नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चुनावपछि गठन हुने सरकारको नेतृत्वबारे गठबन्धनमा छलफल नभएको बताएका छन्। धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनको ध्यान अहिले चुनावमा केन्द्रित रहेको बताए।
‘सरकारको बारेमा कुनै औपचारिक छलफल भएको छैन। हाम्रो सबै ध्यान बढीभन्दा बढी सिट गठबन्धनको पक्षमा ल्याउनेमा केन्द्रित छ,’ उनले भने, ‘बढीभन्दा बढी सिट जितेपछि यसबारे छलफल गर्छौँ।’
शीर्ष तहमा पनि सरकारको नेतृत्वबारे छलफल भएको आफूलाई जानकारी नरहेको उनले बताए। चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्छ भन्ने यसअघि आफूले दिएको अभिव्यक्तिबारे उनले कांग्रेस नेतृत्वदायी भूमिका रहेकाले स्वाभाविकरूपमा नेतृत्वमा दाबी रहन्छ भनेको बताए।
‘कांग्रेस नेतृत्वदायी भूमिकामा छ। एक सय ६५ क्षेत्रमध्ये ९१ सिटमा हामी लडेका छौँ र बाँकीमा गठबन्धनका चार दलहरू लडेका छन्। यसबाट पनि नेपाली कांग्रेस नेतृत्वदायी हो भन्ने कुरामा दुईमत छैन,’ प्रवक्ता महतले भने, ‘त्यस अर्थमा मैले नेपाली कांग्रेसको नेतृत्व स्वाभाविक हुन्छ भनेको हो तर सरकारको नेतृत्वबारे औपचारिक छलफल भएको छैन।’