१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार o८:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी यू–२० एसियन कप छनोट : चार खेलमा १५ गोल व्यहोर्दै बाहिरियो नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o८:१८:oo

नेपाली युवा फुटबल टोलीले एएफसी यू–२० एसियन कप २०२५ छनोटमा खराब प्रदर्शन गरेको छ । नेपाल चार खेलमा १५ गोल व्यहोर्दै छनोट चरणबाटै बाहिरिएको छ । कमजोर फिनिसिङ भएको नेपालले विपक्षी पोस्टमा केवल तीन गोल मात्र फर्काएको छ ।

समूहको आफ्नो अन्तिम खेलमा शुक्रबार नेपाल बहराइनसँग ४–० ले पराजित भयो । चाइनिज ताइपेईस्थित न्यु ताइपेई सिटीमा भएको समूह ‘बी’को अन्तिम खेलमा नेपालले बहराइनविरुद्ध कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । 

बहराइनको जितमा स्ट्राइकर सामी बस्सम अदीले दुई गोल गरेका थिए । मिडफिल्डर खलिद अल्खलाफ र रक्षक अली अहमद हसनले बहराइनका लागि समान एक–एक गोल नेपाल पोस्टमा छिराए । हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एसियन कप खेल्ने नेपालको सम्भावना समाप्त भएको छ । उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । 

दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो । समीर तामाङले ह्याट्रिकको सहयोगमा नेपालले घरेलु टोली ताइपेईलाई ३–१ ले हरायो । तेस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० को लज्जास्पद हार व्यहोर्न पुगेको थियो ।

तीन खेल खेलिसकेका कम्बोडिया र बहराइनले समान ६ अंक बनाएका छन् । दुई खेल खेलेको उज्वेकिस्तानको पनि समान ६ अंक छ । शीर्ष स्थानमा रहने टोली सीधै चीनमा हुने प्रतियोगितामा छनोट हुनेछ । नेपालको चार खेलबाट तीन अंक रहँदा चाइनिज ताइपेईको कुनै अंक छैन । छनोट प्रतियोगितामा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन् । त्यसका लागि उज्वेकिस्तान, कम्बोडिया र बहराइन तीनै राष्ट्रको सम्भावना यथावत् छ ।

युवा टोलीले खेलेको आठ खेलमा २१ गोल 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि खुला छनोटबाट युवा टोली बनेको हो । यसै यू–२० टोलीले आठ अन्तर्राष्ट्रिय खेलमा समग्रमा २१ गोल व्यहोरेको छ । नेपालले विभिन्न विपक्षीविरुद्ध नौ गोल गरेको छ । साफमा मात्रै टोलीले पाँच गोल गर्दा ६ गोल खाएको थियो । नेपालले आठ खेलमा तीन मात्रै जितेको छ । साफमा बंगलादेशविरुद्ध सेमिफाइनलमा निर्धारित समय १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा नेपालले ४–१ ले जितेको थियो । एन्फाले दुई प्रतियोगिताका लागि जिल्ला, प्रदेश हुँदै केन्द्रमा खेलाडी छनोट गरेको थियो । पछिल्लो समय एकेडेमी सञ्चालनलाई प्रभावकारी बनाउन नसकेको एन्फाले जिल्ला र प्रदेशबाट खेलाडी छनोट गराउँदै आएको छ ।