गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दा सच्चा राष्ट्रवादी भएको बताएका छन्। नेपाली भूमिको रक्षामा सीमा क्षेत्रका बासिन्दाको उल्लेख्य योगदान रहेको बताउँदै उनीहरू सच्चा राष्ट्रवादी भएको बताए।
सीमा क्षेत्रमा बसोबास गर्नेले नेपालको एक इन्च भूमि पनि दायाँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रको भूमि जोगाउन लागिपरेको बताए।
रुपन्देहीको सियारी–२ मा पाँचदलीय गठबन्धनले आयोजना गरेको निर्वाचन प्रचारप्रसार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार खाणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको बताए।
सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधैँ उच्च सम्मान गर्दै आएको र गरिरहने बताए। ‘मुलुकको सिमानामा स्थायी बसोबास भएका, आफूहरूको घर, आँगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी हुन भन्ने मेरो र सरकारको ठम्याइ हो,’ खाणले भने।
सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीका दुःख, मर्का, पीडा र समस्या समाधान गर्न सरकार लागिपरेको बताए।