१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
एन्डिज मोतेजफेल्ट कारभिक
२o८१ जेठ ६ आइतबार o९:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

द्वैध चरित्रमुक्त हुनुपर्छ विदेश नीति

गाजा र युक्रेन युद्धले पश्चिमी कुटिलताको पुरानो बहसलाई ब्युँताएको छ

Read Time : > 3 मिनेट
एन्डिज मोतेजफेल्ट कारभिक
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:o७:oo

युक्रेन र गाजामा जारी युद्ध र इरान–इजरायलबीच एक–आपसमा मिसाइल प्रहारपछि अन्तर्राष्ट्रिय कानुनको प्रतिरक्षा थप महत्वपूर्ण बनेको छ । धेरैले पश्चिमले जोसुकैले पनि अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने भनेर युक्रेनप्रति गरेको समर्थनलाई गाजाप्रतिको बेवास्ताले निस्तेज बनाइदिएको तर्क गर्छन् । यसले विदेश नीतिका सम्बन्धमा पश्चिमको दोहोरो चरित्र भएको बहसलाई जन्म दिएको छ । पश्चिमा देशहरूले आफ्नो स्वार्थ पूरा हुने भए मात्रै अन्तर्राष्ट्रिय कानुनको उल्लंघनबारे चिन्ता गर्छन् भन्ने आरोप छ ।

नर्वेका सन्दर्भमा भने यो आरोप सही हुदैन । हामीले हाम्रो अन्तर्राष्ट्रिय कानुनप्रतिको प्रतिबद्धताले युक्रेनमाथिको रुसी युद्धको मात्र निन्दा गर्दैन, गाजामा इजरायलले गरिरहेको अन्तर्राष्ट्रिय कानुनको उल्लंघनबारे पनि आवाज उठाउँछ भनेर स्पष्ट पारिसकेका छौँ । विदेश नीतिमा दोहोरो चरित्र नदेखाउनु नर्वेको लामो समयदेखिको प्राथमिकता रही आएको छ ।

कानुन उल्लंघन गर्ने जो भए पनि हरेक नर्वेजियाली सरकार अन्तर्राष्ट्रिय कानुनको प्रतिरक्षामा उभिएका छन् । गाजामा चलिरहेको युद्ध होस् वा अफ्रिकी महाद्वीपको द्वन्द्व, प्यालेस्टिनी भूभागमा इजरायलको अवैध कब्जा वा चागोस द्वीप समूहमा बेलायतले गरेको अन्तर्राष्ट्रिय कानुनको उल्लंघन वा युक्रेनविरुद्ध रुसको आक्रामक युद्ध, हामी कुनै पनि उल्लंघनको विरोध गर्न पछि हटेका छैनौँ । यी सबैमा नर्वेको अडान प्रस्ट छ । 

हुनत, के यो सही दृष्टिकोण हो त भनेर शंका गर्नेहरू पनि छन् । मित्र वा  साझेदार मुलुकले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दा तिनिहरूको आलोचना गर्ने सवालमा होसियार हुनुपर्ने तर्क गरिन्छ । विश्व खतरायुक्त छ यसैले आफ्ना सहयोगी र साझेदारले अन्तर्राष्ट्रिय कानुनसँग बेमेल हुने कार्य गर्दा पनि उनीहरूबाट विशेषगरी नर्वेजस्ता साना राज्यले आफुलाई अलग गर्नु हुदैन भन्ने गरिन्छ । 

गाजामा चलिरहेको युद्ध होस् वा अफ्रिकी महाद्वीपको द्वन्द्व, प्यालेस्टिनी भूभागमा इजरायलको अवैध कब्जा होस् वा युक्रेनविरुद्ध रुसको गैरकानुनी आक्रामक युद्ध, यी सबैमा नर्वे प्रस्ट छ

तर यो गलत दृष्टिकोण हो । कुनै पनि मुलुकको वास्तविक सुरक्षा विश्व चुनौतीको समाधानार्थ उभिने शान्तिपूर्ण अन्तर्राष्ट्रिय समुदायमा नै निर्भर गर्छ । बदलामा हामीले अन्तर्राष्ट्रिय कानुनको सम्मान हुने कुराको सुनिश्चितता गर्नुपर्छ । जबसम्म सबै देश अन्तर्राष्ट्रिय कानुनप्रति प्रतिबद्ध हुँदैनन्, त्यस्तो प्रणाली अन्ततः पतन नै हुनेछ । त्यसले सधैँ असुरक्षा र अनिश्चितता नै निम्त्याउँछ ।

एक सय वर्षअघि प्रख्यात अन्तर्राष्ट्रिय कानुनविद् एवं नर्वेजियाली प्रधानमन्त्री फ्रान्सिस हेगरपले राज्यहरूबिचको सार्वभौम समानताको सिद्धान्त विश्वका देशहरूको म्याग्नाकार्टा भएको टिप्पणी गरेका थिए । आज पनि अन्तर्राष्ट्रिय कानुनप्रति अटल प्रतिबद्धताबाहेक अरू कुनै पनि कदम अन्तर्राष्ट्रिय समुदायका लागि विनाशकारी हुनेछ ।

के पश्चिमका साझेदारहरूको सम्बन्धमा अन्तर्राष्ट्रिय कानुनको हाम्रो निरन्तरको पक्षधरतालाई रुस र चीनले पश्चिम पाखण्डी छ भनेर प्रचार गरेको कथनको स्वीकृतिकारूपमा गलत अर्थ लगाउन सकिन्छ ? कसैले यसलाई जानाजान गलत बुझ्ने प्रयास गर्छ भने मात्रै गलत अर्थ लगाउन सकिन्छ अन्यथा सकिदैन । पश्चिमका देशले पनि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेका छन् । यो कुरा भने सत्य हो । सन् २००३ मा अमेरिका र बेलायतले इराकमा गरेको आक्रमण यसको एउटा उदाहरण हो । (२० वर्षपहिले जस्तै) दोधारे नीति नलिने अडान राख्ने नर्वेजस्तो देशमा आफ्नो अडानलाई कायम राख्ने साहस हुनुपर्छ । तब मात्र हामीले विदेश नीतिका समबन्धमा दोहोरो चरित्रमा चल्ने राज्यहरूको आलोचना गर्न सक्छौँ । 

आफ्नो विश्वसनीयताको फाइदा उठाउन सक्छौ । अनि मात्र हामीले अन्तर्राष्ट्रिय कानुनको पहरेदार भएको रुसी दावीलाई फोस्रो सावित गर्न सक्छौँ । युक्रेनका विद्यालय र अस्पतालहरूमाथि बमबारी रुस गाजाका सर्वसाधारणको हत्यादेखी कत्तिको स्तब्ध छ भन्ने त स्पष्टै छ । हाम्रा पश्चिमा मित्रहरूले के बुझ्न थालेका छन् भने कुनै पनि मुलुकको यस्तो निन्दनीय दोहोरो चरित्रलाई आफू नैतिकवान् भए मात्र प्रभावकारी रूपमा सामना गर्न सकिन्छ ।

युक्रेन र गाजा दुवैको सन्दर्भमा नर्वेको निरन्तरको अडानले हामीलाई त्यस्ता विरोधाभासहरूलाई औँल्याउन अनुमति दिन्छ । अहिले दमस्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको आक्रमण र इजरायलविरुद्ध इरानको प्रतिकारात्मक हमलाको सन्दर्भमा पनि हाम्रो अडान समान छ ।

पहिलो घटनाका लागि इजरायलको आलोचना गरेकैले (जुन आलोचना गर्न सबै राज्य इच्छुक थिएनन्) नर्वेले दोस्रो घटनामा इरानको आलोचना गर्न सक्ने नैतिक ताकत राख्छ । कसैकसैले अन्तर्राष्ट्रिय कानुनको प्रत्येक उल्लंघनमा चिन्तित हुनु व्यावहारिक नहुने तर्क पनि गरेका छन् । तर, यसले हामीलाई यथार्थपरक प्राथमिकतामा आधारित परराष्ट्र नीति लागू गर्नबाट रोक्न सक्दैन ।

अर्को महादेशको कुनै कुनामा भइरहेको युद्धले भन्दा छिमेकमा भएको युद्धले मानिसलाई बढी चिन्तित बनाउँछ भन्ने कुरा सहजै बुझ्न सकिन्छ । रुस (जोसँग नर्वेको लामो सिमाना जोडिएको छ) बलको अवैध प्रयोगबाट युक्रेनी भूमि गाभ्ने प्रयास गर्दै छ । यो नर्वेका लागि डरलाग्दो विषय हो । यसर्थ, नर्वेलाई युक्रेनको आत्मरक्षाका लागि युद्ध सामग्री उपलब्ध गराउने वा युक्रेनलाई ऐतिहासिक रूपमा नै ठूलो सहायता प्याकेज दिएकोमा दोहोरो चरित्रको आरोप लगाउन सकिँदैन । 

अन्य राज्यजस्तै रुसप्रतिको आलोचनामा पनि हामीले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका अन्य विश्वव्यापी नियमका उल्लंघनलाई नै आधार बनाउनेमा जोड दिएका छौँ । त्यसैगरी कब्जा गरिएका प्यालेस्टिनी भूभागलाई विलय गर्ने इजरायलको नीतिको आलोचना गर्नबाट पनि नर्वे पछि हटेको छैन । कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रबारे इजरायली नीतिको सम्बन्धमा नर्वेले फेब्रुअरी २०२४ मा अन्तर्राष्ट्रिय न्यायालयसमक्ष प्रस्तुत गरेको आफ्नो प्रस्तुतीकरण पनि यही अडानबाट प्रेरित थियो । अदालतमा हामीले गाजामाथिको इजरायली कदम अविवेकी र बलको असमान प्रयोग भएको बताएका थियौँ । हामी अहिले प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यता सुनिश्चितताको प्रयास गरिरहेका छौँ ।

नर्वेका लागि के कुरा महत्वपूर्ण हो भने हामी समान मामिलालाई समान रूपमा व्यवहार गर्न आग्रह गर्छौं । यो अडानले सबै राज्यलाई प्रेरित गर्नुपर्छ । शक्तिको प्रयोग, खुला व्यापार, मानवअधिकार, महासागर र तिनका स्रोतको प्रयोगसम्बन्धी विश्वव्यापी रूपमा सहमत नियम पालना गर्नु प्रत्येक राज्यको दायित्व हुन्छ । हाम्रो साझा भविष्य अन्तर्राष्ट्रिय कानुनको सम्मानमा नै निर्भर छ । ग्लोबल नर्थ र ग्लोबल साउथका देशहरूले अन्तर्राष्ट्रिय कानुनलाई नै मार्ग निर्देशनको रूपमा हेर्न आवश्यक छ । अन्तर्राष्ट्रिय व्यवस्थाको सिद्धान्तलाई ( क्षणिक लाभका लागि)को उल्लंघन गर्ने लालसालाई सबै देशले प्रतिरोध गर्नुपर्छ ।

नर्वेका सुप्रसिद्ध कवि हेनरिक इब्सन विनम्र समाज निर्माणको सुत्र पस्किन्छन– दोहोरो चरित्रबाट बाहिर निस्कने । नर्वेको अडान स्पष्ट छ, शान्तिपूर्ण र न्यायपूर्ण विश्व व्यवस्था निर्माण । विदेश नीतिमा दोहोरो चरित्रबाट बच्नु र अन्य राज्यहरूले पनि त्यसै गर्ने सुनिश्चितताका लागि काम गर्नु हाम्रो आफ्नो राष्ट्रिय सुरक्षाका लागि समेत सबैभन्दा महत्वपूर्ण योगदान हुन्छ । 
अलजजिराबाट

ad
ad