मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Thursday, 19 December, 2024
राणा अड्ढयुब
२o७९ कार्तिक २ बुधबार १o:५२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतमा बढ्दो उग्रवादमा अन्तर्राष्ट्रिय जगतकाे मौनता

मोदी सरकार मानव अधिकार संगठन र अन्तर्राष्ट्रिय मिडियाका सबै आलोचनालाई आफ्नो सरकारको छवि धुमिल पार्ने प्रयास भन्दै खारेज गर्छ

Read Time : > 2 मिनेट
राणा अड्ढयुब
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार १o:५२:oo

गत हप्ता भारतको सर्वाेच्च अदालतले ठूलो राजनीतिक विवाद निम्त्याएको हिजाब मामिलामा अदालती प्रक्रिया सुरु गरेको छ । दक्षिणी भारतको कर्नाटक राज्यले फेब्रुअरीमा हिजाबलाई गैरकानुनी घोषणा गर्दा भारतीय मुसलमानलाई आक्रोशित बनाएको थियो । तर, राज्यको यो निर्णयलाई मुसलमानविरुद्धको अभियानमा आफ्नो जित भएको महसुस गर्दै हिन्दू राष्ट्रवादी उत्साहित भए । अदालती प्रक्रियाले अन्ततः भारतको धार्मिक परिदृश्य अत्यन्तै विभाजित भएको उजागर गरेको छ । इजलासका एक न्यायाधीशले हिजाब पहिरिनुलाई व्यक्तिगत रोजाइ घोषणा गरेका थिए भने अर्काले मुद्दालाई नै खारेज गर्ने गरी हिजाब इस्लामका लागि ‘आवश्यक’ नभएको बताए । 

भारतका मुसलमान समस्यालाई लिएर आँखा चिम्लन सक्दैनन् । भारतका मुसलमान महिलाहरूले पनि इरानका समकक्षीले झैँ कस्तो लुगा लगाउने वा नलगाउने र आफ्नो जीवन कसरी व्यतीत गर्ने भन्नेबारे संघर्ष गरिरहेका छन् । हिजाबको छनोटलाई मौलिक अधिकारको रूपमा हेर्ने धेरै मुसलमान बालिका÷किशोरीले हिजाब पहरिने अडान राखेका थिए र उनीहरूलाई विद्यालयपरिसरमा प्रवेश गर्न वा परीक्षा दिनबाट नै रोकिएको थियो । यी महिलाले हिजाबमाथिको आक्रमणलाई मुसलमान पहिचानमाथि भइरहेको बृहत् आक्रमणकै हिस्सा बुझेका छन् ।

अन्तर्राष्ट्रिय समुदायका केही सदस्यले यी आक्रमणलाई उपेक्षा गरिरहे पनि यी आक्रमणको तथ्यलाई अस्वीकार गर्न सम्भव छैन । हिन्दू राष्ट्रवादी आज भारतका सडकमा तरबार बोकेर मस्जिद अगाडि भड्काउ नाराबाजी गरिरहेका पाइन्छन् । मुसलमानमाथि भिड आक्रमणका भिडियो सामाजिक सञ्जालमा कैयौँपटक देख्न सकिन्छ । अत्याचारविरुद्ध मुखर भएको बदलामा मुसलमान अभियन्ता र विद्यार्थीलाई राज्य संयन्त्रले कानुनी प्रक्रियासमेत पालन नगरी घर भत्काइदिएका छन् । समाचार संस्था स्क्रोलको हालैको रिपोर्टअनुसार ‘बढ्दो बहुसंख्यकवाद’का कारण भारतीय मुसलमानले मुलुक छाडिरहेका छन् । भारतमा यही महिना मात्रै पनि मुसलमान अल्पसंख्यकविरुद्ध कैयौँ नियोजित आक्रमण भएका छन् ।

अक्टोबरको पहिलो साता बिदर सहरको ऐतिहासिक मस्जिदभित्र पसेर एक भिडले जबर्जस्ती पूजापाठ गरेका थिए र जय श्री रामको नारा लगाएका थिए । त्यसैगरी एक हिन्दू उत्सवमा कथित अतिक्रमण र अवरोध गरेको भन्दै गुजरातमा केही मुसलमान पुरुषलाई ल्याम्पपोस्टमा बाँधिएको नृशंस भिडियो अनलाइनमा भाइरल भएको थियो । जब गुजरात प्रहरीले यी मुसलमान पुरुषलाई बाँधेर पिटिरहेका थिए, छेउको भिड राष्ट्रवादी नारा लगाउँदै नाचिरहेको थियो । यसबाहेक गत महिना उग्रदक्षिणपन्थी समूह बजरंग दलका सदस्यले नवरात्रको उत्सवमा भाग लिएको र हिन्दू महिलालाई सम्मोहित पार्ने प्रयास गरेको भन्दै मुसलमान पुरुषलाई कुटपिट गरेका थिए । 

उग्रवादी किन उत्साहित छन् भनेर बुझ्न गाह्रो छैन । प्रधानमन्त्री नरेन्द्र मोदी शक्तिको चरम सीमामा छन् । मिडियामाथि सरकारको आक्रमण र भारतका सबै संस्थामा भारतीय जनता पार्टी (भाजपा)को बढ्दो प्रभावले समाजलाई पछाडि धकेल्ने कट्टरपन्थलाई नियन्त्रण गर्ने क्षमतामा बाधा पुगिरहेको छ । यसैबीच उनका पार्टी सदस्यहरू आगोमा घिउ थप्ने काम गरिरहेका छन् । उदाहरणका लागि भाजपा नेता एवं सांसद प्रज्ञा सिंह ठाकुरले हालै मुसलमानलाई हिन्दू उत्सवमा भाग लिन दिनुहुँदैन भनिन् । आठ वर्ष जेलजीवन बिताएपछि धरौटीमा छुटेकी ठाकुर संसद्मा निर्वाचित भएकी थिइन् । अहिले पनि मस्जिदनजिकै ६ जनाको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न भएको अभियोगमा उनीमाथि मुद्दा चलिरहेकै छ । त्यसैगरी अर्का भाजपा सांसदले मुसलमान व्यवसायीको व्यापारलाई ‘पूर्ण बहिष्कारको आह्वान गरेका थिए । 

सामाजिक सञ्जालमा सबैभन्दा लोकप्रिय मोदीले समावेशिता वा मुसलमानविरुद्ध हिंसा रोक्नका लागि कुनै पैरवी वा आह्वान गरेका छैनन् । यसबाहेक उनले भारतमा साम्प्रदायिक द्वेष फैलाउने भाषा प्रयोग गरेकोमा आफ्ना सांसदको सार्वजनिक निन्दा पनि गरेका छैनन् । यति हुँदाहुँदै पनि भारतका मुसलमान र अन्य अल्पसंख्यकको पक्षमा बोल्न अन्तर्राष्ट्रिय जगत् इच्छुक देखिँदैन । विश्वनेता स्पष्ट रूपमा चीन र रुसको सामना गर्न भारतसँग रणनीतिक सम्बन्ध कायम राख्नुलाई प्राथमिकता दिन्छन् । यो बदनियतपूर्ण एवं अवसरवादी उपेक्षाले भारतका २२ करोड मुसलमानविरुद्धको राज्य–अनुमोदित हिंसालाई बढावा दिइरहेको छ ।

 बेलायतमा हालैका देखिएको घटनाले भारतबाट सिर्जित भनिएको साम्प्रदायिक द्वेषको दूरगामी प्रभावलाई स्पष्ट पार्छ । गत महिना लेस्टर सहरमा हिन्दू र मुसलमान समुदायबीच साम्प्रदायिक हिंसा भड्किएको थियो । बिबिसीको रिपोर्टअनुसार भारतका सामाजिक सञ्जालका दुराशययुक्त मिथ्या सूचनाले यो हिंसा भड्काएको थियो । साम्प्रदायिकताको बाछिटा अमेरिकामा पनि देखिन थालेका छन् । यही अगस्टमा न्युजर्सीमा भएको भारतीय स्वतन्त्रता दिवसको कार्यक्रममा बुल्डोजर प्रयोग गरिएको थियो, जसले ठूलो विवाद चर्कायो ।

स्मरण रहोस्, भारतमा सरकारविरुद्ध मुखर हुने मुसलमानका घर बुल्डोजरले भत्काइने गरेको छ । 
अमेरिका र बेलायतका घटनाले भारतको बढ्दो घृणा र विभाजन अब राष्ट्रिय सीमामा सीमित छैन भन्ने चेतावनीको काम गरेको छ । यही महिना ह्युमन राइट्स वाचले एक विज्ञप्ति जारी गर्दै भारतमा मुसलमानविरुद्ध हुने अपराधमा वृद्धि भएको देखाएको छ । तर, मोदी सरकारले मानवअधिकार संगठन र अन्तर्राष्ट्रिय मिडियाका सबै आलोचनालाई आफ्नो सरकारको छवि धुमिल पार्ने प्रयास भन्दै खारेज गरेको छ । भारतमा अन्याय बढ्दै गर्दा विश्वले मौनता साँधेर बसेको छ । यस सन्दर्भमा एक इजिप्सियन उखान सान्दर्भिक हुन्छ, ‘फारो, कसले तिमीलाई तानाशाहमा परिणत गर्‍यो ?’ फारो भन्छ, ‘मलाई कसैले रोक्न खोजेन ।’

(पत्रकार एवं वासिंगटन पोस्टकी स्तम्भकार  अड्ढयुब ‘गुजरात फाइल्स : एनाटोमी 
अफ कभर अप’की लेखक हुन्) द वासिंगटन पोस्ट