मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १४ शुक्रबार १८:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन आयोगमा प्रेस अफिस स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १४ शुक्रबार १८:२६:००

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ। 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज सो कार्यालयको उद्घाटन गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सही रूपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष रूपमा सम्पन्न गर्न सघाउन आग्रह गरे। 

प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनसँग मिडियाले सम्बन्धित खोज्ने सूचना एकद्वार प्रणालीबाट प्रभावकारी ढंगले प्रवाह गर्न प्रेस अफिस सञ्चालनमा ल्याइएको हो । यसका अलवा प्रेस अफिबाट आमनागरिकले बुझ्ने सरल भाषामा मतदाता शिक्षाका सामग्री पनि उत्पादन गरी सम्प्रेषण हुनेछन्।’

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममाथि पूर्ववत् रूपमा गर्दै आएको सञ्चारमाध्यमको अनुगमन यथावत् गर्नेमा आयोगले स्पष्ट पारेको छ। 

सामाजिक सञ्जालबाट हुन सक्ने दुष्प्रचार, भ्रामक सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न तथा निर्वाचनका समयमा साइबर सुरक्षाको चुनौती कम गर्न नेपाल सरकारका सम्बन्धित निकायले गरी आएको कामलाई निर्वाचनका समयमा प्रभावकारी बनाउन आयोगको प्रेस अफिसमा सम्पर्क व्यक्तिका रूपमा ती निकायबाट प्रतिनिधि राखिएको जनाएको छ। 

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देश आममतदाता, उम्मेदवार, राजनीतिक दललगायतका सरोकारवालासमक्ष प्रभावकारी तवरले सम्प्रेषण र सञ्चारमाध्यमसँग उचित सहकार्य गर्न र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोग गरी आयोगका गतिविधि अझ प्रभावकारी रूपमा सम्प्रेषण गर्न एवं तिनको अनुगमन व्यवस्थित गर्न यो कार्यालय खडा गरिएको जनाएको छ।

यस कार्यालयबाट  सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सूचना प्रवाहका लागि एकद्वार प्रणाली लागू भई आयोगले प्रवाह गर्ने हरेक प्रकारका सूचना तथा सन्देश प्रभावकारी तवरले लक्षित वर्गसम्म प्रवाह हुने आयोगले जनाएको छ। 

निर्वाचनसँग सम्बन्धित दुष्प्रचार, मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिको रोकथाम गर्न, निर्वाचनमा हुने बदर मत गत निर्वाचनको तुलनामा कम गर्न यस कार्यालयले भूमिका निर्वाह गर्नेछ । साथै निर्वाचन प्रचारप्रसारमा आमसञ्चार क्षेत्र र सामाजिक सञ्जालसँग साझेदारी तथा सहकार्य अभिवृद्धि हुनेछ ।
      
प्रेस कार्यालयले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा भ्रमपूर्ण, अफवाहपूर्ण तथा मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति र सूचना तोडमोड गर्ने व्यक्तिलाई त्यस्तो सामग्री, सूचना सामाजिक सञ्जालबाट तत्काल हटाउन लगाउने, त्यस्तो व्यक्तिलाई कानुनबमोजिम तत्काल कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने र यसरी कारबाही गर्ने सम्बन्धमा कुनै जटिलता देखिएमा निर्देशक समितिसमक्ष रायसहित पेस गर्ने प्रबन्ध गरिएको छ।
  
आयोगले सञ्चारमाध्यममाथि अनुगमन र कारबाही प्रेस काउन्सिल नेपालले गर्ने भएकाले आयोगले सञ्चारमाध्यममाथि कुनै कारबाही गर्ने तयारी नगरेको स्पष्ट पारेको छ।