१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १७ सोमबार
  • Saturday, 28 September, 2024
मकवानपुरको चुरियामाइँ मन्दिरमा पूजा गर्नेहरुको घुइँचो
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १७ सोमबार o६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज अष्टमी, महागौरीको पूजा गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १७ सोमबार o६:३५:oo

बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा–आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेको, त्यो शब्द भगवतीलाई मन नपरेपछि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । 

महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भनी पुराणलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिन्छ । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा–आराधना गरिन्छ भने दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा–आराधना गर्ने प्रचलन छ । 

तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी तथा सातौँ दिन कालरात्रि देवीको आराधनापछि बडादशैँको आठौँ दिन आज महागौरी देवीको विशेष पूजा–आराधना गरिँदै छ । 

नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । 

महाष्टमीका दिन आज हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने चलन छ । 

काठमाडौं उपत्यका विभिन्न शक्तिपीठहरुसहित देशैभरका देवीका शक्तिपीठहरुमा आज बिहानैदेखि घुइँचो छ ।