हिमाली जिल्ला मनाङमा यार्सा संकलन सुरु भएको छ । मनाङको नाम्ग्ये खर्कबाट यार्सा संकलन सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका– ८ ताचैस्थित नाम्केबाट संकलन थालिएको छ ।
यही वैशाख १० गतेदेखि नाम्ग्ये खर्कबाट करिब दुई सयजना यार्सागुम्बा संकलनको अनुमति लिएर खर्कतर्फ लागेका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों– ८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाख १० गतेबाट संकलन सुरु गरिएको बताए ।
उनका अनुसार मनाङमा यार्सागुम्बा संकलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । खर्कबाट यार्सागुम्बा संकलन गर्न अनुमति दिने निर्णयबमोजिम संकलकलाई अनुमति दिइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्सागुम्बा संकलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए ।यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङवासीसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका छन् ।
जिल्लाभित्र यार्सागुम्बाको सिजन सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । यार्सा संकलनका लागि नारफु, नाम्ग्ये खर्क, खाङ्सार खर्क पुगेका छन् । यार्सागुम्बा संकलन कार्य नाम्ग्ये खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताए ।
उनका अनुसार असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्ये खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेकलगायतका लेक यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जोतेन्जिङ लामाले यार्सागुम्बा संकलन गरिने भए पनि बाह्य जिल्लाका संकलकलाई अनुमति नदिइएको बताए । एक्यापका प्रमुख भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाह्य जिल्लाका संकलकलाई अनुमति नदिएको बताए ।
मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाका लागि उपयुक्त सिजनको रूपमा लिइन्छ । यार्सागुम्बा खोज्ने क्रममा ०६६ सालमा नारस्थित नाम्ग्ये खर्कमा गोरखाका सातजनाको स्थानीयवासीले हत्या गरिदिएपछि मनाङको साबिकको नार र फु गाविसमा यार्सा संकलन रोकिएको थियो ।
नार घटनापछि एक्याप मनाङले यार्सा संकलनलाई व्यवस्थित बनाउन थालेको छ । चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ ।