१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
धुलाम्य दमक–चिसापानी सडक ।
चिरञ्जीवी घिमिरे माङसेबुङ(इलाम)
२o८१ बैशाख २१ शुक्रबार o८:o६:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

इलाम २ उपनिर्वाचन : साढे दुई दशकयता सधैँ चुनावी एजेन्डा बन्ने दमक–चिसापानी सडक

दुई महिनाअघि मात्र ३३ किमि सडकको ठेक्का तोडिएपछि नागरिकमा थपियो चिन्ता

Read Time : > 3 मिनेट
चिरञ्जीवी घिमिरे, माङसेबुङ(इलाम)
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o६:oo

०५६ को निर्वाचनपछि झापाको दमकबाट इलामको माङसेबुङ– ६ स्थित चिसोपानी बजार जोड्ने दमक–चिसापानी सडक चुनावी एजेन्डा बन्दै आएको छ । दमकदेखि इलामको चुलाचुली हुँदै माङसेबुङ गाउँपालिका पुग्ने सडकलाई इलाम २ को निर्वाचनमा प्रतिस्पर्धा गर्ने हरेक उम्मेदवारले चुनावी एजेन्डा बनाउँदै आएका छन् । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यका उम्मेदवारको स्थायी एजेन्डा बनेको छ ।

यो सडकलाई १५ वैशाखमा इलाम २ मा हुन लागेको उपनिर्वाचनमा सबैजसो उम्मेदवारले पहिलो एजेन्डा बनाएका छन् । तर, निर्माण थालनीको अढाई दशकसम्म यो सडक निर्माण पूरा हुन सकेको छैन । उपनिर्वाचनमा मत माग्न आउनेले फेरि दमक–चिसापानी सडकलाई मुख्य एजेन्डा बनाउँदा मतदाताले भने विश्वास गरेका छैनन् । 

दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर सडक ट्र्याक खुलेको अढाई दशकसम्म पनि सहज यात्रा गर्न सक्ने नहुँदा नागरिकमा निराशा छ । ‘दमक–चिसापानी सडक त चुनावी नारा मात्र बन्यो । चुनावका वेला जोडतोडका साथ उठ्छ । तर, सडक निर्माणको काम कहिल्यै सकिँदैन । चुनाव जित्नेले जितेर जान्छन् । तर, हाम्रो दुःख जहिल्यै उस्तै हुन्छ,’ माङसेबुङ– २ की राममाया सम्बाहाम्फे भन्छिन्, ‘यसपटकको उपनिर्वाचनमा पनि यो मुद्दालाई दलहरूले घोषणापत्रको पहिलो नम्बरमै लेखेको देखिन्छ । भाषणमा पनि जोड गरेर उठाएका छन् । तर, यसरी उठाएको अढाई दशक भयो । नेताको ध्यान चुनावी एजेन्डा बनाउनेतर्फ मात्र गयो । बाटो बनाउनेतर्फ गएन । अब दमक–चिसापानी सडक नेताको चुनावी एजेन्डा नबनोस् ।’

अढाई दशकदेखि दमक–चिसापानी सडककै मुद्दा सुनेर भोट हाल्दै आएका माङसेबुङ– ६ का गजेन्द्र कार्की यसपटक भने निराश छन् । दलहरूको पूरा नहुने यो सडक बनाउने उम्मेदवारको आश्वासन सुनेर उनी दिक्दार छन् । ‘अढाई दशकअघि बाटो बनाउँछौँ भन्दै भाषण गरेर नेताले भोट माग्थे । आज पनि यही भनेर भोट माग्छन् । जो आए पनि बाटो फिलिली बनाउँछौँ भन्छन् । तर, हाम्रा नातिनातिनाको पालामा पनि पक्की सडकमा हिँड्ने सपना पूरा होलाजस्तो छैन,’ उनले भने, ‘बाटो बनाउँदै छौँ भन्छन् । तर, बर्खा लागेपछि गाडी कुदाउनै सकिँदैन ।’

माङसेबुङ– ३ लाक्तपाका प्रसाद राईले यसपटक उम्मेदवारका भाषण र एजेन्डामा खासै चासो देखाएका छैनन् । घरसम्म आएका उम्मेदवारसँग पनि उनको भेट भएको छैन । नजिकैको चतुरे बजारमा भोट माग्दै भाषण गरेको टाढैबाट सुन्छन् । तर, उनको ध्यान त्यो भाषणतिर गएको छैन । ‘पहिला त चतुरे बजारमा भाषण गर्दै छन् भन्ने चाल पाइयो भने त्यहीँ पुगेर सुनिन्थ्यो । अहिले उम्मेदवारका कुरा सुन्ने जाँगर नै छैन । उनीहरूले यही दमक–चिसापानीको बाटोको कुरा उठाउँछन् । यो कुरा २० वर्षभन्दा अगाडिदेखि नै सुनेको हो,’ उनले भने, ‘यो सडकबारे उम्मेदवारले उठाएको एजेन्डामध्ये पूरा नहुने एजेन्डामा पर्छ । हामी बर्खामा हिलो र हिउँदमा धुलोले पुरिएर बाँचेका छौँ ।’

०५४ ताका सडक बन्ने हल्लाले उत्साहित भएर दमक–चिसापानी सडकको ट्र्याक खन्न झम्पल र कोदाली बोकेर पुग्नेमध्येका एक हुन् माङसेबुङ– २ डोलटारका धनबहादुर मुकारुङ । त्यसवेला ४० रुपैयाँ मिटरले सडक खनेको स्मरण उनलाई ताजै छ । अढाई दशक बितिसक्दा पनि धुलाम्मे र हिलाम्मे सडकमै हिँड्नुपर्दा धनबहादुर पनि निराश छन् । ‘हामीले बाटो खन्न थालेको केही वर्षमा चुनाव आयो । त्यसवेला उठ्ने उम्मेदवारले पनि यो बाटो बनाइदिन्छु भन्थे । अहिले भोट माग्न आउने सबै उम्मेदवारले यही बाटो बनाइदिन्छु भन्दै छन् । त्यति ठूलो नेता (सुवासचन्द्र नेम्वाङ) हुँदा त बनेन । अब त के बन्ला र !’ उनले भने । 

दमक–चिसापानी सडकको ३३ किलोमिटर ट्र्याक चौडा गर्ने र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा लगाएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले एक महिनाअघि मात्र दुईवटा खण्डको ठेक्का तोड्ने निर्णय गरेको छ । जसले दमक–चिसापानी सडक निर्माणमा झनै अन्योल थपिएको छ । सडक विभागले दोस्रो र तेस्रो खण्डको ठेक्का तोड्ने निर्णय गरिसकेको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवले जानकारी दिए । 

दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको छ । दुवै खण्ड एकैपटक ठेक्का लागेको हो । दोस्रो र तेस्रो खण्ड सडक कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको हो । यो दुई खण्डको म्याद २ फागुन ०७९ मै सकिएको थियो । त्यसपछि थपिएको दश महिनाको समय गत पुस सकियो । तर, त्यो अवधिमा दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रोमा ३० प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी देवले बताए । 

‘काम अघि बढ्ने आधार नदेखिएपछि ठेक्का तोडिएको हो । म्याद थप्दा पनि काम नै अघि बढेन । तेस्रो खण्डको काम चार वर्षमा ३० प्रतिशत मात्र भयो । यस्तै तरिकाले काम सक्न १२ वर्ष लाग्ने भयो । बाध्य भएर ठेक्का तोड्यौँ,’ उनले भने, ‘अब विभागले निर्णय गरेर फेरि ठेक्का लगाउँछ । अहिले निर्माण व्यवसायी यो निर्णयविरुद्ध उच्च अदालत पाटन गएका छन् ।’

सडक कालोपत्रे गर्ने भनेर ठेक्का लगाइए पनि निर्माण व्यवसायीको लापरबाहीले ठेक्का तोड्नुपर्दा स्थानीयमा निराशा छाएको छ । ‘ठेक्का नै हटाइयो (तोडियो) भन्ने हल्ला सुनिँदै छ । यसले त झन् अब बाटो कालोपत्रे हुन्छ भन्ने त आशा नै रहेन,’ माङसेबुङ– २ का धनबहादुर मुकारुङ भन्छन्, ‘ठेकेदारले काम नगर्दा काम लगाउनुपर्ने वेलामा कोही नेता देखिएनन् । अहिले चुनावमा बाटो बनाउँछु भन्दै भोट माग्न आएका छन् । अब कसरी विश्वास गर्ने ?’

पहिलो खण्डको सात किलोमिटर सडकको ठेक्का भने तोडिएको छैन । तर, काम भने सन्तोषजनक नभएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर देवले बताए । खण्डअन्तर्गत दमकको प्वाइन्टदेखि सात किलोमिटर सडक निर्माणका ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लागेको थियो । कालोपत्रेसहितको ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले लिएको थियो । तर, चौथोपटक थपिएको म्याद गत पुसमै सकियो । म्याद सकिए पनि काम भने भइरहेको छ । करिब ६५ प्रतिशत काम भएको सूचना अधिकारी देवले बताए । 

राममाया सम्बाहाम्फे, स्थानीय
माङसेबुङ गाउँपालिका– २ दमक–चिसापानी सडक त चुनावी नारा मात्र बन्यो । चुनावका वेला जोडतोडका साथ उठ्छ । तर, सडक निर्माणको काम कहिल्यै सकिँदैन । चुनाव जित्नेले जितेर जान्छन् । तर, हाम्रो दुःख जहिल्यै उस्तै हुन्छ ।

 

ad
ad