१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज २४ सोमबार o९:१o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एमालेमा प्रभु साहको स्वतन्त्र उम्मेदवारी, जसपाले पाएको क्षेत्रमा प्यानल खडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार o९:१o:oo

चुनावी विद्रोह

पूर्वमन्त्री प्रभु साहले एमालेको टिकट अस्वीकार गर्दै रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । एमालेले जसपासँग तालमेल गरेसँगै चिढिएका उनले जसपाले पाएको सबै क्षेत्रमा समूहगत रूपमै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टी नेतृत्वले मधेस जसपालाई जिम्मा लगाएको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

‘जसले साम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो पार्टीलाई मधेस जिम्मा लगाउनु राष्ट्रघाती काम हो,’ उनले भने, ‘एमालेबाट टिकट लिएपछि मैले पनि जसपाको बचाउ गर्नुपर्छ । त्यसो गर्नुभन्दा स्वतन्त्र उम्मेदवार लड्नु उपयुक्त देखेकाले दर्ता गराएँ ।’ साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि निर्वाचन क्षेत्र ३ अन्तर्गत (ख) मा एमालेबाट टिकट पाएका कुन्दन कुसवाहले पनि स्वतन्त्र मनोनयन दर्ता गरेका छन् । क्षेत्र ३ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका धीरज पटेलले मनोनयन दर्ता गरेका छन् । 

दाङ १ मा शान्ता चौधरीविरुद्ध निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले बागी उम्मेदवारी दिएकी छन् । ०७० मा थरुहट पार्टीबाट सांसद निर्वाचित उनी ०७४ मा एमालेबाट समानुपातिक सांसद थिइन् ।

रुपन्देही ५ मा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईविरुद्ध तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासु घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । घिमिरेले पाएको टिकट परिवर्तन गरी अन्तिममा भट्टराईलाई दिइए पनि उनले पनि आफू नै आधिकारिक उम्मेदवार भएको भन्दै उम्मेदवारी दर्ता गराएका हुन् । एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमाले र राप्रपाबीच भएको चुनावी गठबन्धनविरुद्ध चन्दले प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका हुन् । एमाले–राप्रपाबीच भएको चुनावी गठबन्धनअन्तर्गत क्षेत्र ३ (क) एमालेले राप्रपाका लागि छाडेको थियो । त्यहाँ राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीको उम्मेदवारी छ ।

अन्तिम समयमा टिकट नपाएपछि मोरङ ५ मा एमालेका दुई नेताले पार्टीबाट विद्रोह गर्दै उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभाको उम्मेदवारमा नाम टुंगो लागिसकेका योगेन्द्र मण्डलले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रदेश सभा सदस्य वसन्तीदेवी यादवले पनि पार्टी त्यागेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छिन् । मण्डलको ठाउँमा जसपाका राजकुमार यादवले टिकट पाएका छन् ।

मकवानपुरमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिह्नबाट उम्मेदवार बनाएको विरोधमा एमालेका कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । हेटौँडा– ५ स्थित पुष्पलाल पार्कनजिक रहेको एमाले पार्टी कार्यालयमा कार्यकर्ताले कमल थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै ताला लगाएका हुन् । सो क्षेत्रमा टिकट दिइएका रामेश्वर रानालाई ब्याक गराएर अध्यक्ष केपी ओलीले पार्टीको चिह्नबाट थापालाई उठाउने निर्णय लिएका थिए । कास्की ३ मा एमालेका दामोदर बैरागीविरुद्ध जगन्नाथ बास्तोलाले उम्मेदवारी दिएका छन् । काठमाडौं ७ मा एमालेका आधिकारिक उम्मेदवार श्याम घिमिरेविरुद्ध रामवीर मानन्धरले उम्मेदवारी दिएका छन् । उनी सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् ।

एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी)सँगको गठबन्धन तोडेको छ । कांग्रेस (बिपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने सहमति भए पनि एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।