साँझ ७ बजेको समाचारमा रेडियोले भोलिको मौसम भन्थ्यो । मौसम सफा हुन्छ भनेपछि चंगा उडाउन पाइने भयो भनेर हामी अति खुसी हुन्थ्यौँ । दसैँ आउनुभन्दा एक महिनाअघि नै हामी चंगा उडाउँथ्यौँ । स्कुलमा पनि चंगाकै कुरा हुन्थ्यो । त्यतिखेर बंगाली र लखनउका उस्तादले चंगा बनाउँथे । ती चंगा एक सुकादेखि एक रुपैयाँसम्मका हुन्थे ।
दसैँमा केटाकेटीले नयाँ लुगाभन्दा पहिला नयाँ चंगा खोज्थे । तर, अहिलेको पुस्तालाई चंगा उडाउन त्यति रहर छैन । त्यसो त पहिलेजस्तो खुला ठाउँ पनि छैन । हामी बच्चा हुँदा आकाशभरि चंगा हुन्थे । चंगा हेरेरै दसैँ आयो भन्थे । अहिलेको जनेरेसन मोबाइलमा झुम्मिएका हुन्छन् ।
यसपाला मेरो दसैँ विदेशमा बित्नेछ । सांगीतिक टुरका लागि अस्टे«लिया जाँदै छु । तर, त्यहाँ जानुअघि नै चंगा उडाउने रहर पूरा गरेर जाँदै छु । मलाई चंगा उडाउन बुबाले सिकाउनुभएको हो । दसैँमा बुबा, मामा हामी सबै परिवार नै मिलेर चंगा उडाउँथ्यौँ । म मेरो छोरालाई पनि चंगा उडाउन सिकाउँछु । दसैँमा नेपालमा भएको वेला छोरासँग मिलेर चंगा उडाउँछु । नानीबाबुसँग चंगा उडाउन मज्जा आउँछ ।