१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार o८:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शनिबार बिहानसम्म आन्तरिक उडानमा रोक, मौसममा सुधार आए मात्र उडान खुला गरिने 

शुक्रबारका कुल १५० आन्तरिकमध्ये ३९ मात्र उडान, अन्तर्राष्ट्रिय उडानहरू भने नियमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o८:४६:oo

शुक्रबार साँझ देशैभरका विमानस्थलको आन्तरिक उडान स्थगित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सुरक्षालाई ध्यानमा राख्दै शनिबार बिहानसम्मका लागि सम्पूर्ण आन्तरिक उडान स्थगित गरेको हो ।

मौसम अनुकूल भएमा शनिबार बिहानैदेखि नियमित उडान हुने क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । ‘मौसमको प्रतिकूलता, गन्तव्यहरूमा खराब मौसम, इनरुट समस्या, जहाज बिचबाटै फर्काउनुपर्ने अवस्थाका कारण हवाई सुरक्षालाई ध्यानमा राख्दै शनिबार बिहानसम्मका लागि आन्तरिक उडान बन्द गरेका हौैँ,’ उनले भने, ‘शनिबार मौसम खुलेमा उडान सञ्चालन हुन्छ, यस्तै रहिरहे स्थगन गर्नुपर्ने हुन्छ, शनिबार मौसम हेरेर निर्णय लिन्छौँ ।’

शुक्रबार बिहानैदेखि निरन्तर झरी परेपछि दिनभरि नै देशभरको आन्तरिक उडान अस्तव्यस्त बन्यो । शुक्रबारका कुल १५० आन्तरिक उडानमध्ये ३९ वटा मात्र उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । ‘७४ प्रतिशत आन्तरिक उडान रद्द भएका छन् । दिनभरिमा बुद्धले २२, यतीले सात र श्रीले १० वटा उडान गर्न भ्याए,’ उनले भने, ‘धेरै उडानहरू खराब मौसमका कारण बिचबाटै फर्काउनुप¥यो, साँझसम्म पनि मौसममा सुधार नभएपछि शुक्रबारका सबै उडान स्थगित गरेका छौँ ।’ 

त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार साँझसम्म पनि पोखरा, सुर्खेत, भरतपुर, सिमरा, भद्रपुर विमानस्थलमा कम भिजिबिलिटीका कारण उडान हुन सकेनन् । भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा भने उडान भएका थिए । मौसम अनुकूल बनेपछि विराटनगर विमानस्थलमा दिउँसो ३ बजेदेखि उडान भएको थियो । कम भिजिबिलिटीका कारण दिनभरि नै त्रिभुवन विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान भएको उनको भनाइ थियो ।