संविधानमा भएको त्रुटिलाई सच्याएर व्यवस्था परिवर्तनबाट अवस्था परिवर्तन गराउनमा मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै संविधानको व्यावहारिक कार्यान्वयन गर्दै कानुनी कुरा स्थापित गर्न मिडियाको व्यापक अभियान आवश्यक रहेको औँल्याइन्।